भरतपुर । भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । नारायणगढबाट नजिकै पर्ने यो ताल चितवनको पर्यटकीय गन्तव्यमध्ये एक हो । बजार क्षेत्रबाट जल तथा जंगल पर्यटनको आनन्द लिन पाइने भएकाले पनि पर्यटक यस क्षेत्रमा आकर्षित भएका हुन् ।
केही वर्षअघि मात्र तालको पानी सुकेर जंगली जनावरलाई समेत समस्या भएपछि यसको संरक्षण गरी पहिलेकै अवस्थामा ल्याइएको छ । नारायणगढकी सरोजा आचार्य गर्मीबाट राहत पाउन र रमाउन आफू घर नजिकैको यो ताल भ्रमणमा आएको बताउँछिन् । ‘गर्मी याममा बच्चाबच्चीसहित कहाँ जाउँ, कहाँ जाउँ हुन्छ, शितल पनि हुने, बच्चाहरू पनि रमाउने भएकाले यहाँ आएकी हुँ,’ उनले भनिन् ।
तालमा हाल आन्तरिक तथा बाह्य पर्यटक पनि आउने गरेका छन् । गैंडा पानी खान आउने ताल भएकाले यो ताललाई राइनो ताल भनिएको हो । यहाँ गैंडासँगै विभिन्न प्रजातिका चरा, गोही, हरिण, मृग, जरायोलगायत वन्यजन्तु हेर्न पाइन्छ । महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्त तालको संरक्षण र सफाइ गरेसँगै पर्यटकको आगमन बढ्दै गएको बताउँछन् । ‘दुर्लभ जंगली जनावर अवलोकनका लागि यो ताल महत्त्वपूर्ण मानिन्छ,’ वडाध्यक्ष पन्तले भने । तालमा ड्याम निर्माणका साथै डुंगा शयर, वन्यजन्तु अवलोकनका लागि मचान, विश्रामस्थल, शौचालयलगायत विभिन्न भौतिक संरचना पनि निर्माण गरिएको छ ।
राइनो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ताल दुई मिटरदेखि साढे पाँच मिटरको गहिराइको छ । रामबेल सामुदायिक वनका अध्यक्ष माधव धिताल राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त हुने भएकाले वन्यजन्तुका लागि महत्त्वपूर्ण रहेको बताउँछन् ।
यो ताल अवलोकनका लागि मासिक औसत दुई हजार पर्यटक आउने गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ घोषणापछि मात्र यहाँ आउने पर्यटकको तथ्यांक राख्न शुरू गरिएको हो । ताल अवलोकन गर्न आउने पर्यटकका लागि २० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ ।
भरतपुर भ्रमण वर्ष शुरू भएपछि पर्यटक आवागमनमा वृद्धि हुँदै गएको वनका अध्यक्ष धितालको भनाइ छ । राइनो ताललाई २०६२ सालदेखि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न शुरू गरिएको हो ।