काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्नेलगायतका ४ बुँदे सहमति भएपछि उपत्यकामा पेट्रोलियम पदार्थ सहज उपलब्ध होला भन्ने धेरैको अपेक्षा थियो । तर, सहमतिको केही घन्टा बितिसक्दा पनि काठमाडौंमा पेट्रोलियम सहज हुन सकेको छैन ।
निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थ विक्री नगर्दा उपभोक्ता नेपाली सेना, नेपाल प्रहरीको पेट्रोल पम्पमा लाइन बसेका छन् । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सोमवार बिहानैदेखिको लाइन अझै घट्न सकेको छैन । सडकै सवारीसाधनको लाइन लागेपछि आवागमन प्रभावित बनेको छ ।
७ बुँदे माग राखी आन्दोलनमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतवारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेको थियो । त्यसपछि निजी पेट्रोल पम्पले पेट्रोल विक्री वितरण नगरेपछि उपभोक्ता सोमवार बिहानबाट सेना–प्रहरीको पेट्रोल पम्पमा लाइन बसेका थिए ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सोमवार (आज) सहमति भएको छ । यससँगै पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन फिर्ता भएको छ ।