काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी रहेको छ । हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर शून्य ५ को अनुपातमा कम्पनीलाई बोर्डले गत पुस १९ गते हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । उक्त अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निकाष्सन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पूरा गर्नेछ ।