- सम्भावना मात्रै पर्याप्त छैन । वास्तविक उत्पादनका लागि पूर्वाधार, प्रविधि र बजार व्यवस्थापन चुनौतीपूर्ण छ ।
- घरघरमा पाइप ग्यास प्रणाली वा विशेष सीएनजी सिलिन्डरबाट वितरण गर्न सकिन्छ जसले गर्दा एलपीजी आयात घटाएर स्वदेशी ग्यास प्रयोगको दिशा खोल्न सकिन्छ ।
- दैलेखको प्राकृतिक ग्यास ऊर्जा आत्मनिर्भरताको अवसर हो ।
दैलेखको भैरवी गाउँपालिकामा भेटिएको ठूलो परिमाणको प्राकृतिक ग्यास भण्डारले नेपालको ऊर्जा सुरक्षामा नयाँ आशा जगाएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार यो ग्यासमा मिथेनको मात्रा ९० प्रतिशतभन्दा बढी छ जुन वातावरणमैत्री र एलपी ग्यासको सशक्त विकल्प बन्न सक्छ । हालसम्म २ अर्बभन्दा बढी लगानी भइसकेको यस परियोजना अब उत्पादन परीक्षणको चरणमा प्रवेश गर्न लागेको छ । त्यसपछि मात्रै यसको व्यावसायिक सम्भाव्यताबारे भन्न सक्ने देखिन्छ ।
नेपालले हरेक वर्ष अर्बौं रुपैयाँ एलपीजी आयातमा खर्च गर्छ । यदि दैलेखबाट व्यावसायिक उत्पादन सम्भव भयो भने यो खर्च कटौती मात्रै होइन, स्वदेशी इन्धन स्रोत प्रयोगको सशक्त पहल हुनेछ । घरेलु ग्यासको प्रयोग विस्तार हुन सक्नेछ जसले खासगरी खाना पकाउने माध्यममा परिवर्तन ल्याउन सक्छ । साथै, सीएनजी सवारीसाधनमा यसको बजार अझ फैलन सक्छ । भविष्यमा ग्यास प्रशोधन उद्योग, पाइपलाइन विस्तार र सीएनजी स्टेशनहरू स्थापना हुने सम्भावना पनि उत्तिकै प्रबल छ ।
तर, सम्भावना मात्रै पर्याप्त छैन । वास्तविक उत्पादनका लागि पूर्वाधार, प्रविधि र बजार व्यवस्थापन चुनौतीपूर्ण छ । ग्यास निकाल्न, प्रशोधन गर्न र वितरण गर्न विशाल पूर्वाधारको आवश्यकता पर्छ जुन अहिले नेपालमा छैन । दक्ष जनशक्ति, अन्तरराष्ट्रिय अनुभव र दीर्घकालीन नीति अभावका कारण यस्तो ठूला परियोजनामा ढिलासुस्तीको खतरा रहन्छ । साथै, स्थानीय समुदायलाई विश्वासमा लिने, वातावरणीय मूल्यांकन गर्ने र पारदर्शी व्यवस्थापन प्रणाली विकास नगरेसम्म परियोजना विवादास्पद बन्न सक्छ । मुख्य कुरा यति ठूलो परिमाणको ग्यासको खपत कुन क्षेत्रमा गर्ने र त्यसबाट लाभ कत्तिको हुन्छ भन्ने कुरा पनि नेपालले आफै तय गर्न सक्दैन । अहिले खानीको वास्तविकता पत्ता लगाउनसमेत मित्रराष्ट्र चीनलाई गुहार्न परेको अवस्थामा यसको उत्खनन, प्रशोधन र वितरणजस्ता प्रक्रिया नेपालले पूरा गर्न कठिन देखिन्छ । यद्यपि प्रतिबद्धता भएमा असम्भव नै चाहिँ होइन ।
नेपालको ऊर्जा स्रोतमा चीनको संलग्नता भारतका लागि रणनीतिक चासोको विषय बन्न सक्छ । विशेषगरी चिनियाँ अन्वेषण कार्य नै भू–राजनीतिक दृष्टिले संवेदनशील मान्न सकिन्छ । चीनलाई ठेक्का दिएर बनाएको भैरहवा विमानस्थल र चीनको ऋणबाट बनेको पोखराको विमानस्थललाई उसले पूरै उपेक्षा गरेको छ । यस्तोमा चीन ग्यास उत्खनन र प्रशोधनमा सामेल भएमा भारत सशंकित हुन सक्छ ।
मिथेनलाई उच्च चापमा कम्प्रेस गरेर सिलिन्डरमा राखिन्छ । यो सवारीसाधन (गाडी, बस, टेम्पो) मा इन्धनका रूपमा व्यापक प्रयोग हुन्छ । यो ग्यासका लागि हाई–प्रेशर सिलिन्डर चाहिन्छ । मिथेनलाई अत्यधिक चिसो बनाएर तरल अवस्थामा राखिन्छ । यसलाई विशेष खालको ट्यांक वा सिलिन्डरमा भण्डारण गरिन्छ । प्रायः ठूलो परिमाणको औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ । मिथेन अत्यन्तै ज्वलनशील ग्यास हो, त्यसैले सुरक्षा मापदण्ड, उच्च प्राविधिक उपकरण र प्रशिक्षित जनशक्ति आवश्यक हुन्छ । नेपालमा अहिले एलपीजी ग्यास सिलिन्डर प्रचलनमा छ तर मिथेनका लागि विशेष सिलिन्डर र वितरण प्रणाली चाहिन्छ । यदि दैलेखबाट व्यावसायिक रूपमा मिथेन निकाल्न सकियो भने शहरहरूमा सीएनजी स्टेशनहरू बनाई गाडीहरूमा प्रयोग गर्न सकिन्छ । त्यस्तै घरघरमा पाइप ग्यास प्रणाली वा विशेष सीएनजी सिलिन्डरबाट वितरण गर्न सकिन्छ जसले गर्दा एलपीजी आयात घटाएर स्वदेशी ग्यास प्रयोगको दिशा खोल्न सकिन्छ ।
सरकारको नेतृत्वमा निजीक्षेत्रको सहभागिता सुनिश्चित हुने ढाँचामा कम्पनी स्थापना गर्न सकिन्छ जुन धौवादी फलाम खानीमा प्रयोग गरिएको छ । दैलेखको प्राकृतिक ग्यास केवल एक आर्थिक स्रोत होइन, यो राष्ट्रिय स्वाभिमान, ऊर्जा आत्मनिर्भरताको अवसर पनि हो । सही ढंगले यसलाई अघि बढाउन सके नेपालको ऊर्जा इतिहासको कोसेढुंगा बन्न सक्छ ।