आजका अतिथि
प्रा. डा. देवराज अधिकारी
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभाग प्रमुख प्राडा. देवराज अधिकारीको जन्म २०१५ सालमा विराटनगरमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले अष्ट्रियाबाट 'रोजगारीका स्वरूप'मा पीएचडी र 'मानव संसाधन व्यवस्थापन'मा पोष्ट डक्टरेट गरेका हुन् ।
२०४० सालदेखि प्राध्यापन थालेका डा. अधिकारीले क्यानडा, जापान, अष्ट्रियामा अतिथि प्राध्यापकका रूपमा अध्यापन गरेका छन् । हाल नेपाल व्यवस्थापन प्रतिष्ठानका अध्यक्ष रहेका उनी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापनमा एमफिल कार्यक्रमका निर्देशक पनि हुन् ।
(यस पृष्ठका सामग्री अतिथि सम्पादकको सम्पादन तथा संयोजनमा प्रकाशित हुने गर्दछन् ।)
प्राज्ञिक पर्यटनः आजको आवश्यकता
कुनै पनि मुलुकका बासिन्दा अर्को मुलुकमा घुम्न जाँदा आफ्ना अनुभव साट्ने तथा ज्ञानका कुराहरू आदानप्रदान गर्ने क्रम निरन्तर चल्दै आएको छ । पछिल्लो समय विश्वभरि नै एक देशका नागरिक अर्को देशमा पर्यटक भई जाने क्रम निकै बढेको छ । खासगरी विकसित मुलुकका नागरिकहरू विभिन्न राष्ट्रको भ्रमण गरी त्यहाँको सांस्कृतिक, भौगोलिक, आर्थिक, सामाजिक, ऐतिहासिक पक्षका बारे अध्ययन गर्ने गर्दछन् । हिजोआज विभिन्न विषयका प्राज्ञ, अनुभवी व्यवस्थापक एवम् ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरू एक देशबाट अर्को देशमा सभा, गोष्ठीमा सहभागी हुन वा आफ्नो रुचिको विषय अध्ययन गर्न विभिन्न राष्ट्रमा गएको पाइन्छ । यस्ता विद्वत वर्गका विचारहरू आदानप्रदान हुँदा हामीले धरै कुरा जान्ने, सिक्ने मौका पाउँछौं ।
विभिन्न देशका विद्वान, अनुसन्धानकर्ता ख्याति पाएका प्राज्ञहरू तथा अध्ययन भ्रमणमा आउने विद्यार्थीहरू सबै प्राज्ञिक पर्यटक हुन् । यिनको विभिन्न देशमा हुने भ्रमणबाट सम्बन्धित देशका नागरिकहरूले प्रशस्त लाभ उठाउन सक्छन् । स्वभावैले यस्ता पर्यटक नयाँ ठाउँ हेर्न, मित्र बनाउन, परिवारका रुपमा एक अर्कामा नजिक हुन, आफूले देखेका जानेका कुराहरू अरुसँग राख्न चाहने हुनाले यिनीहरूको आगमनबाट समाजका सबै तहका मानिसहरू लाभान्वित हुन्छन् ।
प्राज्ञिक पर्यटकबाट हुने फाइदाको एउटा उदाहरण- एक जना प्राध्यापकको पत्र मेरो इमेलमा आयो, उहाँ यूके, नेपाल हुँदै भुटान जान लाग्नुभएको रहेछ । उहाँले मैले पढाउने व्यवस्थापन विभागमा एउटा विषयमा एक घण्टा बोल्ने अवसर माग्नुभयो । मैले त्यसको व्यवस्था गरेँ । उहाँले १ सय ५० जना नेपाली विद्यार्थीमाझ क्यानडेली र नेपाली औद्योगिक सम्बन्धको तुलनात्मक अवस्था बताउनुभयो । विद्यार्थीहरूले करीब आधा घण्टासम्म आफ्नो जिज्ञासा राखे, त्यसको समाधान उहाँले गर्नुभयो । उहाँ पाँच रात काठमाडौको एउटा पाँच तारे होटलमा बस्नुभयो र भुटान जानुभयो ।
