सीताराम थपलिया
महाप्रबन्धक
नेपाल स्टक एक्सचेञ्ज
नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सीताराम थपलिया २०२५ सालमा नुवाकोटको मदनपुरमा जन्मेका हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत शङ्करदेव क्याम्पसबाट एमबीए गरेका उनी शुरू १ दशकसम्म व्यापारमा संलग्न थिए । नेशनल कलेजमा ५ वर्षजति अध्यापनको अनुभव सँगालेका उनी २०५७ सालदेखि दुई कार्यकाल बैङ्क अफ काठमाडौंको सञ्चालक भए । त्यसपछि उनले नेपाल धितोपत्र बोर्डमा २०६३ सालदेखि विज्ञ सदस्यका रूपमा काम गरे । कृषि विकास बैङ्कको ३ वर्ष सञ्चालक भएका उनी गत असारदेखि हालको जिम्मेवारीमा आएका हुन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अध्यक्ष उनी नागरिक लगानी कोषका निर्देशक पनि हुन् । उनी नेपाल–जापान मैत्री तथा सांस्कृतिक सङ्घका महासचिव, डा. ठाकुरराम पन्त स्मृति गुठीका उपाध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं फ्रेण्डशिपका पूर्वअध्यक्ष हुन् ।
पूँजी बजारको चुनौतीलाई निरपेक्ष ढङ्गले हेर्दा यसभित्रका सकारात्मक पक्ष ओझेलमा पर्ने र नकारात्मक पक्ष मात्रै चर्चामा आउने गर्छ । तसर्थ समग्र अर्थतन्त्रको सापेक्षमा पूँजी बजारको विकास र यसबाट अर्थतन्त्रमा अधिकतम योगदान कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने दृष्टिकोण निर्माण हुनुपर्छ ।
तुलनात्मक रुपमा नेपालको पूँजी बजारको इतिहास छोटो छ । तापनि बजारमा सहभागी हुने धितोपत्र व्यवसायीको सङ्ख्या क्रमिक रुपमा बढेको छ । साथै पूँजी बजारमा प्रवेश गर्ने सङ्गठित संस्थाको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।
नेपालमा सरकार, नेपाल राष्ट्र बैङ्क र नेपाल औद्योगिक विकास निगमको पहलमा नेपाल धितोपत्र विनिमय बजार (हाल नेपाल स्टक एक्सचेञ्ज लिमिटेड)को स्थापना भएको हो । संसारभर अधिकांश स्टक एक्सचेञ्जहरु नाफामुखी सङ्गठित संस्था (कर्पोरेशन)मा रुपान्तरण हुने परिपाटी विकास भइरहेको अवस्थामा नेप्से पनि सोही दिशामा अगाडि बढेको छ ।
सर्वसाधारणमा प्राथमिक बजारमार्फत धितोपत्र जारी गरेका कम्पनीहरुलाई दोस्रो बजारमा प्रवेश दिने, धितोपत्रहरुको सहज कारोबारका लागि पूर्वाधारको व्यवस्था गर्ने, तरलता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने र कारोबारपछिको सेवा (राफसाफ तथा फछ्र्योट) सुनिश्चित गर्ने कार्यका साथै समग्र दोस्रो बजार गतिविधिको सुपरिवेक्षण तथा अनुगमन गर्ने नेप्सेको प्रमुख दायित्व हो । यसबाहेक पूँजी बजारको विकास तथा लगानीकर्ताको हित संरक्षण गर्नु पनि नेप्सको दायित्व हो ।
विगत ५ वर्षको दोस्रो बजार प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने आशालाग्दो स्थिति देखिन्छ । कारोबार रकम विगत ३ वर्षदेखि बढ्दो क्रममा छ । बजारमा प्रवेश गर्ने कम्पनी तथा धितोपत्रको सङ्ख्या बढेको छ । समग्र आर्थिक–व्यावसायिक वातावरण एवम् लगानीकर्ताको सोच तथा दृष्टिकोणबाट निर्धारण हुने बजारको उतारचढावलाई भने स्वाभाविक मान्नुपर्छ । नियमकानूनको परिधिभित्र रही माग र आपूर्तिको आधारमा निर्धारण हुने मूल्यलाई उत्तम मूल्य मानिन्छ । नियामक तथा बजार सञ्चालकले त्यस्तो कारोबार पारदर्शी र प्रतिस्पर्धी ढङ्गमा भएको सुनिश्चित गर्नुपर्छ । तथापि हालको बजार गतिविधिमा सन्तोष मान्ने अवस्था छैन ।
