निरन्तर वर्षाका कारण मुलुकभर पाँच दर्जनजतिको गएको छ भने पूर्वाधारहरूमा क्षति पुगेको छ । बाढीपहिरोबाट भएको जनधनको क्षतिको विवरण आइसकेको छैन तर यसले धेरैको ज्यान लिएको र ठूलो आर्थिक क्षति पुगेको अनुमान गर्न सकिन्छ । प्राकृतिक विपद् आउँछ तर त्यसको सही व्यवस्थापन गर्न नसक्दा नै क्षति बढी हुने हो । पूर्वतयारीमा नेपाल चुकेको यसले देखाउँछ । यद्यपि विगतमा बाढीपहिरोले उपत्यकाबाहिर बढी विनाश गर्ने गरेकामा यसपटक उपत्यकामै दर्जनौंका ज्यान जानुको अर्थ मौसम भविष्यवाणीलाई हलुका रूपमा लिनु हो भन्ने देखिन्छ ।प्राकृतिक विपद् जतिसुकै सम्पन्न र प्रविधिमा दक्षता प्राप्त गरेका मुलुकका लागि पनि ठूलो चुनौती बन्ने गरेको छ । तैपनि यस्ता विपद्बाट हुने मानवीय क्षति विगतको भन्दा कम हुँदै गएको पाइन्छ । यसको एउटा कारण मौसमको भविष्यवाणी धेरै मात्रामा मिलाउन सक्नु हो । नेपालमा अहिले सरकारले ठूलो पानी पर्ने भन्दै पनि बारम्बार सचेत रहन सूचना जारी गरे पनि त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएन तथा सरकारले पानी पर्नुअगावै नदीकिनाराका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न पहल गरेन । यसले विपद्विरुद्ध पूर्वतयारी कम भएको देखाउँछ । पानी कति पर्छ र त्यसले कुन तहसम्म असर पार्छ भन्नेमा पर्याप्त अध्ययन र तयारी नभएको पनि यसले पुष्टि गर्छ ।
उपत्यकामा सामान्य खोल्साखाल्सी ठानिएका नदीले नै बढी मानवीय क्षति गरेको पाइन्छ । नेपालको कमजोर भौगोलिक बनोटका कारण पहिरो बढी जाने गरेको छ । सरकारले माटो गलेका कारण पहिरो जान सक्छ है भन्ने खालको सन्देश पनि प्रवाह गर्न नसकेको देखिन्छ । अर्को, नदी किनारामा अतिक्रमण गर्ने वा त्यसका किनारामा बस्ती विस्तार गर्ने प्रवृत्तिमा पनि यसले प्रश्न उठाएको छ । खोलाकिनार मिचेर घर तथा संरचना बनाएकै कारण काठमाडौंमा जनधनको बढी क्षति भएको देखिन्छ । पानीको बहावमा निकै शक्ति हुन्छ । त्यसो हुँदा यसलाई कम आँक्नु हुँदैन भन्ने सन्देश प्रवाहित गर्न नसकिएको पनि अहिलेको घटनाले देखाउँछ । अहिले जलवायु परिवर्तनको कारण एक्कासि ठूलो वर्ष भई ठूलो बाढीपहिरो आउन सक्ने स्थिति रहँदा खोलाकिनारमा बस्ती विस्तार गर्ने प्रवृत्तिलाई रोक्न जरुरी देखिन्छ । विपद्मा सबैभन्दा मुख्य विषय विपद् व्यवस्थापन हुन्छ । साधनस्रोत विहीन जनशक्ति र उचित व्यवस्थापनको अभाव भएकैले यति धेरै क्षति पुगेको हो भन्न सकिन्छ । बेलाबेला भएका विपद्सम्बन्धी तालिमले पनि काम गर्न नसकेको देखिन्छ । उपत्यकामा डुंगामात्र पर्याप्त भएको भए प्रहरीले धेरैको ज्यान जोगाउन सक्थ्यो । जतिलाई सुरक्षित उद्धार गरेको छ त्यो पनि स्रोतसाधनको अनुपातमा राम्रो हो भन्नुपर्ने अवस्था छ । यस्तो उद्धार कार्यमा स्थानीय सरकार बढी क्रियाशील हुनुपर्नेमा त्यस्तो सक्रियता देखिएन ।
सडक पूर्वाधार विकासको मुख्य आधार हो । तर, नेपालको सडक पूर्वाधार निकै कमजोर मात्र होइन, भौगोलिक बनोट र अवस्थाअनुसार उपयुक्त पनि देखिएन । भौगोलिक बनोटअनुसारको सडक निर्माण हुन नसकेको देखिन्छ । जथाभावी सडक बन्दा बढी बाढीपहिरो गएको र त्यसले बढी क्षति पुर्याएको देखिन्छ । तर, विज्ञको कुरा नसुन्ने सरकारी प्रवृत्ति बढी क्षतिका लागि जिम्मेवार छ । नेपालको आर्थिक रूपान्तरणका लागि जलविद्युत्लाई निकै महत्त्व दिने गरिएको छ । तर, अहिलेको बाढीपहिरोले माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजनालाई पनि असर गरेको समाचार आएको छ । नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण अंश रहेको जलविद्युत् परियोजनालाई बढ्दो बाढीपहिराको जोखिमवाट बचाउन आवश्यक योजना पनि हुनुपर्ने टड्कारो आवश्यकता छ ।यस्तोमा सरकारको पहिलो काम उद्धार र पीडितको व्यवस्थापन नै हो । पीडितका लागि सहयोग उठाउने नाममा कतिपय कथित स्वयंसेवीहरू सक्रिय हुने र रकम हिनामिना हुने सम्भावना पनि उत्तिकै छ । यसका लागि सरकारले एकद्वार प्रणाली अपनाएर पारदर्शी ढंगमा काम गर्नुपर्छ ।