भुटानबाट पुनः काठमाडौं फर्केर पोखरा पुग्नुभयो । उहाँ एउटा विश्वविद्यालयको प्राध्यापक र क्यानडाको हृयामिल्टनबाट निस्कने हृयामिल्टन टाइम्सका नियमित स्तम्भकार पनि हुनुहुन्छ । उहाँ क्यानडा फर्केपछि हृयामिल्टन टाइम्समा नेपालमा आफूले बुझेका जानेका कुराहरूलाई समेटेर एउटा लेख प्रकाशित गर्नुभयो । लेखले नेपालबारेमा अरु क्यानडेलीलाई निकै कौतुहल पनि जगायो । सो लेखमा नेपाली जनताहरू साहसिला, इमानदार, जिज्ञासु, सहयोगी र हँसिला हुदाँहुदै पनि किन यस देशले चाहेजतिको विकास गर्न नसकेको होला भन्ने कुरामा विभिन्न तर्क पेश गर्नुभएको थियो । उहाँ नेपालको सरकारलगायत विभिन्न तहमा कुशल नेतृत्वको आवश्यकता रहेको निष्कर्षमा पुग्नुभएको थियो ।
यस किसिमका बौद्धिक पर्यटकहरूबाट देश र जनतालाई निकै फाइदा हुन्छ । यस्ता खालका पर्यटक शान्त वातावरणमा बस्न चाहने, अध्ययन गरिरहने, प्राकृतिक सौन्दर्यलाई माया गर्ने, वातावरण सम्बन्धमा बढी चाख लिने, आवश्यकताअनुसार खर्च गर्न नडराउने, नजिकका नयाँनयाँ देशहरूमा भ्रमण गर्न चाहने, आफ्नो दक्षताअनुसार अरुहरूलाई सहयोग र सल्लाह दिने खालका हुने गर्छन् । यसले देशमा साधारण पर्यटकभन्दा प्राज्ञिक पर्यटकले विशेष महत्व राख्नेमा प्रस्ट हुन सकिन्छ ।
प्राज्ञिक पर्यटक अन्य पर्यटकभन्दा फरक हुन्छन् । एउटा विदेशी प्राध्यापकले नेपाल आउँदा नेपाली प्राध्यापकसँग भेट्ने इच्छा जहिले पनि राखेको हुन्छ । विज्ञहरू आआफ्नो विज्ञतासँग सम्बन्धित अनुभव र विचारको सहज आदानप्रदान गर्न सधैं इच्छुक हुन्छन् । यस्ता प्राध्यापक तथा विज्ञहरूलाई नेपाल ल्याउन सक्दा ज्ञानको अभिवृद्धिका साथै पर्यटन विकासमा पनि ठूलो टेवा पुग्नेछ । तर, यस्ता पर्यटकलाई कसरी आकर्षण गर्ने त्यो चुनौतीको विषय पनि हो । यसका लागि नेपालमा बेलाबेलामा राष्ट्रिय अन्तरराष्ट्रियस्तरका सभासम्मेलन आयोजना गर्न थाल्नुपर्छ ।
र, त्यसलाई प्रचारमा ल्याउनुपर्ने हुन्छ । यस्ता सभासम्मेलनमा खास गरी नेपाल पर्यटन बोर्ड र नेपाल होटल एशोसिएशनजस्ता संस्थाहरूले समन्वय गर्नुपर्छ । विभिन्न मुलुकका प्राज्ञहरूलाई हाम्रो देशका बारेमा जानकारी दिने खालका सभासम्मेलन आयोजना गर्नुपर्छ । प्राज्ञहरू ज्ञान र विचारका धनी हुन्छन् । उनीहरूले नेपालमा देखेका सिकेका र बुझेका अनुभवका कुरालाई आफ्ना देशका प्राज्ञहरूसँग समेत छलफल गर्ने हुनाले नेपालको पर्यटन विकासमा यसको ठूलो प्रभाव पर्नेछ । चालू पर्यटन वर्ष२०११ मा प्राज्ञहरूलाई सदभावना दूत बनाउनुपर्छ ।
नेपालमा प्राज्ञिक पर्यटन
''फस्टाउन नसकेको बौद्धिक पर्यटन'' - प्रदीपकुमार कोइराला
कार्यकारी निर्देशक
नेपाल पर्यटन तथा होटल
