नेपालमा पर्यटनको राम्रो सम्भावना भए पनि नेपालले १० लाखको हाराहारीको संख्यामा चित्त बुझाइरहेको छ । संख्याभन्दा पनि निराशाजनक अवस्था छ– पर्यटकको बसाइ र खर्च । त्यही भएर नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान खासै उत्साहजनक छैन । नेपालको पर्यटनको सकारात्मक पक्षको चर्चा धेरै भएको छ र सुझाव पनि थुप्रै पाइन्छ । तर, पर्यटक सन्तुष्ट भएर गए कि गएनन्, तिनले आफन्त साथीभाइलाई नेपाल जान सुझाव दिए कि दिएनन् भन्नेमा ध्यान कमै गएको छ । तिनले नेपाल जान सुझाव दिएनन् भने सम्झनुपर्छ, नेपालको पर्यटनमा निकै ठूलो नकारात्मकता छ । यस दृष्टिबाट हेर्दा धेरै पर्यटक नेपालसँग सन्तुष्ट नभएको हो कि भन्ने देखिन्छ । यस्तो अवस्थालाई ओभर रेटेड भन्ने चलन छ । हामीलाई पर्यटकले ओभर रेटेड भनेका छन् कि अन्डररेटेड भनेका छन् भन्नेमा खासै जानकार छैनौं । आफ्ना विशेषता बखान्ने र विदेशी संस्थाले घुम्नैपर्ने देशको सूचीमा पारेकामा दंग छौं । ग्रामीण पर्यटनको कुरा गर्छौं । तर, उत्कृष्ट ग्रामीण पर्यटनका ठूलो सूचीमा नेपालको कुनै गाउँ परेको छैन । अहिले बल्ल धुलिखेल नेपालको स्वच्छ गाउँ घोषणा भएको छ । अतिथि देवो भव भन्छौं तर अतिथि सन्तुष्ट बनाउन कत्तिको सकेका छौं भन्ने चाहिँ खोज्दैनौं । त्यसैले पर्यटन क्षेत्रमा रहेका थुप्रै विकृति र विसंगतिको लेखाजोखा गर्न आवश्यक छ ।
अस्वस्थ प्रतिस्पर्धा
नेपालको पर्यटनको एउटा ठूलो विकृति भनेको अस्वस्थ प्रतिस्पर्धा नै हो । हिजो एउटा कोठा २ सयमा विक्री गर्ने होटेल अहिले ३०/४० डलरमा झर्नु परेको छ । पाँचतारे होटलको संख्या बढेको छ । तिनको मूल्यमा पनि प्रतिस्पर्धा छ तर विदेशी व्यवस्थापन भएकाले तिनमा यो समस्या कम देखिन्छ । नेपाली व्यवस्थापन भएका तारे होटेल बाहेकमा भने समस्या बढी नै छ । एक महीना लाग्ने पदयात्रा ४/५ दिनमा छोट्टिएको छ । यसले पर्यटकको खर्च, बसाइ अवधि आदि सबै प्रभावित पारेको छ । पर्यटकले तिर्ने थोरै पैसामा नै पर्यटन व्यवसायीहरू खोसाखोसमा छन् । यसले नेपालको पर्यटनको गुणस्तर उँभो लाग्न सक्ने देखिँदैन । अझ कतिपय ठाउँमा पर्यटकको झोला तानेर लैजाने प्रवृत्तिसमेत पाइन्छ । यो अस्वस्थ प्रतिस्पर्धाले एक त मुलुकको छवि नकारात्मक बनाउँछ भने अर्कातिर लाभ पनि कम हुन्छ । अस्वस्थ प्रतिस्पर्धाबाट पर्यटकले थोरै लाभ लिए पनि त्यसले पर्यटकलाई आकर्षित गर्ने होइन, नेपालमा त ठगिन्छौं भन्ने सन्देश जान्छ । त्यसैले यो प्रतिस्पर्धा रोक्न आवश्यक छ ।
शुल्कमा विभेद
