पर्यटकको सेवासुविधामा आवश्यक पर्ने भौतिक संरचनालाई नै पर्यटनको पूर्वाधार मानिन्छ जसमा यातायात, वासस्थान, सूचना व्यवस्था, भौतिक संरचना आदि पर्छन् । यस्ता पर्यटकीय पूर्वाधारहरूको उपभोग पर्यटनसँग सम्बद्ध पक्ष र स्थानीय बासिन्दा दुवैले गर्छन् । यसबाट मुलुकले विभिन्न किसिमले फाइदा लिन्छ तर पर्यटनलाई केन्द्रित गरेर उपयुक्त पूर्वाधार बनेका छैनन् । बनेका पूर्वाधार पनि निकै कमजोर छन् र तिनले अहिलेको मागलाई धान्न नसकेको अवस्थासमेत छ ।
विमानस्थल
नेपालमा ५० भन्दा बढी विमानस्थल छन् तर तिनमा कतिपय सञ्चालनमा नै छैनन्, गौचरणमा परिणत भएका छन् । त्रिभुवन विमानस्थल अति व्यस्त बनेको छ र यसलाई विस्तार गर्ने ठाउँ छैन । पोखरा र भैरहवामा बनाइएको अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थलको दुर्दशाको चर्चा गर्दा लुक्ला जाने पर्यटकलाई रामेछापको मन्थली लगेर प्लेन चढाउनुपर्ने बाध्यता उल्लेख गर्नैपर्छ । त्रिभुवन विमानस्थल साँघुरो भएकाले मन्थलीबाट उडान गर्नुपर्ने नियम बनाइएको छ । मन्थली पुग्नै झन्डै १ दिन खर्च हुन्छ । त्यसमा पनि मौसममा सानो गडबडी भयो कि विमान सेवा बन्द हुन्छ । पर्यटकको बिचल्ली हुन्छ । बस्न खान पर्याप्त उपयुक्त होटेल हुँदैनन् । विमान नै नउड्ने ठाउँमा विमानस्थल छन् तर पर्यटक भरिभराउ हुने ठाउँको विमानस्थललाई सुविधासम्पन्न बनाउनेतिर काम हुँदैन । पर्यटकीय मौसम शुरू भएपछि त्रिभुवन विमानस्थलमा उडान कटौती गर्ने नीति लिनुपर्ने बाध्यता देखिएको छ । पर्याप्त बजेट नहुनु र निजीक्षेत्रलाई बनाउन दिने कुरामा राजनीतिक समझदारी बन्न नसक्नु नै ठूलो विमानस्थल बन्न नसक्नुको कारण हो । नेपालको आकाशलाई ईयूले कालोसूचीमा राखिरहेकाले कतिपयले नेपालको हवाई सेवाप्रति विश्वास नरहेको समेत देखिन्छ ।
सडक यातायात
पर्यटकलाई इच्छित गन्तव्यस्थलमा पुर्याउने कार्य यातायातले गर्छ । गोरेटो, घोडेटो, सडक, पुल, बसपार्क, रेल स्टेशन, विमानस्थल नै यातायातका लागि आवश्यक पूर्वाधारहरू हुन् । पर्यटकहरूले स्थान छनोट गर्दा यातायातको उपलब्धता छ/छैन भन्ने कुरालाई पहिलो प्राथमिकता दिने गर्छन् । जुन स्थानमा छिटोछरितो र सहज ढङ्गले पुग्न सकिन्छ त्यस्ता स्थललाई नै आफ्नो गन्तव्यस्थल चुन्ने गर्छन् । पर्यटकहरू आफ्नो दैनिक व्यस्त समयबाट केही समय फुर्सद निकालेर आनन्दपूर्वक नयाँ स्थलमा गएर बिताउने चाहनाले पुग्न सम्भव र सहज गन्तव्यस्थललाई छान्ने गर्छन् ।
यातायात पूर्वाधारमा नेपालको अवस्था नाजुक छ । न हवाई यातायात सुरक्षित र भरपर्दो छ न त सडक यात्रा नै । हजारौं हजार माइल टाढाबाट केही घण्टामा नेपाल आउन सकिन्छ तर काठमाडौंबाट पोखरा सडक यातायातमा जाने हो भने त्योभन्दा बढी समय लाग्न सक्छ । प्लेनमा जाने हो भने निकै महँगो पर्छ । नेपाललाई सस्तो गन्तव्य भनेर प्रचार गरिए पनि यातायातकै कारण नेपालको गन्तव्य महँगो बनेको छ र नेपालले पर्यटक गुमाइरहेको छ । तर, यसमा सुधारको काम भने कछुवा गतिमा छ । मानौं, पर्यटक २/४ दशकपछि मात्रै नेपाल आउँछन् ।