व्यवस्थापन प्रतिष्ठान
केही कुरा बुझ्न, अवलोकन गर्न वा हावापानी फेर्नका लागि घुम्न जानुलाई सामान्य अर्थमा पर्यटन भनिन्छ । घुमाइको कारणका आधारमा पर्यटनलाई विभिन्न स्वरूपमा बाँड्न सकिन्छ । जुम्लामा स्याउ बोटमै टिपेर खाएमा शरीरमा अपत्यारिलो स्फूर्ति आउँछ भन्ने जनविश्वासको सन्देश फैलाएर पर्यटक लान सकिए त्यो कृषि पर्यटन हुन पुग्छ । बौद्धिक अभ्यासको स्थल नेपाललाई बनाउन सके यहाँ प्रशस्त बौद्धिक पर्यटनको सम्भावना छ ।
सम्भावनालाई कार्यरूपमा रूपान्तरण गर्नसके मात्र यसले मुलुकको आर्थिक विकासमा टेवा पुर्याउँछ । अन्तरराष्ट्रियस्तरको स्कूल वा कलेज खोल्ने र त्यसमा अन्तरराष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न सके एकातिर ती विद्यार्थी नै बेलाबखतका पर्यटक हुन सक्छन् भने अर्कातिर तिनीहरूलाई भेट्न आउने नातेदार, साथी वा अभिभावकहरू नियमित पर्यटक हुन सक्छन् । नेपालको अनुपम प्राकृतिक स्रोत तथा रमणीय वातावरणका कारण विश्वकै अनुसन्धान केन्द्रहरू नेपालमा स्थापना हुन सक्छन् । संसारको सबभन्दा अग्लो सगरमाथाको आधार शिविर वा अन्य हिमालहरूको काखमा भूगोलसम्बन्धी अध्ययन केन्द्र खोल्न सकिन्छ । विभिन्न पहाडका टुप्पामा विज्ञान तथा अन्य अनुसन्धान केन्द्र स्थापना गर्न सके नेपालले बौद्धिक पर्यटनको क्षेत्रमा अनुपम उदाहरण पेश गर्न सक्छ । यसबाहेक पुरातन ग्रन्थ र संस्कृति तथा योग र ध्यानको अनुसन्धानको केन्द्र नै नेपाललाई बनाउन सकिन्छ ।
बौद्धिक क्रियाकलापहरूका माध्यमबाट पर्यटन प्रवर्द्घनका लागि अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन तथा बौद्धिक बहस आयोजना गर्न सकिन्छ । आफूभित्रको रचनात्मकता प्रस्फुटनमार्फत गरिने पर्यटकीय गतिविधि पनि बौद्धिक पर्यटनमै पर्छ । पयर्टनबाट हुने वा गरिने बौद्धिक रूपान्तरणलाई समेत यसमा समेट्ने गरेको पाइन्छ । समष्टिमा जेजसो गरी व्याख्या गरे पनि यसको सार भनेको पर्यटक तथा पर्यटकीय गतिविधि नेपालमा बढाउनु र पर्यटन प्रवर्द्धनको माध्यमबाट ग्रामीण गरीबी न्यूनीकरण गर्नु नै हो । विभिन्न स्वरूपका पर्यटक भित्र्याउन र नेपाललाई अन्तरराष्ट्रियस्तरको सुरक्षित पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्नु आवश्यक छ ।
नेपाल भ्रमण वर्ष२०११ र पर्यटन नीति, २०६५ ले पर्यटनको विविध स्वरूपलाई जोड दिएको छ । विभिन्न पार्टीबीच ठूलो मतमतान्तर कायम छ । दशवर्षको माओवादी सशस्त्र द्वन्द्वका कारण नेपालको अन्तरराष्ट्रिय छवि बिग्रेको छ । नेपाल भन्नेबित्तिकै बम पड्किने वा हत्या हिंसा हुने मुलुकका रूपमा विदेशमा परिचित थियो । अहिले शान्ति पुनःस्थापना भएको छ । त्यो सन्देश अन्तरराष्ट्रियजगत्मा फिजाउनुपर्छ । तर, त्यो गतिमा नेपाल भ्रमण वर्षले काम