- वैध रूपमा विदेशमा कमाउने नागरिकलाई सहज रूपमा देशमै लगानी गर्ने वातावरण तयार पार्नुपर्छ । यस्तो रकम स्वदेशमा ल्याए कर छुट दिने व्यवस्था गर्न सकिन्छ ।
- यदि सरकार पारदर्शिता, लगानीमैत्री वातावरण, वैधानिक कारोबार र सम्पत्तिको सुरक्षामा विश्वास जगाउन सक्दैन भने नेपाली पूँजी निरन्तर विदेशतर्फ पलायन हुनेछ ।
स्वीस नेशनल बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा स्वीस बैंकहरूमा रहेको नेपाली निक्षेप ३८ करोड ७० लाख स्वीस फ्र्यान्कमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय कमी हो । यो लगातार दोस्रो वर्ष स्वीस बैंकहरूमा नेपाली रकम घटेको हो । तथापि, यो रकम अझै पनि कोरोना महामारीपूर्वको तुलनामा उच्च छ जुन कुराले नेपाली पूँजी विदेशमा रहने प्रवृत्ति यथावत् रहेको देखाउँछ । यस्तो रकम भ्रष्टाचारबाट आर्जिन रकम हो कि होइन भन्ने स्पष्ट आधार छैन तैपनि अवैध धन लुकाउन यसो गरिएको आरोप लगाउने गरिएको छ ।
स्वीस बैंकहरूमा गोपनीयता कायम हुने हुनाले विगतमा यहाँका बैंकमा पैसा राख्ने प्रचलन बढी थियो तर पछिल्लो समय बैंकले केही जानकारी सार्वजनिक गर्ने गरेको छ । त्यस्तै केही दशकअघिसम्म ट्याक्स हेभन देशहरू कम थिए । त्यस्ता देशमा पैसा लैजाने प्रवृत्ति कम थियो । अझ अहिले विश्वका धेरै वित्तीय राजधानीहरूमा कर कम छ र लगानीको अवसर पनि छ । त्यसैले बैंकमा पैसा थुपार्नभन्दा लगानी गर्न बढी फाइदाजनक हुन्छ । विश्वभरि नै लगानीका लागि निकै खुला नीति लिन थालिएकाले पनि स्वीस बैंकमा निष्क्रिय राखिने पैसा लगानीका लागि अन्यत्र जान थालेको हुन सक्छ । स्वीस बैंकमा राखिएका सबै रकम अवैध हुन् भन्न पनि सकिन्न । त्यहाँ थुप्रै नेपालीहरू उच्चस्तरको जीवनसहित पेशाव्यवसाय गरेर बसेका पनि भेटिन्छन् । यस्तो संख्या बढ्दो छ । त्यस्तै यूरोपेली मुलुकहरूमा नेपालीको उपस्थिति निकै बाक्लो भएको छ । यूरोपेली मुलुकमा कुनै एक देशको बैंकमा खाता खोलेर कारोबार गरेपछि यूनियनमा आबद्ध देशहरूमा अर्को बेग्लै खाता खोलिरहनु पर्दैन । त्यसले पनि स्वीस बैंकमा अहिले जम्मा भएका पैसा सबै भ्रष्टाचार वा अवैध नै हो भनेर ठोकुवा गर्न सकिँदैन ।
यस्तोमा स्वीस बैंकमा नेपालीले पैसा राख्न कम गर्नु सामान्य नै हो । अहिले दुबईमा घरजग्गामा लगानी गर्ने, व्यवसा गर्नेहरू प्रशस्त छन् । यस्ता क्षेत्रमा पैसा जान थाल्नु यस्तो रकम घट्नुको कारण हुन सक्छ । यो कम हुनुका सम्भावित कारणहरूमा सबैभन्दा पहिले बदलिँदो वित्तीय प्राथमिकता आउँछ । विश्लेषकहरूको मतमा अब नेपाली धनी वर्ग स्वीस बैंकभन्दा सिंगापुर, आयरल्यान्ड, दुबई, केम्यान आइल्यान्ड जस्ता गोपनीयता संरक्षणमा अब्बल राष्ट्रहरूतर्फ आकर्षित हुन थालेका छन् । स्वीट्जरल्यान्डले वर्षेनि सार्वजनिक गर्ने विवरणका कारण त्यसतर्फको गोपनीयता कमजोर हुने महसुसले धेरैको ध्यान अन्य ‘ट्याक्स हेभन’ मुलुकतर्फ सरेको हुन सक्छ ।
यसबाहेक, नेपालमा भएका चुनावी गतिविधिहरू पनि यसमा जोडिएका छन् । २०२२ को निर्वाचन वर्षमा स्वीस बैंकमा नेपाली निक्षेप ऐतिहासिक उच्च बिन्दुमा पुगेको तथ्यांकले देखाउँछ । यसले संकेत गर्छ कि चुनावको समयमा ‘अनौपचारिक चन्दा’ वा ‘कालो धन’ विदेश पठाउने प्रवृत्ति कायम छ । राजनीतिक दल र नेताहरूले विदेशी खातालाई सुरक्षित भण्डारण स्थलको रूपमा प्रयोग गरिरहेका छन् भन्ने अनुमान बलियो देखिन्छ । नेपालको चुनाव खर्चिलो भइरहेको सन्दर्भमा यसरी पैसा बढेको देखिनु चिन्ताको विषय हो ।
विदेशमा पैसा राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले विदेशमा राखिएको रकमबारे अनुगमन गर्न सक्ने कानूनी संयन्त्र विकास गर्नुपर्छ । शंकास्पद खाता र रकमको खोजी गर्न विदेशी निकायसँग सहकार्य आवश्यक छ । साथै, वैध रूपमा विदेशमा कमाउने नागरिकलाई सहज रूपमा देशमै लगानी गर्ने वातावरण तयार पार्नुपर्छ । यस्तो रकम स्वदेशमा ल्याए कर छुट दिने व्यवस्था गर्न सकिन्छ । यदि सरकार पारदर्शिता, लगानीमैत्री वातावरण, वैधानिक कारोबार र सम्पत्तिको सुरक्षामा विश्वास जगाउन सक्दैन भने नेपाली पूँजी निरन्तर विदेशतर्फ पलायन हुनेछ । यद्यपि अहिले विदेशी विनिमयको उच्च सञ्चितिले पूँजी पलायन भएको पुष्टि भने गर्दैन । पैसा किन विदेश जान्छ भन्नेमा सरकार गम्भीर बन्न आवश्यक देखिन्छ ।