भारतको रूपैडियावासी कमलनाथ श्रीवास्तव अहिले घुँडा तथा शरीरका जोर्नी दुःखाइबाट आराम महसूस गरिरहेका छन् । उनी लामो समयदेखि त्यस्तो दुःखाइबाट पीडित थिए । प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको सिङ्गा गाविसमा रहेको तातोपानी कुण्डमा ८ दिनसम्म लगातार डुबुल्की मारेपछि यस्तो अनुभूति भएको उनी बताउँछन् । उनीसँगै आएका अरू १८ जना बिरामीले पनि कुण्डमा डुबुल्की मारेपछि हाडजोर्नी तथा चर्मरोगबाट आराम महसूस गरेको बताए । तातोपानी कुण्डमा डुबेर आराम पाएका व्यक्तिहरूको यी त केही उदाहरण मात्रै हुन् । कुण्डमा डुबुल्की मार्न दैनिक करिब ५ सय जनासम्म पुग्ने गरेका छन् । जमिनभित्रबाट निस्कने ५० डिग्री सेल्सियस तातो पानी कुण्डमा जम्मा गरिएको छ । बिरेनुनको गन्ध आउने कुण्डको पानीमा एक हप्तासम्म नियमित स्नान गरेमा हाड जोर्नी, चर्म, ग्याष्ट्रिक र नशासम्बन्धी रोग निको हुने जनविश्वास रहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन् । कुण्डमा भीड बढेपछि अहिले यहाँको बजार क्षेत्रका गेष्ट हाउसमा कोठाको अभाव छ ।
अनेक उपचार गर्दा पनि वषौ देखि निको नभएको रोगबाट मुक्ति मिल्ने भएपछि यहाँ टाढा टाढादेखि मानिस आउने गरेका छन् । तातोपानी खाने र कुण्डमा डुबुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्ट्रिक, वाथ, घाउ–खटिरा, महिलाको आङ खस्नेलगायत रोगहरू निको हुने भएपछि प्राकृतिक चिकित्सा केन्द्र बनेको यो कुण्डमा नुहाउने मानिसको आकर्षण बढ्दै गएको छ । म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, मुस्ताङ, काठमाडौं, चितवन, नवलपरासी, नेपालगञ्ज र भारतबाट पनि वर्षमा एकपल्ट बिरामी आउने गरेको समितिका अध्यक्ष शाक्यले बताए । उनका अनुसार प्रायः बालिनाली उठाइसकेपछि फुर्सद मिल्ने भएकाले मङ्सिर÷पुस महीनामा ग्रामीण क्षेत्रका बासिन्दा स्नानका लागि यहाँ आउँछन् । उपचारबाहेक मनोरञ्जनका लागि पनि स्नान गर्न मानिस यहाँ आउने गरेका छन् ।
असोज पहिलो सातादेखि मङ्सिर दोस्रो सातासम्म तातोपानी कुण्डमा ५ हजारभन्दा बढी व्यक्तिले उपचार गराइसकेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताए । एकपटकमा ४ सय जनासम्मले नुहाउन सक्ने क्षमताको कुण्डमा दैनिक २ सयदेखि ५ सय जना आउने गर्दछन् । सो कुण्डमा नुहाउनेले रू. १ सय ५० को टिकट लिनुपर्दछ । त्यो टिकट १५ दिनसम्म प्रयोग गर्न सकिने कुण्ड व्यवस्थापन समितिका कर्मचारी मेखी खत्रीले जानकारी दिइन् ।
दैनिक ४ घण्टा तातोपानी कुण्डमा डुबेपछि कम्बल वा बाक्लो कपडा ओढेर न्यानो ठाउँमा गुम्सिई खलखली पसिना निकालेपछि तातोपानी कुण्डको छेउमै म्याग्दी नदी किनारमा रहेका तातोपानीका धाराहरूमा गई पुनःस्नान गर्नुपर्दछ । जमीनमुनिबाट आउने प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरू निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरूको सङ्ख्या बढ्दै गएको हो । अस्पतालमा औषधोपचार गर्दा रोग निको नभएर हैरान बनेका दीर्घरोगीसमेत तातोपानीमा घण्टौं डुबुल्की मार्दा रोग निको भएको अनुभव सुनाउँछन् । म्याग्दीको सिङ्गा, भुरुङ, दोवा, दाना, घार, शिख, मुदी र दग्नाम गाविसमा तातोपानीका मुहान छन्, जसमध्ये सिङ्गा तातोपानी उपचार र भुरुङ तातोपानी पर्यटकीय स्थलका रूपमा विकास भएको
छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.