काठमाडौं। गत पुस महीनामा नेपालमा १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महीनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा पुसमा उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो । उद्योग विभागले हालै सार्वजनिक गरेको विदेशी लगानी स्वीकृत र परियोजना दर्तासम्बन्धी तथ्यांकअनुसार पुसमा मात्रै २७ ओटा परियोजना दर्ता भएका छन् । यद्यपि यो लगानी प्रतिबद्धता भने मङ्सिरको भन्दा कम हो । तर परियोजना संख्या पुसमा बढी छन् । मङ्सिरमा २१ ओटा परियोजना दर्ता हुँदा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।
विभागका अनुसार चालू आवको ६ महीनामा २२६ ओटा परियोजना दर्ता भएका छन् । पुसमा साना क्षमताका परियोजना बढी दर्ता भएका छन् । गत महीना साना क्षमताका परियोजना २२ र मझौला परियोजना पाँचओटा दर्ता भएका छन् । विभागका अनुसार चालू आवको ६ महीनामा २११ साना, १२ मझौला र तीन ठूला क्षमताका परियोजना दर्ता भएका छन् । नेपालमा उद्योग विभागमार्फत उत्पादनमूलक, ऊर्जा, कृषि तथा वनजन्य, खनिज, सेवा, निर्माण र सूचना तथा प्रविधि क्षेत्रमा विदेशी लगानी भित्त्याउन सकिन्छ । पुसमा दर्ता भएका परियोजनामध्ये धेरै सेवामूलक क्षेत्रमा छन् । त्यसपछि पर्यटनमूलक र उत्पादनमूलक रहेका छन् ।
६ महीनामा २११ साना, १२ मझौला र तीन ठूला क्षमताका परियोजना दर्ता भएका छन् ।
विभागका अनुसार पुसमा ऊर्जा क्षेत्रमा कुनै पनि लगानीको प्रतिबद्धता प्राप्त भएको छैन । ऊर्जाबाहेकका अन्य क्षेत्रमा भने कम भए पनि लगानी प्रतिबद्धता आएको छ । पुससम्ममा विदेशी लगानी प्रतिबद्धता आएकोमध्ये सबैभन्दा धेरै पर्यटनमा छ । यो क्षेत्रमा १०३ ओटा परियोजना दर्ता भएका छन् । त्यसपछि सेवा क्षेत्रमा ८३ ओटा परियोजना दर्ता भएका छन् भने खनिज क्षेत्रमा सबैभन्दा कम दर्ता भएको देखिन्छ । खनिज क्षेत्रमा दुईओटा परियोजना दर्ता भएका हुन् ।
नेपालमा आउने लगानी प्रतिबद्धता पर्यटन तथा सेवामूलक क्षेत्रमा बढी छ । नेपालले विभिन्न क्षेत्रहरू विदेशी लगानीका लागि खुला गरे पनि पछिल्ला केही वर्षदेखि लगानीकर्ताको आकर्षणमा सेवामूलक र पर्यटन क्षेत्र पर्दै आएका छन् । यस्तै सूचना प्रविधिमा पनि अहिले लगानीकर्ताको प्रतिबद्धता बढ्न थालेको छ । विभागको तथ्यांकअनुसार पुससम्ममा प्राप्त भएको लगानी प्रतिबद्धतामध्ये ३ प्रतिशत सूचना प्रविधिमा देखिएको छ ।