गरेको देखिएको छैन । भ्रमण वर्ष र पर्यटन ऐन तथा नीतिको सार हेर्दा बौद्धिक पर्यटनको क्षेत्र केही ओझेलमा परेको देखिन्छ । समग्र पर्यटन बढ्दा बौद्धिक पर्यटन आफै बढ्छ भन्ने अवधारणा यसमा भएकाले यस्तो देखिएको हो । राजनीतिक रूपमा पर्यटनबारे चेतना अझै आइसकेको छैन । यो पङ्क्तिकार ट्रेकिङ तालीमसम्बन्धी काममा हालै म्याग्दीको बेनीमा जाँदा त्यहाँका एक जना निर्वाचित सांसदसँग साक्षात्कार गर्ने मौका पाएको थियो ।
म्याग्दीमा धैरै पर्यटकीय सम्भावना छ, सबै मिलेर लागेको खण्डमा यहाँ पर्यटकको ओइरो लाग्न सक्छ र विकास सहज हुन्छ भन्ने प्रस्ताव यस लेखकले राख्नेबित्तिकै ती संसद कडा स्वरमा कुर्लिए । 'सत्ता अहिले हामीले चलाएका छैनौं, सत्ता प्राथमिक विषय हो, अरू विषय सहायक मात्र हुन् । राजनीतिक समस्या समाधान नभई अरू केही पनि हुन सक्दैन,' उनले भने । अहिलेको प्रमुख विषय भनेकै राजनीतिलाई आआफ्नो स्थानमा राखी विकासमा एकजुट हुनपर्ने हो, यसमा राजनीतिक र अन्य क्षेत्रको संयुक्त प्रयास आवश्यक छ । पर्यटन पूर्वाधारको विकास वर्तमान समयमा असहज तथा गम्भीर भएर खडा भएको छ । भ्रमण वर्षमा साँच्चिकै १० लाख पर्यटक नेपाल आएको खण्डमा ती पाहुनालाई व्यवस्थित गर्न अहिवे सञ्चालनमा रहेका होटलले मात्र धान्न सक्दैन ।
हिँड्नका लागि हाम्रो ट्रेकिङ रूटले पुग्दैन । पर्यटन पूर्वाधारको निर्माणको नेतृत्व निजीक्षेत्रले गर्ने र सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हो । यसका लागि निजीक्षेत्रमैत्री वातावरण हुनुपर्छ । नेपालको अहिलेको परिस्थिति यसअनुकूल छैन । राजनीतिज्ञले जनताको अपेक्षा व्यवस्थापन गर्नुको साटो बढाइदिएका छन् । पैसा भएको मान्छेले नेपालमा लगानी गर्नुभन्दा सिङ्गापुरमा फ्ल्याट किन्न सुरक्षित ठान्छ । पार्टीको भ्रातृ सङ्गठनद्वारा मच्चाइएको चन्दा कार्यक्रम र मुन्दे्र तथा कुण्डलेले उठाउने रकमले लगानीकर्तालाई हतोत्साही बनाएको छ । अनुमतिपत्र लिन सरकारी कार्यालय चाहार्नुपर्ने समय, घोषित वा अघोषित सिण्डिकेटभित्र छिर्न गर्नुपर्ने प्रयास र राजनीतिक दलका नेता तथा कार्यकर्ता खुशी पार्न खर्चिनुपर्ने रकम नेपालको निजीक्षेत्रलाई पिरोलो हो । यसबाट बौद्धिक पर्यटनसमेत प्रभावित छ । यस्ता परिस्थितिलाई किनारा लगाउनु अति नै आवश्यक छ ।
नेपालमा बौद्धिक पर्यटनको सम्भावना जति प्रबल छ, त्यत्ति नै अवरोधहरू पनि छन् । विश्वस्तरका स्कूल-कलेज तथा अनुसन्धान केन्द्रको स्थापना र सोही स्तरका सभा, सम्मेलन र बौद्धिक प्रतिस्पर्धा गर्नका लागि नेपाल उपयुक्त गन्तव्य त हुन सक्छ, तर यसका लागि को, कसरी अघि सर्ने, प्रमुख चुनौती नै यही हो । सरकार निजीक्षेत्र अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा बसेको छ, निजीक्षेत्र लगानीमैत्री वातावरण छैन भनेर खुम्चेको छ । समस्याको जरो राजनीतिक अस्तव्यस्तता र प्रशासनिक फितलोपनमा नै गएर अड्किएको छ । यस्ता व्यवधानलाई विस्तारै पन्छाउँदै बौद्धिक पर्यटनको अभियान अगाडि बढाउन सके नेपालको आर्थिक विकासमा टेवा पुग्नेछ ।
