ललितपुर। नेपाली सुगम संगीतका प्रसिद्ध गायक तथा संगीतकार नारायणगोपालको जीवनीमा आधारित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको लोकार्पण भएको छ । ललितपुरको सानेपामा आयोजित एक कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो । वरिष्ठ संगीतज्ञ कर्म योन्जन, सिके रसाइली, नीर शाह, मह जोडी, मञ्जु थापा, वसुन्धरा भुसाल र लेखक प्रकाश सायमीले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गरेका थिए ।
कार्यक्रममा लेखक सायमीले नारायणगोपालको जीवन र व्यक्तित्वलाई संक्षिप्तमा प्रस्तुत गर्न यो पुस्तक तयार पारिएको बताए । अभिनेता सरोज खनालले नारायणगोपालको संगीतले उनलाई अमर बनाएको र उनी हरेक नेपालीको हृदयमा जीवित रहेको उल्लेख गरे । वरिष्ठ गीतकार नगेन्द्र थापाले यो पुस्तक भविष्यका अनुसन्धानकर्ताका लागि कोसेढुंगा सावित हुने अपेक्षा गरे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले बायोग्राफी लेख्नु चुनौतीपूर्ण काम भएको भन्दै लेखक सायमीको प्रयासले पुस्तक पठनीय र रोचक बनेको बताए ।