काठमाडौं । प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फण्ड’ मा आवेदन दिने समय थप गरिएको छ ।
लगानीकर्ताले यस फण्डको इकाईमा फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयअगावै सबै इकाई बिक्री भएमा भने त्यसअघि नै पनि निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ ।
यसले फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फण्ड’ का इकाई बिक्री खुला गरेको हो । क्यापिटलले प्रभु म्युचुअल फण्डअन्तर्गत प्रभु स्मार्ट फण्डको कुल ८ करोड इकाई निष्कासन गरेको छ ।
जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १ प्रतिशत अर्थात् ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ ।
बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । यो १० वर्षे बन्दमुखी योजना हो ।
फण्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सकिन्छ । फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् । प्रभु स्मार्ट फण्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फण्ड योजना हो । हाल प्रभु सेलेक्ट फण्ड पनि सञ्चालनमा रहेको छ ।