काठमाडौं । अलफ्ट काठमाडौं ठमेलले विश्वव्यापी रूपमा मान्यता प्राप्त पर्यावरणीय व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ १४००१ :२०१५’ प्रमाणीकरण प्राप्त गरेको छ । यो उपलब्धिले होटलको दिगो विकास, जिम्मेवार सञ्चालन र पर्यावरणीय संरक्षणप्रतिको अटल प्रतिबद्धतालाई बलियो बनाउने होटलको अपेक्षा छ ।
‘आईएसओ १४००१ :२०१५’ प्रमाणीकरणले अलफ्ट काठमाडौं ठमेलको पर्यावरणीय प्रभावको पहिचान तथा व्यवस्थापन, स्रोतको प्रभावकारी उपयोग र यसको पारिस्थितिक पदचिन्हलाई घटाउन गरिएको प्रयासलाई उजागर गरेको होटलको भनाइ छ । यो उपलब्धिले होटलका मूल्यमान्यता, उत्साही तथा अग्रगामी दृष्टिकोणसँग मेल खाने बताइएको छ, जसले सञ्चालनको केन्द्रमा दिगो विकासलाई सुनिश्चितता गर्ने होटलको दाबी छ ।
‘यो प्रमाणीकरण प्राप्त गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं, जसले हाम्रो टोलीद्वारा होटल सञ्चालनको दिगो अभ्यासलाई समाहित गर्न गरिएको संयुक्त प्रयासलाई प्रतिबिम्बित गर्दछ । यस उपलब्धिले वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धतालाई मात्र पुन :पुष्टि गर्दैन, यसले आतिथ्य उद्योगमा उदाहरण प्रस्तुत गर्दै अगाडि बढ्न हामीलाई प्रेरित गर्दछ,’ अलफ्ट काठमाडौंका महाप्रबन्धक विक्रम सिंहले भने ।
अलफ्ट काठमाडौंले प्रभावकारी ऊर्जा, प्रविधि, फोहोर व्यवस्थापन रणनीति, र दिगो अतिथि अनुभवजस्ता विभिन्न पर्यावरणमैत्री पहल कार्यान्वयन गरेको बताइएको छ । यस प्रमाणीकरणले अतिथिलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाउँदै वातावरण संरक्षणलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।