काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक आवश्यक भएकाले योग्य विक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको छ ।
वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष ०७९/८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने शर्त कम्पनीले राखेको छ ।
कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने बताएको छ ।
यो आईपीओको प्रत्याभूतिकर्ता जुटाउन सहजिकरण गरिदिने प्रतिबद्धता सो सो कार्य गरे वापत् लिने आवश्यक सेवाशुल्क निर्धारण गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यस कम्पनीको मुख्य लगानीकर्ता प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु उर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु जलविद्युत विकास लिमिटेडका कर्मचारीहरूलाई छुट्याइएको १० प्रतिशत शेयर र यस कम्पनीको कर्मचारीहरूले प्रचलित कानून बमोजिम लिन पाउने शेयरको लागि आवश्यक वित्त व्यवस्थापन समेत विक्री प्रबन्धकले गर्नुपर्ने शर्त कम्पनीको छ ।
यस कम्पनीले सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको छ ।