नेपाल ह्याचरी उद्योग संघका अनुसार संघमा आबद्ध अधिकांश ह्याचरी हाल बन्द अवस्थामा छन् । कोरोनापछि निरन्तर घाटा सहन नसकेर ३५१ ह्याचरीमध्ये २७१ बन्द भई ८० ओटा मात्रै सञ्चालनमा आउनु भनेको पोल्ट्री व्यवसायमा गम्भीर समस्या आउनु हो । सरकारले आत्मनिर्भर उद्योगका रूपमा घोषणा गरेको यो क्षेत्र संकटको अवस्थामा पुगेको देखिएकाले यसलाई जोगाउन तत्कालै चासो दिनुपर्ने देखिएको छ ।
आत्मनिर्भर भनिएको यो क्षेत्रमा अहिले देखिएको समस्याले नेपाल कृषि र पशुपालनमा आत्मनिर्भर बन्न सक्दैन भन्ने संकेत जाने देखिन्छ । नेपालको औद्योगिक उत्पादन प्रतिस्पर्धी हुन नसक्दा कतिपय उद्योग बन्द भएका छन् । किन उद्योग चल्न सकेनन्, बन्द हुने अवस्थामा पुगे, अहिले उद्योगहरूले के समस्या भोगिरहेका छन् भन्ने बारेमा सरकारले गम्भीर अध्ययन गर्न त्यति चासो दिएको देखिँदैन । अहिले आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्रमा समस्या आइसकेको छ । समयमा ध्यान पुगेन भने यो क्षेत्र पनि धराशयी नहोला भन्न सकिँदैन ।
प्रतिहप्ता ५५ लाख चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगको उत्पादन घटेर २२ लाखमा सीमित भएको संघको भनाइ छ । बजारमा चल्लाको माग पनि घटेको छ । सरकारी तथ्यांक हेर्दा कोरोना महामारीपछि नेपालमा मासु उत्पादन घटेको देखिन्छ । आव २०७८/७९ मा नेपालमा मासु उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएकोमा आव २०७९/८० मा करीब साढे ३ लाख मेट्रिक टनमा सीमित भएको देखिन्छ । कोरोना महामारीअघि ह्याचरीले प्रतिहप्ता ५५ लाख चल्ला उत्पादन गर्थे । अहिले उत्पादन घटेर २२ लाखमा सीमित छ ।
पोल्ट्री व्यवसाय बन्द भयो भने ठूलो परिमाणमा रोजगारी त गुम्छ नै, आयातका लागि ठूलो धनराशि विदेशिनेसमेत निश्चित छ । त्यसैले व्यवसायीको मागलाई सरकारले सुन्न जरुरी छ ।
भारतसँगको खुला सिमानाका कारण अवैध रूपमा सस्तो मूल्यमा चल्ला, मासु र अण्डा आयात भइरहेको व्यवसायीको गुनासो छ । यसरी अवैध रूपमा आयात भएका वस्तुसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु स्वाभाविकै हो । त्यसैले यस्तो अवैध आयात रोक्ने भरपर्दो वैज्ञानिक प्रणाली बनाउन सरकारले काम गर्नुपर्ने हुन्छ । त्यस्तै अहिले आर्थिक मन्दीका कारण खर्चयोग्य आय घटेका कारण पनि मासु र अन्डाको खपत घटेको छ । खपत कम भएपछि उत्पादन घटाउन किसान बाध्य हुन्छन् । सरकारको नीतिका कारण नेपाली पोल्ट्रीको उत्पादनको लागत बढेको देखिन्छ ।
कोरोना महामारीका कारण प्रभावित आपूर्ति शृंखलामा रूस–युक्रेन युद्धले गर्दा कुखुराको दानामा प्रयोग हुने वस्तुको भाउ बढ्यो । कुखुराको दाना उत्पादन गर्दा प्रयोग हुने करीब ९० प्रतिशत कच्चा पदार्थ बाह्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । यस्तोमा स्वदेशी कच्चा पदार्थको उत्पादन बढाउन सके त्यसको लागत कम पर्छ । आयात गर्नुपर्ने अवस्थामा सरकारले दानाको कच्चा पदार्थ मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशतसम्म भन्सार लिने गरेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न यस्तो कर लगाएको दाबी गरेको छ तर यही करका कारण पनि पोल्ट्री उद्योगमा समस्या आएको छ । त्यसैले सरकारले उत्पादनका सहायक वस्तुको आयातमा भन्सार नलिने वा ज्यादै थोरै लिने नीति लिनु आवश्यक हुन्छ ।
पोल्ट्री व्यवसायले रोजगारी सृजना गरेको छ । कयौंलाई आत्मनिर्भर बनाएको छ । यसले कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिएको छ । त्यसैले पोल्ट्री व्यवसायलाई जोगाउन सरकार गम्भीर बन्नैपर्छ । व्यवसायीहरूले पनि कसरी लागत कम गर्न सकिन्छ, प्रतिस्पर्धी कसरी बन्न सकिन्छ भनेर काम गर्न आवश्यक छ । सबैले कमाएको देखेर लगानी गर्ने अनि समस्या आउनेबित्तिकै व्यवसाय छाडिहाल्नु पनि राम्रो होइन । यस्तो संकटका बेलामा सरकारले सकेको मद्दत गरेर व्यवसायलाई बचाउन आवश्यक छ । पोल्ट्री व्यवसाय बन्द भयो भने ठूलो परिमाणमा रोजगारी त गुम्छ नै, आयातका लागि ठूलो धनराशि विदेशिनेसमेत निश्चित छ । त्यसैले व्यवसायीको मागलाई सरकारले सुन्न जरुरी छ ।