नेपालमा समान सेवामा नेपाली, सार्क पर्यटक र अन्य पर्यटकबीच शुल्कमा विभेद छ । एउटा भारतीय पर्यटकले ५ हजारमा काट्ने हवाई टिकटलाई चिनियाँ पर्यटकले तेब्बर मूल्य तिर्नुपर्छ । तर, धेरै देशमा यस्तो किसिमको भेदभाव पाइँदैन । पर्यटनमैत्री भनिए पनि सरकार र निजीक्षेत्रले समेत पर्यटकबीच भेदभाव गर्छ । हवाई भाडामात्रै होइन, प्राय: सबै पर्यटकीय स्थल र आकर्षणका क्षेत्रमा नागरिकता हेरेर विभेद गर्ने गरिएको छ । धेरै देशमा यस्तो विभेद हुँदैन । यद्यपि कतिपय देशमा स्थानीय र विदेशीलाई लिने शुल्कमा विभेद नभएको होइन । तैपनि त्यसमा अन्तर भने नेपालमा जस्तो धेरै हुँदैन । यस्तो विभेदमा विदेशी पर्यटकको गुनासो त पाइँदैन तैपनि विनासुविधा अत्यधिक अन्तरको शुल्कमा कुनै तर्क र कारण भने हुनुपर्छ जसलाई पर्यटकहरूले स्वाभाविक रूपमा लिन सकून् । विभिन्न संग्रहालय, स्मारक, सम्पदा क्षेत्रहरूमा यस्तो शुल्कमा पर्यटकको कम गुनासो रहोस् भन्नेमा ध्यान जानु आवश्यक छ । यद्यपि यसले पर्यटन क्षेत्रलाई देखिने गरी नोक्सान भने गरेको छैन ।
आन्तरिक उडानको भाडा
वायुसेवा कम्पनीहरूले विदेशी पर्यटकलाई डलरमा सेवा विक्री गर्छन्, त्यो पनि नेपालीले चढेको भन्दा निकै महँगोमा । यसको अर्थ नेपाल आएपछि तिनीहरूसँग विकल्प हुँदैन भने यसमा सकेसम्म बढी नाफा लिनुपर्छ भन्ने सोच वायुसेवा कम्पनीको हो कि भन्ने देखिन्छ । यसले वायुसेवा कम्पनीलाई फाइदा भएको छ तर समग्र पर्यटन क्षेत्रमा यसले पार्ने असर भने निकै नकारात्मक छ । सबैलाई समान भाडा लिने हो वा केही मात्रै बढी लिने हो भने विदेशी पर्यटकले बसमा पोखरा यात्रा गर्नभन्दा प्लेनबाट नै पोखरा जान्छन् । बढी यात्रु पाउनुको अर्थ लाभ पनि बढी हो । अर्को, विश्वभरि हवाई भाडा निकै प्रतिस्पर्धात्मक हुन्छ । अफसिजनमा भाडा सस्तो पर्छ । तर, नेपालमा भने सधैं उही भाडा लिइन्छ । उडान घटीबढी गर्ने तर भाडा समान कायम राख्नु भनेको एक प्रकारको कार्टेलिङ हो । यो कार्टेलिङका कारण नेपाली र विदेशी पर्यटकसमेत प्रतिस्पर्धाको लाभ लिन सकेका छैनन् । त्यसैले यस्तो विभेदकारी भाडादर नलागू गर्नु समग्र पर्यटनका लागि लाभदायी हुन्छ । २५/३० यूरोमा बजेट प्लेनमा सजिलै स्पेनबाट बेलायत, फ्रान्स, इटली, जर्मनी, स्वीटरजल्यान्ड यात्रा गर्न सकिन्छ । रेलबाट गए अझ सस्तो पर्छ । नेपालमा काठमाडौंबाट पोखरा जान पनि नेपालीले समेत ३० डलर बराबर तिर्नुपर्छ । विदेशीका लागि १०६ डलर भाडा छ । यति महँगोमा पोखरा पुग्ने पर्यटकले पदयात्रामा जाँदा दिनको कति खर्च गर्छ ? उस्तै परे एकातर्फी भाडाले पूरै पदयात्रा पूरा हुन सक्छ ।
सजिलो छैन सडक
ठीकै छ, प्लेन चढ्न नसके विकल्प छ त भन्ने वायुसेवा कम्पनीहरूको भनाइ हुन सक्छ । तर, काठमाडौंबाट जम्मा २ सय किलोमीटरको दूरी छिचोलेर बसमा पोखरा पुग्न पूरै १ दिन लाग्छ । देशका कुनै पनि लामो दूरीका सडक यति बेला मृत्युको पासो थापेर बसेका जस्ता छन् । पानी परेको बेला हिलाम्य हुन्छ अनि अनि घाम लाग्दा धुलाम्य । अझ त्यहाँको खाल्डाखुल्डीले गर्दा यात्रा गर्नु भनेको युद्ध जित्नु जस्तो हुन्छ । बस टिकटदेखि सडकछेउका खाजाघरसम्म पनि पर्यटकले पाइलैपिच्छे धेरै ठूलो विभेद बेहोर्छन् । भन्नुपर्दा विदेशी पर्यटक देख्यो कि वस्तुको भाउ बढिहाल्छ । तिनीहरू जति पनि तिर्न तयार हुन्छन् भन्ने सोच छ । तर, अहिले इन्टरनेटका कारण उनीहरूले नेपालको मूल्य, बजार आदि बारेमा सहजै जानकारी प्राप्त गरेका हुन्छन् । अझ विभिन्न वेबसाइटमा छलफल ग्रूपहरू छन् जसले पर्यटकलाई चाहिने जानकारी मात्र दिँदैनन्, आफ्नो अनुभव पनि सुनाउँछन् । त्यसो हुँदा कुनै पनि ठाउँमा घुम्न जाँदा यी सबै अध्ययन गरेर जाने प्रवृत्ति छ । यस्तोमा बढी मूल्य असुल्न थालेपछि पर्यटक नकारात्मक नहुने कुरै भएन । कतिपय पर्यटक भने यो अव्यवस्था थाहा पाएर पनि सहन तयार भएर नेपाल आएका पाइन्छन् । एकपटक यी बाटाबाट हिँडेका पर्यटक दोहोर्याएर हिँड्न पक्कै चाहँदैनन् । त्यस्तै तिनले खुशी भएर आफन्तलाई नेपाल जाऊ पक्कै नभन्लान् ।
विकल्प भनेको हवाई मार्ग हो । नेपालको हवाई यात्रा असुरक्षित मात्रै होइन, विश्वकै महँगो मध्येको एक हो । ग्रामीण क्षेत्रमा राज्यले अनुदान दिएर स्थानीयलाई सस्तो टिकट उपलब्ध गराएको भए विदेशी पर्यटकले अनुदानरहित महँगो टिकट काट्नु जायज नै मान्न सकिन्थ्यो । तर, नेपालमा देशभरि यस्तो विभेद कायम छ । नेपाली या भारतीय नागरिकले तिर्ने मूल्य आफैमा अति चर्को छ । त्यसमा राज्यको कुनै छूट त छैन नै, चर्को कर लगाएर थप महँगो बनाइएको छ । नागरिकताको आधारमा विभेद भोगेपछि कसको मन सकारात्मक बन्ला ?
सरकारी नीतिले भाडा महँगो
पोखरा अन्तरराष्ट्रिय विमानस्थल हो । चलेको छैन । सुक्खा राखेर थोत्रो हुन दिनुभन्दा कर घटाएर आन्तरिक उडानलाई बढाउन सकिन्छ । ठूला र सुरक्षित विमान उडाउन पनि त सकिन्छ । ठाउँ छँदै छ, कर्मचारी पालेकै छ न्यूनतम कर लिएर प्रयोगमा ल्याउन किन समस्या ?
कसरी सस्तो र सुलभ यातायातको सुविधा नागरिक या पर्यटकलाई दिन सकिन्छ भन्नेमा कत्ति पनि सोच गएको छैन । पर्यटकलाई प्रतिस्पर्धात्मक मूल्यमा किन्नसमेत अवसर छैन । हाम्रो विमानस्थलको कर भारत, बङ्गलादेशजस्ता छिमेकी देशभन्दा पाँच गुनासम्म बढी रहेको देखिन्छ । हवाई इन्धन पनि त्यस्तै महँगो छ । त्यसमाथि १३ प्रतिशत भ्याट लगाइएको छ । पर्यटक बढाउने हो भने यस्ता विभेदकारी मूल्य सबैतिर हटाउन सक्नुपर्छ ।
अहिले यूरोपबाट नेपाल आउने टिकटले सिङ्गो यूरोप घुम्न पुग्छ । भारत भनेको छिमेकी विहार या उत्तरप्रदेश मात्रै होइन । विश्वभर भारतीय पर्यटकको माग छ । धार्मिक र सांस्कृतिक पर्यटन पनि जोडिएको छ । त्यस्तै छिमेकी देश चीनका पर्यटक आज विश्वभर पुग्छन् । तिनको घुम्ने चाह र खर्च गर्न सक्ने क्षमता बढ्दो छ । तिनलाई सस्तोमा नेपाल ल्याउन र सस्तो यातायातको सुविधा दिन किन सकिँदैन ? त्यसो गर्न नसकेकै कारण चिनियाँहरू थाइल्यान्ड आदि देशमा जान्छन्, नेपालमा आउन चाहेर पनि आउँदैनन् । सबैले आफूले गर्ने खर्चको हिसाबकिताब राख्छन् । कति खर्च गरेर कस्तो आनन्द लिने भन्नेमा व्यक्ति स्वतन्त्र छ । सरकारले लिएको महँगो करकै कारण हवाई भाडा दर महँगो भएको छ र पर्यटकले चाहेर पनि नेपाल आउन सकेका छैनन् । त्यसैले सरकारले हवाई टिकटमा लिने भ्याट हटाउनुपर्छ । हवाई इन्धन सस्तो बनाउनुपर्छ । अन्य सुविधा दिएर भए पनि हवाई भाडा सस्तो बनाउने हो भने अर्कातिरबाट सरकारलाई फाइदा नै हुन्छ ।