सरकारले सडकको स्तरोन्नतिका लागि काम गरेको छ जुन सकारात्मक छ तर काम निकै सुस्त गतिमा हुँदा यात्रुले हैरानी बेहोर्नु परेको मात्र होइन, असुरक्षाको अनुभवसमेत गर्नुपरेको छ । माटो जमिसकेको र पहिरो जान कम भएको ठाउँमा सडक विस्तारका लागि कोतर्न थालेपछि ती ठाउँमा अत्यधिक पहिरो गएको छ । रिटेनिङवाल दिएर सडक विस्तार गरेको भए पनि नदीको अर्को साइटपट्टि नयाँ बाटो बनाएको भए अहिलेको जस्तो पहिरोको समस्या आउने थिएन भन्न सकिन्छ । सडक बनाउने नाममा पदयात्रा मार्ग बिगारिएको छ र कतिपय ठाउँमा सडकका कारण अवधि र दूरी छोट्टिएको छ । आन्तरिक पदयात्रीलाई यसले सहज बनाए पनि विदेशी पर्यटकबाट लिने लाभ घटेको छ र पर्यटकमा असन्तोष बढेको छ । सडक पनि अस्थायी र कच्ची बनाइएका छन् जुन सुविधाभन्दा पनि धरापजस्ता देखिएका छन् । त्यसैले सडक पूर्वाधारलाई गुुणस्तरीय बनाउनुपर्छ । अहिले थालिएको सडक विस्तार समयमा नै सम्पन्न हुने हो भने केही वर्षमा पर्यटक आगमन बढ्ने देखिन्छ । मानवीय क्रियाकलापका कारण बाढीपहिरोबाट बढी क्षति पुगेको हो । कमजोर पूर्वाधारकै कारण यसो भएको हो भन्ने देखिन्छ । सरकारले वैकल्पिक बाटोको व्यवस्था नगरेको र आवागमनमा असर नपर्ने व्यवस्था नमिलाएकाले अहिले पर्यटक आत्तिएको अवस्था छ । त्यसैले सडक पूर्वाधारलाई तीव्रता दिन आवश्यक छ ।
वासस्थान
कुनै पनि व्यक्ति पर्यटक बनेर गन्तव्यस्थलमा जान उसले त्यस स्थानमा वासस्थानको सुविधा उपलब्ध छ/छैन भन्ने जानकारी लिन्छ । उनीहरू स्वाभाविक रूपमा सुविधायुक्त र सुरक्षित वासस्थानको चाहना राख्छन् । नेपालमा बिस्तारै पाँचतारे होटेल बन्न थालेका छन् , लक्जरी ब्रान्डको होटेल धमाधम नेपाल प्रवेश गरिरहेका छन् । पर्यटनका लागि होटेलको भने त्यति समस्या छ जस्तो देखिँदैन । यद्यपि विलासी पर्यटकलाई लक्षित गरेर थप होटेल बन्नु आवश्यक छ । अहिले होटेलको संख्या बढे पनि स्तरीय होटेलको संख्या अझै अपुग छ । त्यस्तै होटेलहरूबीच अस्वस्थ प्रतिस्पर्धाले पर्यटकमाझ नकारात्मक सन्देश पनि गएको छ । साथै आपसी प्रतिस्पर्धाले पर्यटकले लाभ पाए पनि नेपालको आमदानी भने घटेको छ । चलनचल्तीका पर्यटन क्षेत्रमा मात्र होटेलहरू खुलेका छन् । पर्यटकीय सम्भावना बोकेका तर पर्यटक खासै नपुगेका क्षेत्रमा महँगा र विलासी होटेल खुले भने त्यसले गुणस्तरीय पर्यटकको आगमन बढ्न सक्छ ।
सूचनाप्रविधि
नेपालमा अहिले धेरै ठाउँमा मोबाइल र इन्टरनेटको पहुँच पुगेको छ तर पदयात्रा मार्गमा धेरै ठाउँमा नेटवर्क नटिप्ने समस्या छ । त्यस्तै इन्टरनेटको स्पीड कम छ । सूचना प्रविधिको माध्यमले पदयात्रा मार्गहरू सम्बन्धी एप बनाउन आवश्यक हुन्छ । मोबाइल बोकेपछि पदयात्रा मार्गको जानकारी पाउन सक्नुपर्छ । आपत् पर्नासाथ सम्पर्क गर्न पाउने अवस्था बनाइनुपर्छ । तर, सूचना प्रविधिमा पर्याप्त लगानी भएको छैन । पर्यटकलाई लक्षित गरेर विभिन्न एपहरू बनाउन सकिन्छ । यो पूर्वाधार अहिले निकै महत्त्वपूर्ण मानिन्छ । आफू घुमेको ठाउँबाट तत्काल पोस्ट गर्न मानिशहरू लालायित हुन्छन् । तर, नेपालको डेटाको स्पीड कम छ र कतिपय ठाउँमा चल्दैन पनि । त्यसैले सूचना प्रविधिको पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक छ ।
पर्यटकीय गतिविधिका भौतिक संरचना
