काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (Rastra Utthan Laghubitta Bittiya Sanstha Ltd)ले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश सार्वजनिक गरेको छ । कम्पनीले बोनस र नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश (Dividend) वितरण गर्ने निर्णय भएको जानकारी मंगलवार नेपाल स्टक एक्सचेञ्ज (Nepse) मार्फत गराएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी (Paid up Capital) रू. २६ करोडको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय वैशाख १३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)को स्वीकृतिपश्चात् आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
कम्पनीले लाभांश प्रस्ताव सार्वजनिक गरेकै दिन नेप्सेले शेयर कारोबार रोक्का गरिदिएको छ । वैशाख १३ गतेनै भएको निर्णय वैशाख १९ गते (आज) बिहान ११ बजेर ४८ मिनेट जाँदा मात्र नेप्समा प्राप्त भएकाले कारोबार रोक्का गरिएको जानकारी नेप्सेले दिएको छ ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने उक्त सूचना कम्पनीले निर्णय भएको दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नै नेप्सेमा पेस गर्नुपर्ने थियो । तर, कम्पनीले सोबमोजिम नगरेकाले तीन दिनभित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो ? त्यसको सम्बन्धमा स्पष्टीकरण पेस गर्न भन्दै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।