सरसफाइमा लापरबाही
पर्यटक जाने ठाउँ स्वच्छ हुनु जरुरी छ । तर, नेपालीमा सरसफाइप्रति लापरबाही पाइन्छ । प्लास्टिकका झोला, बिस्कुट, चाउचाउका खोल, फ्रुटी आदि पेयका बट्टा, पानीको प्लास्टिक बोतल जथाभावी फाल्ने प्रवृत्ति छ । पढेलेखेकादेखि अनपढसम्म सबैमा यी वस्तु प्रयोगपछि फुत्त फाल्ने बानी छ । पदयात्रा मार्ग होस् कि धार्मिक क्षेत्र, शहर होस् कि गाउँ सर्वत्र फोहोरको राज्य नै छ भन्दा हुन्छ । सगरमाथामा फोहोरको थुप्रो रहेको समाचार त विश्वभरि नै छाएको छ । नदी होस् वा माटो वा हावा सबै मानवीय गतिविधिका कारण प्रदूषित भइरहेका छन् । यसका सरसफाइ सरकारले मात्र गरेर सम्भव हुँदैन । जनता आफै सचेत हुनुपर्छ । तर, व्यक्तिगत सरसफाइमा ध्यान पुगे पनि यस्तो सरसफाइप्रति जिम्मेवारीबोध छैन । राराको छेउछाउ होस् कि फेवा सबैतिर यही फोहोर र प्रदूषण व्याप्त छ । यस्तो फोहोर र प्रदूषणले पर्यटकको संख्या बढाउन सकिँदैन । शौचालयको अभाव उस्तै समस्या छ ।
पदयात्रा मार्गको समस्या
नेपाल पदयात्राका लागि विशेष आकर्षण मानिएको छ । अन्य क्षेत्रमा भन्दा यसमा पर्यटकको संख्या बढिरहेको कुराले पनि यसलाई पुष्टि गर्छ । तर, पदयात्रा मार्गकै समानान्तर हुने गरी विकासका नाममा सडक बनाइएका छन्, त्यो पनि कच्ची सडक । यसले एकातिर पदयात्राको अवधि घटाएको छ भने अर्कोतिर पदयात्राको आनन्द । पर्यटकले यसको खुलेरै विरोध गरेका छन् । पदयात्रीलाई धूवाँ र धूलाले सास्ती दिने गरेको छ । अन्नपूर्ण आधार क्षेत्रको पदयात्रा होस् वा अन्य क्षेत्र स्थानीयको सुविधाका लागि बनाइएका कच्ची सडक पर्यटकका लागि समस्या बन्न थालेका छन् । पदयात्राको मार्गमा सुविधा थपिनु एक अर्थमा राम्रै होला तर ऐकान्तिक अनुभव गर्न आउने पर्यटकलाई यसले विकर्षित गर्न सम्भावना अत्यधिक छ ।
पर्यटन क्षेत्रमा विद्यमान समस्यालाई सानोतिनो भनेर बेवास्ता गर्ने गरिएको छ । तर, माथि चर्चा गरिएका केही विसंगतिले पर्यटन क्षेत्रलाई धमिराले काठलाई खाएझैं अलिअलि खाँदै गरेको अवस्था छ । र्याफ्टिङमा विदेशी पर्यटक हामीले करीब करीब गुमाइसकेका छौं । अहिले यसका लागि पर्यटक नेपालजस्तै भूभाग भएको भारतमा जान थालेको पाइन्छ । त्यस्तै अवस्था पदयात्रामा पनि नआउला भन्न सकिँदैन । त्यसैले यस्तो विकृति रोक्न र पर्यटनलाई स्वस्थ बनाउन सबैले चासो दिनैपर्छ । पोखराका व्यवसायीले आचारसंहिता बनाएर लागू गरे पनि व्यवहारमा त्यो फलीभूत हुन सकेको छैन । पर्यटन व्यवसायभित्र विभिन्न गतिविधिका अलगअलग संस्था छन् । ती संस्थाले यस्तो समस्यालाई गम्भीर रूपमा लिएर समाधानमा पहल गर्नुपर्छ । व्यवसायीले मात्र गरेर नहुने समस्याको समाधानका लागि सरकारलाई पनि घचघच्याउनुपर्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।