जेठ ८, म्यानचेष्टर (बेलायत) । बेलायती फूटबल क्लब म्यानचेष्टर युनाइटेड (म्यान यु)ले प्रसारण अधिकार विक्रीबाटै ६ करोड ८ लाख पाउण्डको कीर्तिमानी स्तरको आम्दानी कमाएको छ । एशोसिएटेड प्रेस (एपी)ले दिएको एक समाचारअनुसार म्यान यु यस वर्षको इङ्लिश प्रिमियर लीग (ईपीएल)को सिजनमा टेलिभिजन प्रसारण अधिकार विक्री गर्दै उच्च आम्दानी गर्न सफल भएको हो । म्यान यु सन् २०१३ को ईपीएल विजेता टिम हो । त्यसैगरी म्यान युपछि क्विन्स पार्क रेञ्जर्सले ईपीएलको यो वर्षको सिजनमा ३ करोड ९८ लाख पाउण्डसम्म कमाएको एपीले उल्लेख गरेको छ ।
समाचारमा बेलायतबाहिरका टेलिभिजन प्रसारकहरूले खेल प्रसारणका लागि तिरेको रकम ईपीएलका २० शीर्ष टिममाझ बराबर बाँडिएको बताइएको छ । त्यसैगरी बेलायती प्रसारकहरूले तिरेको रकमको आधा अंश बराबर बाँडिएको र एक चौथाइ क्लबको अन्तिम खेल नतीजाअनुसार दिइएको समाचारमा उल्लेख छ । त्यस्तै, बाँकी २५ प्रतिशतचाहिँ बेलायतका प्रत्यक्ष टीभी प्रसारणमा क्लबहरू कति पटक देखिए भन्ने आधारमा वितरण गरिएको एपीले जानकारी दिएको छ ।
इङ्लिश प्रिमियर लीग विश्वकै एक प्रमुख लीग फूटबल हो, जसमा व्यापक आम्दानी हुने गरेको छ । फूटबल व्यापार विश्लेषकहरूले सन् २०१३ देखि १६ बीचका ईपीएल सिजनहरूमा साढे ५ अर्ब पाउण्ड आम्दानी हुने अनुमान गरेका छन् । यो केही महीनाअघि मात्र सकिएको तीनओटा सिजनहरूभन्दा २ अर्ब पाउण्डले बढी हो । आगामी सिजनहरूका विजेता क्लबहरूले प्रसारकहरूबाट १० करोड पाउण्डसम्म कमाउने विश्लेषकहरूको भनाइ छ । एजेन्सी