नेप्सेमा वित्तीय क्षेत्रका कम्पनीहरुको आधिकता छ । बजारको सन्तुलित एवम् प्रभावकारी विकासका लागि वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्छ । ठूलो पूँजी लगानीमा दूरसञ्चार, अस्पताल, कलेज, होटललगायत उत्पादनमूलक तथा सेवामूलक उद्योगहरु खुले पनि यिनीहरु निजी तथा पारिवारिक व्यवसायका रुपमा सञ्चालनमा छन् । तुलनात्मक रुपमा निजी व्यवसायभन्दा पारदर्शी हुने तथा संस्थागत सुशासन प्रवद्र्धनमा समेत सहायक बन्ने भएकाले त्यस्ता कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा प्रवेश गर्ने अनुकूल वातावरण निर्माण गरिनुपर्छ ।
पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने सूचीकृत शेयर र कारोबारको अनुपात ७ प्रतिशतभन्दा कम रहेको देखिन्छ । यसले दोस्रो बजार कारोबार विकासको प्रारम्भिक चरणमै रहेको सङ्केत गर्छ । सामान्य अर्थमा यसलाई लगानीकर्ताले चाहेको बेला चाहेको धितोपत्र किनबेच गर्न नसक्ने अवस्थाको रुपमा बुझिन्छ । बजारलाई परिपक्व बनाउन कारोबार अनुपातमा वृद्धि हुनु आवश्यक छ । धितोपत्र बजार निर्मातालाई क्रियाशील हुन दिएको खण्डमा कारोबार अनुपातलाई वृद्धि गर्न सकिन्छ । यसका लागि सम्बन्धित नियम विनियममा समयानुकूल परिमार्जन तथा संशोधन आवश्यक देखिन्छ । यसैगरी नगण्य रुपमा भएका सरकारी तथा सङ्गठित संस्थाहरुले जारी गरेका ऋणपत्रको कारोबारलाई सक्रिय बनाउन सकिएमा पोर्टफोलियो व्यवस्थापनमा समेत सहयोग पुग्ने देखिन्छ ।
पछिल्लो समयमा निजीक्षेत्रबाट म्युचुअल फण्डहरु पूँजी बजारमा प्रवेश गरेका छन् तापनि म्युचुअल फण्डजस्तै ठूलो पूँजी लिएर कारोबार गर्न सक्ने संस्थागत लगानीकर्ताहरुको कमी छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीलगायत सम्भावित लगानीकर्ताको उल्लेख्य सहभागिता पूँजी बजारमा देखिँदैन ।
लगानीकर्ताहरुलाई वैकल्पिक लगानीका वित्तीय औजार उपलब्ध गराउनु अर्को चुनौती हो । अग्राधिकार शेयर, डिबेञ्चर तथा बण्ड एवम् डेरिभेटिभ्सको कारोबार गर्ने÷गराउने विषयमा छलफल हुनु आवश्यक देखिन्छ । पूँजी बजारका कतिपय चुनौती लगानीकर्ताहरुमा रहेको न्यून चेतनास्तरबाट सृजित छन् । समग्र शैक्षिकस्तर नै न्यून रहेको हाम्रोजस्तो मुलुकमा वित्तीय चेतनाको कमीलाई अस्वाभाविक मान्न पनि सकिँदैन । त्यसैले देशव्यापी रुपमा सम्भाव्य लगानीकर्ताहरुलाई समेट्दै वित्तीय साक्षरता अभियान नै चलाउनु पर्ने देखिन्छ ।
उल्लिखित चुनौतीहरुलाई सम्बोधन गर्दै अगाडि बढ्न नेप्सेले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुधारका प्रयास जारी राखेको छ । नेप्सेको पूर्ण स्वामित्वमा स्थापित सीडीएस एण्ड क्लियरिङ कम्पनी सञ्चालनमा आएपछि दोस्रो बजार कारोबारलाई देशव्यापी बनाउन सकिन्छ । हाल दोस्रो बजार कारोबार काठमाडौं उपत्यका र सदस्य दलालहरुको रिमोट वर्क स्टेशन रहेका मुख्य शहरहरुमा मात्र सीमित रहेको छ ।
यी विषयमा सरकार, नियामक निकाय, बजार सञ्चालक, धितोपत्र व्यवसायी, तथा विज्ञहरुमार्फत आआफ्नो क्षेत्रबाट योगदान भए नेपालको पूँजी बजार परिपक्व हुनेछ । परिपक्व पूँजी बजारबाट अर्थतन्त्रमा अर्थपूर्ण योगदान हुने विवादरहित तथ्य हो ।