काठमाडौं । दुई पुनर्बीमा कम्पनीमध्ये एउटाले मात्र नियामक निकायसमक्ष पूँजी वृद्धि योजना पेश गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पूँजी वृद्धि योजना पेश गर्न दिएको समयसीमाभित्र हिमालयन रिइन्स्योरेन्स कम्पनीले आफ्नो योजना पेश गरेको हो । नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीले २० अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था गर्दै त्यसको योजना १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो ।
नेपाल बीमा प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले हिमालयन रिइन्स्योरेन्स कम्पनीले ४ प्रतिशत बोनस शेयरपछि ८० प्रतिशत हकप्रद जारी गर्ने र त्यसपछि पनि अपुग पूँजीका लागि आगामी वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने योजना पेश गरेको बताए ।
नेपाल पुनर्बीमा कम्पनीले भने पूँजी वृद्धि योजना पेश गर्न थप समय माग गरेको लामिछानेले जानकारी दिए । नेपाल पुनर्बीमा कम्पनीलाई पूँजी वृद्धि योजना अघि बढाउन सरकारको सहमति चाहिने भएकाले उक्त सहमति प्राप्त हुँदासम्मको लागि समय थप गर्न माग गरेको लामिछानेले बताए । नेपाल पुनर्बीमामा सरकारको समेत स्वामित्व छ ।
प्राधिकरणले माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै २०८१ साल माघ मसान्तसम्म तोकिएको चुक्ता पूँजी कायम गर्न भनेको छ ।
पुनर्बीमा कम्पनीहरूलाई पूँजीमा बलियो बनाउन नियामक निकायले योजना अघि बढाएको अवस्थामा सरकारले त्यसलाई सकारात्मक रूपमा लिने अपेक्षा प्राधिकरणको छ । बीमाक्षेत्र बलियो हुन पुनर्बीमा कम्पनीको पूँजी बलियो हुनुपर्ने आवश्यकता प्राधिकरणले ठानेको छ ।
प्राधिकरणले माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै २०८१ साल माघ मसान्तसम्म तोकिएको चुक्ता पूँजी कायम गर्न भनेको छ । प्राधिकरणले पूँजी वृद्धिको योजना अघि सारेसँगै गत आर्थिक वर्ष (आव) को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयरको प्रस्ताव थप गरी वार्षिक साधारणसभा आह्वान गरिसकेको छ । हाल हिमालयनको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । गत पुस ११ गते सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्सले पहिलो वर्षमै लाभांश वितरण गर्न लागेको हो । बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हिमालयनले गरेको छ ।
हिमालयनले प्रस्तावित लाभांशसँगै हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । यो कम्पनीले १० शेयर बराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४ प्रतिशत बोनस शेयर र ८० प्रतिशत हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हिमालयनलाई हकप्रदपछि पनि थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुन्छ । थप पूँजी बोनस शेयरमार्फत पुर्याउने योजना उसको छ ।
पूँजी वृद्धि योजना पेश गर्न बाँकी नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी हाल १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ८०० रुपैयाँ छ । नेपाल पुनर्बीमा देशको पहिलो पुनर्बीमा कम्पनीका रूपमा २०७१ सालदेखि सञ्चालनमा छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेड २०७८ सालदेखि सञ्चालनमा छ । नेपाल पुनर्बीमा कम्पनीले २०७६ चैतमै सर्वसाधारणलाई शेयर जारी गरेको थियो । हिमालयनले २०८० मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।
बीमा प्राधिकरणले तोकबमोजिम पूँजी पुर्याउन नेपाल पुनर्बीमा कम्पनीलाई ७ अर्ब १८ करोड ६४ लाख ५६ हजार २०० रुपैयाँ आवश्यक पर्छ । यो कम्पनीले गतवर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ । गतवर्ष नेपाल पुनर्बीमाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीले आव २०७६/७७ देखि नै लाभांश वितरण गर्दै आएको छ । पूँजी वृद्धिका लागि बोनस र हकप्रद शेयरको विकल्प नभएको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले पनि बोनस र हकप्रद शेयरकै बाटो रोज्ने अनुमान गरिएको छ ।