नेपालको पर्यटन पूर्णतया प्रकृतिमा निर्भर रहेको छ । तर, प्रकृति मात्रैले पर्यटकलाई आकर्षित गर्न सकिँदैन । पहाड र हिमालमा प्रशस्त केबलकार बन्नुपर्छ । मुख्य कुरा पर्यटकीय गतिविधिका लागि विकट भौगोलिक क्षेत्रमा विभिन्न क्रियाकलाप गराउन ठूलो भौतिक संरचना आवश्यक हुन्छ । त्यस्ता पहाडी स्थल खोजेर ती क्षेत्रमा पूर्वाधार निर्माण गरेर साहसिक क्रियाकलाप गराउन सकिन्छ । पर्यटकका लागि थिम पार्क, मनोरञ्जनका विविध खेलहरू खेलाउने कुनै पूर्वाधार छैन । पानीका खेलहरूका लागि ठूलो लगानी छैन । विदेशी पर्यटकलाई लक्षित गरी एम्युजमेन्ट पार्क बनेका छैनन् । अन्य खेल खेलाउने पूर्वाधार पनि छैनन् । नेपालको पर्यटन वास्तवमा विशुद्ध प्राकृतिक दृश्य र भौगोलिक बनोटमा टिकेको छ भने हुन्छ । ठूला पूर्वाधारमा न विदेशी लगानी न त स्वदेशी लगानी नै भएको छ । पर्यटन सेवा भनेको पर्यटक ल्याउनु, होटेलमा राख्नु, हिमाल देखाउन, पदयात्रामा लैजानु, सांस्कृतिक स्थल घुमाउनु वा सांस्कृतिक कार्यक्रम देखाउनुमा मात्र सीमित भएको अनुभूति हुन्छ ।
पर्यटकलाई आकर्षित गर्न पर्यटकीयस्थलको वातावरणले पनि भूमिका खेलिरहेको हुन्छ । पर्यटक जहाँ पुग्छन् त्यहाँ उसले सफा, सुग्घर र सही व्यवस्थापनको चाहना राख्छ । पर्यटकीय क्षेत्र सफा, स्वच्छ हुनाका साथै त्यस स्थानमा पर्यटकका लागि आचारसंहिता पनि हुनुपर्छ । पर्यटक आफ्नो स्वास्थ्यअनुकूल पर्यटकीयस्थल छनोट गर्छ । कोही व्यक्तिलाई अति जाडो वा अति गर्मी उपयुक्त हुँदैन । त्यस्तो स्थितिमा उनीहरू आफूअनुकूलका पर्यटकीय गन्तव्यस्थल पहिचान गरेर घुम्न जान्छन् । तर, नेपालको पूर्वाधार निकै कमजोर छन् । धूँवाधूलो र प्रदूषणको मात्रा अत्यधिक छ । सरसफाइ पनि कम छ । सार्वजनिक शौचालय आदिको उचित प्रबन्ध छैन । खासमा भन्ने हो भने पर्यटकमाझ सकारात्मक सन्देश दिने यस्ता सानातिना कुरामा सरकार त परको कुरा पर्यटन व्यवसायीको समेत ध्यान पुगेको छैन ।
नकारात्मक कुरा सोच्न बाध्य भएको पर्यटकले पक्कै पनि नेपालको सकारात्मक कुराको प्रचार गर्दैन । मुखमुखै हुने प्रचार सबैभन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले नेपालको पर्यटनलाई राम्ररी प्रवर्द्धन गर्न भौतिक संरचना स्तरीय, भरपर्दो र सुरक्षित बनाउन आवश्यक छ ।
पर्यटकले कुनै पनि कुराको एकपटक अनुभव गरेपछि पुन: त्यसप्रति आकर्षित नहुन पनि सक्छ । त्यसैले पटक–पटक आउँदा पनि नयाँपन पस्किने काम गर्नुपर्छ जसका लागि नयाँनयाँ खालको पूर्वाधार आवश्यक पर्छ । नेपालमा एउटा कुनै एक किसिमको प्रडक्टमा लगानी गर्यो भने सबै त्यसमै झुम्मिने गर्छन् । उदाहरणका लागि अहिले जताततै बनेका जीपलाइनलाई लिन सकिन्छ । त्यो पनि सानो आकारको मात्रै छ । जति बढी जोखिमपूर्ण खेलहरू हुन्छन् त्यति नै साहसिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले यस्ता खालका भौतिक पूर्वाधार निर्माणमा पनि ध्यान जानु आवश्यक छ ।
भौतिक संरचना, भौतिक पूर्वाधारका साथसाथै पर्यटकसँगको व्यवहारले पनि पर्यटकलाई आकर्षित गर्न भूमिका खेल्छ । स्थानीयको व्यवहार राम्रो छैन, पर्यटकले दुव्र्यवहार सहनुपर्ने हुन्छ । यसले पर्यटकलाई विकर्षित गर्न सक्छ । उसले आफ्नो देशमा गएर नेपालमा जे अनुभव गर्यो त्यही सुनाउँछ । यस्तोमा नकारात्मक कुरा सोच्न बाध्य भएको पर्यटकले पक्कै पनि नेपालको सही प्रचार गर्दैन । मुखमुखै हुने प्रचार सबैभन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले नेपालको पर्यटनलाई राम्ररी प्रवर्द्धन गर्न यी भौतिक संरचना स्तरीय, भरपर्दो र सुरक्षित बनाउन आवश्यक छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।