''प्राज्ञिक पर्यटनका लागि 'नाम’को प्रयास'' - डा. ध्रुवकुमार गौतम
महासचिव
नेपाल एकेडेमी अफ म्यानेजमेण्ट
प्रकृतिले सिँगारिएको नेपाललाई विश्वका सबैको मनमस्तिष्कमा पुर्याउन पर्यटन विकासको आवश्यकता हामी सबैले महसूस गरेका छौं । विभिन्न राष्ट्रका जनता चाहे ती धनी मुलुकका हुन् वा विकासशील देशका । ती सबै सुन्दर प्राकृतिक विविधताले भरिपूर्ण र बुद्धको जन्मभूमि नेपालको एकपटक भ्रमण गर्ने इच्छा राख्छन् । यसै सिलसिलामा यस पङ्क्तिकारले एउटा नौलो सन्दर्भ 'प्राज्ञिक उन्नयनका लागि नेपालमा पर्यटन' भन्ने सानो लेख लेख्ने प्रयास गर्दै छ ।
नेपालको सर्वाङ्गीण विकासका लागि विश्वका विभिन्न देशमा छरिएर रहेका विद्वान् एवम् प्राज्ञिक व्यक्तित्वको बेलाबेलामा अन्तरराष्ट्रिय भेला र गोष्ठी गराउनु एउटा राम्रो शुरुआत हुन सक्छ । त्यसबाट एकातिर विभिन्न विषयका विज्ञसँग यहाँका प्राज्ञिकले विभिन्न माध्यमबाट छलफल गर्ने मौका पाउँथे । त्यस्ता भेला र गोष्ठीमा सहभागीहरूले आआफ्ना विचारका माध्यमबाट नेपालको विकासमा अपनाउनुपर्ने उपायहरू बताउनुका साथै छलफल गर्ने अवसर पाउने थिए । यसै सन्दर्भमा यही मार्च १०-१२ मा नेप्लिज एकेडेमी अफ म्यानेजमेण्ट र केएफए स्कूल अफ बिजनेश म्यानेजमेण्टको संयुक्त तत्त्वाधानमा आयोजना हुने अन्तरराष्ट्रियस्तरको व्यवस्थापनसम्बन्धी गोष्ठीको महत्त्वबारे प्रकाश पार्न आवश्यक ठानेको छु ।
यस अन्तरराष्ट्रिय गोष्ठीमा पाँचै महादेशका ३० भन्दा बढी देशको सहभागिता रहनेछ । गोष्ठीमा ती देशबाट सहभागी हुने सयभन्दा बढी विद्वान् प्राध्यापक, लेखक तथा व्यवस्थापन विज्ञका साथै विशिष्ट अनुभवी व्यक्तिहरूले आआफ्नो क्षेत्रसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नेछन् । यस सम्मेलनमा व्यवस्थापनका विश्वविख्यात गुरुहरू क्रिस बु्रष्टर (हेन्ली विश्वविद्यालय, यूके), गेरी ब्रुटोन (निली विश्वविद्यालय, अमेरिका) र बारबरा गेष्टल (टेक्सास ए एण्ड एम विश्वविद्यालय) प्रमुख वक्ता रहेका छन् । यसका साथै क्यानडा, अष्ट्रेलिया, अष्ट्रिया, पोल्याण्ड, ग्रीस, स्वीट्जरल्याण्ड, जापान, चीन, चेक रिपब्लिक, केन्या, जर्मनी, फ्रान्स, साउदी अरेबिया, युनाइटेड अरब इरिमेट्सलगायत भारतका प्रायः सबैजसो प्रान्तका व्यवस्थापन गुरुहरू एवम् विशेषज्ञहरूबाट संस्थागत नेतृत्व तथा परिवर्तन, ज्ञान व्यवस्थापन, संस्थागत उत्तरदायित्व, रणनीतिक व्यवस्थापन उद्यमशीलता, मानव संसाधन व्यवस्थापन, व्यवस्थापन शिक्षा, वर्तमान विश्व आर्थिक सङ्कटलगायतका थुप्रै विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
