काठमाडौं । बैङ्क अफ कोरिया (बीओके)को प्राविधिक सहयोगमा सन् २०१७ भित्र नेपालको आर्थिक प्रक्षेपणका लागि समष्टिगत आर्थिक प्रारूप (म्याक्रोइकोनोमिक मोडेल) तयार गर्ने समझदारी भएको छ । सो कार्यमा कोरियाकै योन्सेइ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको संलग्नता रहने नेपाल राष्ट्र बैङ्कले बताएको छ । सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलवार यहाँ नेपाल राष्ट्र बैङ्कका तर्फबाट गभर्नर कार्यालयका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र बैङ्क अफ कोरियाका तर्फबाट अन्तरराष्ट्रिय मामिला विभागका उपमहानिर्देशक जोङ सुक वनले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बीओकेले नेपालको केन्द्रीय बैङ्कलाई आर्थिक अनुसन्धान ढाँचा, मुद्रा व्यवस्थापन, भुक्तानी तथा राफसाफ प्रणाली कार्यान्वयन, आर्थिक प्रक्षेपण प्रणाली, सुपरिवेक्षण तथा नियमन प्रणाली सुधारमा प्राविधिक सहयोग गर्नेे छ । राष्ट्र बैङ्कका अनुसार बैङ्क अफ कोरियाले विभिन्न समयमा केन्द्रीय बैङ्कलाई प्राविधिक सहयोग गर्दै आएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालमा पनि बैङ्किङ प्रणालीमा आधुनिक उपकरणको प्रयोगलगायत विषयमा कोरियाली बैङ्क र राष्ट्र बैङ्कको संयुक्त टोलीबाट अध्ययन गरिने बताए । टोलीमा कोरियाली बैङ्कबाट सात जना र राष्ट्र बैङ्कबाट चार जना रहनेछन् । उनका अनुसार टोलीले ६ महीनासम्म अध्ययन गरी प्राप्त निष्कर्षलाई पुस्तकका रूपमा प्रकाशित गरेर सार्वजनिक गर्नेछ । कार्यकारी निर्देशक थापाले राष्ट्र बैङ्कले आर्थिक प्रक्षेपणसम्बन्धी ढाँचा विकास गरे पनि नेपालका केही क्षेत्रमा भरपर्दो तथ्याङ्कको कमी भएको पनि बताए ।
बीओकेका उपमहानिर्देशक जोङ सुक वनले टोलीले अध्ययनपछि राष्ट्र बैङ्कलाई प्रतिवेदन बुझाउने बताए । नेपाली अर्थतन्त्रको आयामबारे अध्ययन गर्न पाएकोमा आफू उत्साहित भएको भन्दै उनले खुशी व्यक्त गरे ।
कार्यकारी निर्देशक थापाका अनुसार नेपालमा लगानी गर्ने मुलुकहरूमा कोरियाको स्थान चौथो रहेको छ । उनले कोरियाको लगानी नेपालमा क्रमशः बढ्दै गएको पनि बताए । नेपालमा कोरियाली लगानी बढेसँगै उक्त देशसँगको व्यापारघाटा पनि बढेको यस वर्षको तथ्याङ्कले देखाएको उनले जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.