काठमाडौं । इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट तथा ड्राइपोर्टको ‘प्रणेता’ आरबी रौनियारको ८० वर्षको उमेरमा निधन भएको छ । २ वर्षयता मुटु तथा क्यान्सर रोगको उपचार गराइरहेका रौनियारको शनिबार विहान ११ः५० बजे मेडिसिटी अस्पतालमा निधन भएको उहाँका भतिज तथा फोटो पत्रकार विकास रौनियारले जानकारी दिए । उनको आईतवार साँझ पशुपति आर्यघाटमा दाहसंकार गरिने परिवारले जनाएको छ ।
व्यवसायी रौनियारलाई नेपालमा इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट तथा ड्राइपोर्टको काम शुरु गर्ने ‘प्रणेता’ मानिन्छ । रौनियार परिवार नेपालमा कपडा र चाँदी आयात गर्ने व्यवसायमा संलग्न थियो । सुरुमा नेपालमा कपडाको आयात बढी मात्रामा भारतबाट मात्र हुने गरेपनि दोस्रो विश्वयुद्धपछि जापान, बेलायत र इटली जस्ता देशबाट समेत आयतात हुन थालेपछि भारतको कलकत्ताबाट सामान क्लियरेन्स गरेर ल्याउन समस्या भयो ।
त्यसपछि आरबीको बाजेकै पालमा कलकत्तामा कार्यलय खोली क्लियरिङ र फरवाडिङको काम शुरु गरिएको एक वर्षअघि आर्थिक अभियानसँगको अन्तवार्ताको क्रममा रौनियारले आफ्नो अनुभव सुनाएका थिए ।