काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए । छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गरेका थिए । बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी सभालाई गराएका थिए । मन्त्री पुनले भन्सार दरहरू धेरै हेरफेर नगरिएको स्पष्ट पारे ।
उनले आर्थिक विधेयकको अभिन्न अङ्गका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट पारेका थिए । मन्त्री पुनले भन्सारविन्दुमा सामान आयात गर्दा न्यूनतम् भन्सार लिने र क्रमश: मुलुकको उत्पादनवृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताए ।