सर्वोच्च अदालतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई अवहेलना मुद्दामा सशरीर उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतको अवहेलना निवेदन दर्ता शाखाका अनुसार एक साताभित्र प्रधानमन्त्री र महान्यायाधिवक्तालाई उपस्थित हुन सोमवार उनीहरूका नाममा म्याद तामेली गर्न पत्र पठाइएको हो । दैलेखका पत्रकार डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दा पुनरावेदन अदालत, सुर्खेतमा विचाराधीन रहेको अवस्थामा हत्या अनुसन्धानमा प्रभाव पारेको भन्दै सर्वोच्चमा परेको प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अदालतमा विपक्षी द्वयलाई अदालतमै उपस्थित भई जवाफ दिन आदेश जारी गरेको थियो । आदेशसहित प्रधानमन्त्री र महान्यायाधिवक्तालाई पत्राचार गरिएको छ । सर्वोच्चले पठाएको पत्र बुझेको मितिले ७ दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता अदालतमा उपस्थित हुनुपर्छ ।
वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९