काठमाडौं । सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा एनसेल ललितपुर महानगरपालिकाबाट सम्मानित भएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ मा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलवार एनसेललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका हुन् ।
सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकाले उच्च कदर गर्दै एनसेललाई सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ । एनसेल विगत लामो समयदेखि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा स्थापित छ ।
‘ठूलो करदाताका रूपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकअन्तर्गत राजस्वमा ठूलो योगदान गर्छौं, यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्ष रूपमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौं, यो कार्यले निरन्तरता पाउनेमा म विस्वश्त छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने ।यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ ।
एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा रू. ३०० अर्बभन्दा बढी तिरेको बताइएको छ । गत आवमा मात्रै कम्पनीले रू. २० अर्ब ३० करोड कर तथा शुल्क सरकारलाई दाखिला गरेको बताइएको छ । यसैगरी कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रू. २ अर्बभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।