काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स (Union Life Insurance), प्राइम लाइफ इन्स्योरेन्स (Prime Life Insurance) र गुराँस लाइफ इन्स्योरेन्स (Gurans Life Insurance) एक आपसमा मर्ज भई वैशाख २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
यी तीनओटै कम्पनीले एक आपसमा गाभिन नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority) बाट वैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । सोहीअनुरूप यी कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् ।
यी तीनओटै कम्पनीको मर्जर (Merger)पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (Himalayan Life Insurance)को नामबाट एकीकृत कारोबार थालिनेछ । यी तीनओटै कम्पनी समान हैसियतमा गाभिन लागेका हुन् ।
यी तीन ओटै कम्पनीमध्ये प्राइम र यूनियनले वैशाख ६ गते सम्पन्न विशेष साधारण सभा र गुराँस लाइफले सोही दिन सम्पन्न साधारण सभाबाट मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डले यी कम्पनीलाई वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
मर्जरपश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । एकीकृत कारोबार शुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ ओटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू बन्द हुने समेत सोही सूचनामार्फत जानकारी दिइएको छ ।