यी कार्यपत्र प्रस्तुत गर्नुको मूल उद्देश्य अन्तरराष्ट्रिय क्षेत्रमा प्रयोगमा ल्याइएका र परिष्कृत भएका एवम् सफलतम ज्ञानलाई नेपालमा भित्र्याउनु हो । यसबाट नेपाली प्राज्ञ एवम् व्यवस्थापन विज्ञहरूबीच ती सफलतम प्रयोगहरूलाई छलफलमा ल्याउन सजिलो हुनेछ । अन्तरराष्ट्रिय गोष्ठीमा सीईओ, उद्यमशीलता व्यवस्थापकहरूको एमबीए मञ्च साथसाथै लेखन/प्रकाशन कार्यशालाहरू पनि हुने कार्यक्रम छ ।
एकै साथ विभिन्न ट्रयाक्सहरूमा तथा प्लेनरीहरूमा सञ्चालित अन्तरराष्ट्रियस्तरको यो प्रथम सम्मेलनमा १ सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् भने २ सयभन्दा बढीको सहभागिता रहनेछ । यसबाट व्यवस्थापन क्षेत्रको ज्ञानको आदानप्रदानका साथसाथै प्राज्ञिक पर्यटनलाई पनि प्रवर्द्धन गर्दै आगामी दिनमा नेपालको 'ज्ञान पर्यटन'को सम्भावनालाई पनि उजागर गर्ने विश्वास लिएको छ ।
गोष्ठीबाट नेपाली प्राज्ञहरू मात्र लाभान्वित हुने नभई विश्वकै प्राज्ञहरूको भेला भएकाले हाम्रो पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्नेमा कुनै शङ्का छैन । फेरि गोष्ठीपश्चात् प्राज्ञहरू आआफ्नो मुलुकमा फर्केर जाँदासमेत यहाँका अनुभवहरू पुनः विभिन्न विश्वविद्यालय एवम् कार्यस्थलमा बाँड्दा भोलिका दिनमा नेपाल विश्वकै प्राज्ञिक पर्यटनको थलोका रूपमा विकास हुन सक्छ । यहाँका विश्वविद्यालयहरू र यसअन्तर्गतका कलेजमा कार्यरत प्राध्यापकहरूले समेत अन्तरराष्ट्रियस्तरको ज्ञान हासिल गर्ने एवम् प्राज्ञहरूसँग आफ्ना परिचय गर्ने मौका पाउने हुँदा यस्ता गोष्ठीको फाइदा विभिन्न तहमा पुग्नेछ । अन्त्यमा नेप्लिज एकेडेमी अफ म्यानेजमेण्टले गर्न लागेको यो प्रयास प्राज्ञिक पर्यटनको विकासको आधारस्तम्भ हुन सक्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
''नेपालमा प्राज्ञिक पर्यटनको सम्भावना'' - योगेन्द्र शाक्य
संयोजक, नेपाल पर्यटन वर्ष२०११
प्राज्ञिक पर्यटनको सोझो अर्थ बौद्धिक खालका क्रियाकलापमार्फत पर्यटनको प्रवर्द्धन गर्नु हो । साथै, विभिन्न विद्यालय, विश्वविद्यालयबाट पर्यटनका विषयमा गरिने अनुसन्धान पनि बौद्धिक पर्यटन अन्तर्गत नै पर्दछ । कतिपय मुलुकले स्वयम्सेवी पर्यटन गरिरहेका छन् । त्यसलाई पनि बौद्धिक पर्यटनका रूपमा लिन सकिन्छ ।
