सार्वजनिक खर्चलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्रिय योजना आयोगले बनाएको सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । तहगत सरकारबाट सार्वजनिक पूर्वाधारलगायत विकास निर्माणका लागि लगानी गर्न वार्षिक बजेट तथा कार्यक्रममार्फत विनियोजित रकमको महत्त्वपूर्ण अंश (औसत ३० देखि ४० प्रतिशतसम्म) तोकिएको आर्थिक वर्षभित्र खर्च हुन नसकेकाले पूर्वाधार निर्माणका कामलाई गति दिन यस्तो कार्ययोजना ल्याएको देखिन्छ । सरकारले पूँजीगत खर्चको सुधार गर्न बनाएका यसअघिका कागजी योजनाजस्तै यो पनि कार्यान्वयन निष्प्रभावी हुने सम्भावना अत्यधिक देखिन्छ ।
सरकारले पूर्वाधारको निर्माणलाई गति दिन नसकिएको स्वीकारेर नै सुधार ल्याउन बेलाबखतमा नयाँनयाँ कार्यक्रम र नीति ल्याउने गरेको छ । तर, यी सबै कार्यक्रम समस्याको चुरोमा नपुगी टालटुल पार्ने नीतिले ल्याइएका हुनाले कुनै पनि पहल प्रभावकारी हुन सकेको पाइँदैन । आयोगले ल्याएको यो नयाँ कार्ययोजनामा राष्ट्रिय परियोजना बैंकलाई चरणबद्ध रूपमा सुधार गर्ने उल्लेख छ । त्यसभित्र रहेर परियोजना बैंक सञ्चालन कार्यविधि तर्जुमा गर्ने भनिएको छ । यसका लागि जिम्मेवार निकाय राष्ट्रिय योजना आयोगलाई तोकिएको छ । त्यसैगरी नियमित र पारदर्शी केन्द्रीय अनुगमनमार्फत पूँजीगत परियोजना पोर्टफोलियोलाई व्यवस्थित गर्ने भनिएको छ । यससम्बन्धी विवरणसहित त्रैमासिक र वार्षिक अनुगमन प्रतिवेदन पेश गर्न योजना आयोगलाई नै जिम्मेवार बनाइएको छ ।
सार्वजनिक खरीदको प्रभावकारी तथा पारदर्शी अनुगमन हुने सुनिश्चितता गर्न विद्युतीय सार्वजनिक खरीद प्रणालीमा सुधार गर्ने, सार्वजनिक संस्थान तथा सार्वजनिक–निजी साझेदारीमार्फत हुने लगानी परियोजनाको केन्द्रीय निगरानी तथा निरीक्षणमा सुधार गर्ने र परियोजना व्यवस्थापन सुदृढीकरण गर्न आवश्यक प्रबन्ध गर्नेजस्ता लक्ष्य कार्ययोजनामा राखिएका छन् । झट्ट हेर्दा सरकारले केही गर्न खोजेको भान हुन्छ तर विगतमा भएगरेका निर्णय र तिनको कार्यान्वयन हेर्दा यो विशुद्ध कागजी योजना हुने सम्भावना देखिन्छ ।
सरकार र नीतिगत स्थिरता, बारम्बार कर्मचारीको सरुवा गर्ने प्रवृत्ति रोक्न सकिएन भने जस्तो कार्ययोजना बनाए पनि परिणाम आउन सक्ने देखिँदैन ।
पूँजीगत खर्च नहुने समस्या नेपालमा अहिले होइन, पञ्चायतकालदेखि नै थियो । तर, खर्च असारको अन्त्यमा हतारहतार गर्ने प्रवृत्ति विगत केही दशकयता तीव्र बनेको छ । यसमा रकमान्तर गर्ने र ज्यादै कमसल निर्माण कार्य गर्ने प्रवृत्ति हाबी छ । त्यसैले सरकारले यसमा सुधार ल्याउन प्रयास गर्यो । कर्मचारीले समयमा बजेट नआएकाले बजेटको कार्यान्वयनमा पनि ढिलाइ भएको बतायो । त्यतिबेला आव शुरू भएको धेरै पछिसम्म पनि बजेट नआउँदा समस्या भएको थियो । त्यसैले यो समस्या समाधान गर्न आव शुरू हुनुभन्दा डेढ महीनाअघि नै बजेट ल्याउन अनिवार्य व्यवस्था गरियो संविधानमै जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेर । तर, बजेट कार्यान्वयनमा लैजान कार्यक्रम स्वीकृतिको प्रक्रिया छिटो होस् र नयाँ आव लाग्ने वित्तिकै योजना कार्यान्वयनमा लान सकियोस् भन्ने हेतुले गरिएको संवैधानिक व्यवस्थाले पनि बजेट कार्यान्वयनमा शीघ्रता ल्याउन सकिएन । फलत: पुरानै समस्या देखियो जुन अद्यापि कायम छ । त्यसपछि यसमा सुधार ल्याउन वित्तीय उत्तरदायित्व ऐन ल्याइयो । यसमा कर्मचारीतन्त्रले समयमै काम गर्नुपर्ने र काम समयमा नगर्दा दण्डको भागी हुनुपर्ने व्यवस्था पनि गरियो । तर, हालसम्म कसैलाई दण्ड दिइएको कुरा बाहिर आएको छैन । त्यस्तै कार्यसम्पादन करार गर्न थालियो जुन अद्यापि छ । तर, आवको अन्त्यमा हतारले खर्च गर्ने प्रवृत्तिमा कमी आएन । अर्थात् असारे विकासको नामले चिनिएको विकृति अहिलेसम्म रोक्न सकिएको छैन ।
अहिले सरकारले सार्वजनिक लगानी योजना बनाएको छ । यस्ता योजना कार्यान्वयन गर्ने इमानदारी राजनीतिक र कर्मचारीतन्त्र दुवै नहुँदा योजना कागजको खोस्टामा परिणत हुने गरेका छन् । काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई कारबाही गर्ने प्रणाली स्थापना गरिएन । काम नगर्दा केही पनि नहुने तर कतिपय सन्दर्भमा काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदिको फन्दामा परिने भएकाले कर्मचारीहरू सकेसम्म कामै गर्न खोज्दैनन् । काम नगर्नु पनि भ्रष्टाचार हुने व्यवस्था गर्ने हो भने यसलाई केही हदसम्म सुधार गर्न सकिन्छ । सरकार र नीतिगत स्थिरता, बारम्बार कर्मचारीको सरुवा गर्ने प्रवृत्ति रोक्न सकिएन भने जस्तो कार्ययोजना बनाए पनि परिणाम आउन सक्ने देखिँदैन ।