प्राज्ञिक व्यक्तिहरूसँग बौद्धिकक्षमता हुन्छ । तर, पैसा नहुन सक्छ । नेपाल पर्यटनका क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक हो । नेपालमा विभिन्न मुलुकबाट पर्यटक घुम्नका लागि मात्र आएका हुँदैनन् । विभिन्न मुलुकका प्राज्ञिक पर्यटकहरू नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्थाका बारेमा जान्न, बुझ्न र अनुभव बटुल्न पनि आएका हुन्छन् । उनीहरूको अनुभव, ज्ञान र शीपलाई हामीले नेपालको पर्यटन प्रवर्द्धनमा उययोग गर्न सक्छौं । हामीले यही कुरालाई दृष्टिगत गर्दै नेपाल पर्यटन वर्ष२०११ को अवसर पारेर 'होमस्टे' को अवधारणा पनि अघि सारेका छौं । यसको मुख्य उद्देश्य भनेको गाउँगाउँमा आन्तरिक तथा बाहय पर्यटक पुर्याउने र उनीहरूलाई विभिन्न सभा, सम्मेलनमा सहभागी गराउने हो । त्यस्ता कार्यक्रमले हामीलाई विद्यालय र विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरूबाट रायसल्लाह लिएर पर्यटनका क्षेत्रमा काम गर्न सजिलो हुन्छ । अर्कोतिर प्राज्ञिक पर्यटनलाई पनि यसबाट मद्दत पुग्छ । विकासमा टेवा पुर्याउन सहज हुन्छ । साथै विभिन्न मुलुकका विद्यालय, विश्वविद्यालयबाट अनुसन्धानका लागि र स्वयम्सेवीका रूपमा आएका विद्यार्थी प्राज्ञिक व्यक्तिहरूलाई यहाँको सामाजिक र सांस्कृतिक अवस्थाका बारेमा जान्न पनि सहयोग पुग्छ । तर, हामीले नेपालमा प्राज्ञिक पर्यटनको धेरै सम्भावना हुँदाहुँदै पनि चाहेको जति काम गर्न सकेका छैनौं ।
नेपालमा प्राज्ञिक पर्यटनको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नु हुँदैन । यो क्षेत्रको विकासका लागि निजीक्षेत्रले चासो देखाउनुपर्छ । साथै, प्राज्ञिक व्यक्तित्वको पनि यसको विकासका लागि महत्त्वपूर्ण हात हुन्छ । सरकार, निजीक्षेत्र र बौद्धिक व्यक्तिहरू मिलेर यसको विकासमा लाग्ने हो भने हामीले धेरै गर्न सक्छौं ।
प्राज्ञिक पर्यटनको नेपालमा एक समय निकै चर्चा थियो । त्यस बेला विभिन्न विदेशीका साथै नेपाली संस्थामार्फत काम हुने गरेको पनि थियो । विभिन्न गैरसरकारी संस्थाका साथै अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा नेपालको सामाजिक, सांस्कृतिक र ऐतिहासिक अवस्थाका सम्बन्धमा अध्ययन, अनुसन्धान हुने गरेका थिए । तर, अहिले प्राज्ञिक पर्यटनले त्यति गति लिन नसकिरहेको अवस्था छ । त्यसैले, हामीले नेपाल पर्यटन वर्षकै अवसर पारेर स्वदेशका मात्र नभएर विदेशका समेत विद्यालय, विश्वविद्यालयका विद्यार्थीलाई गाउँगाउँमा लैजाने बौद्धिक खालका सभासम्मेलन गराउनुका साथसाथै प्रज्ञिक पर्यटनको प्रवर्द्धन गर्ने योजना बनाएका छौं । साथै, हामीले आगामी दिनमा कसरी प्राज्ञिक पर्यटनको विकास गर्न सक्छौं भन्ने बारेमा गाउँगाउँमा अन्तरक्रिया गर्ने योजना पनि बनाइरहेका छौं । एकअर्काको अनुभव र ज्ञानको साटासाट मात्र होइन, नयाँ ज्ञान पनि हासिल गर्न सकिने भएकाले नेपालमा मात्र होइन, विश्वमा नै प्राज्ञिक पर्यटनको महत्त्व धेरै छ । यसको प्रवर्द्धनमा सबै वर्ग लाग्नु जरुरी छ ।