काठमाडौं। रियल इस्टेट कारोबार लगभग पूरै अनौपचारिक रहेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सबैभन्दा धेरै अनौपचारिक रुपमा रियल इस्टेट सञ्चालन भइरहेको उल्लेख छ । रियल इस्टेट कारोबारको ९९ दशमलव ९७ प्रतिशत अनौपचारिक रहेको प्रतिवेदनमा उल्लेख छ ।
घरजग्गासम्बन्धी कारोबार व्यक्तिगत रूपमै हुने, खरीदविक्री पनि सरकारी मूल्यभन्दा फरक रकममा हुने र सेवाक्षेत्रका रूपमा गणना हुने व्यक्तिगत घरको योगदान मूल्यांकन नहुने भएकाले यो क्षेत्र करीब पूर्ण अनौपचारिक देखिएको प्रतिवेदनमा उल्लेख छ ।
कृषि, वन र मत्स्यपालनमा ९७ दशमलव ४८ प्रतिशत तथा बसाइ र खानामा ५० दशमलव ४२ प्रतिशत कारोबार औपचारिक रहेको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक क्षेत्रमा ६२ दशमलव २ प्रतिशत जनशक्ति कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्रमा ८४ दशमलव ६ प्रतिशत रोजगारी छ । सबैभन्दा कम अनौपचारिक अर्थतन्त्रको अंश रहेका क्षेत्रमा प्रशासन तथा सहायता सेवा गतिविधिमा शून्य प्रतिशत, सूचना तथा सञ्चारमा शून्य दशमलव १३ प्रतिशत, शिक्षामा शून्य दशमलव १९ प्रतिशत, स्वास्थ्य र समाजसेवामा शून्य दशमलव ३३ प्रतिशत अनौपचारिक रहेको तथ्य पनि प्रतिवेदनले औंल्याएको छ ।
अध्ययन प्रतिवेदनले अनौपचारिक अर्थतन्त्रको मापन गर्दा व्यक्तिले आफ्नै लागि रोजगारी र आय सृजना गर्न, उत्पादन र उपभोग गर्न तयार गरिएका वस्तु, श्रम र पूँजी स्पष्ट भिन्नता छुट्ट्याउन जटिल हुने साना एकाइ, कानूनी रूपले वैध वा अवैध भनिएका आर्थिक गतिविधिलाई लिएको छ । अनौपचारिक अर्थतन्त्रको पनि अर्थतन्त्रमा योगदान हुने भएकाले यस्तो अर्थतन्त्रलाई छाया, भूमिगत, कालो, लुकेको अथवा समानान्तर भनिनु सही नहुने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारको अस्थिर नीतिका कारण पछिल्ला दिनमा नेपालको अर्थतन्त्रमा अनौपचारिक कारोबारको अंश बढ्दै गएको प्रतिवेदनले देखाएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा अनौपचारिक अर्थतन्त्रको अंश करीब ४३ प्रतिशत पुगेको छ ।
विभागले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोणमा गरेको अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्रको आकार पछिल्लो १९ वर्षमा कुल गार्हस्थ्य उत्पादनको औसत ४२ दशमलव ६६ प्रतिशत रहेको देखाएको छ । जबकि विश्वको अनौपचारिक अर्थतन्त्रको आकार ३३ प्रतिशत मात्र छ । १० वर्षको औसत अनौपचारिक अर्थतन्त्र ४२ दशमलव ६६ प्रतिशत देखिएको छ ।
अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले अध्ययनका क्रममा नीतिगत अस्थिरताले अनौपचारिक अर्थतन्त्र मौलाएको पाइएको बताए । ‘आयात प्रतिबन्धको एउटा नीतिले सीमाक्षेत्रमा चोरीपैठारी बढेको पाइयो,’ उनले भने, ‘कोरोना संक्रमणका बेला लिइएका कतिपय नीतिले पनि अनौपचारिक अर्थतन्त्रलाई बढावा पुगेको देखियो ।’
प्रतिवेदनले समेटेको १० वर्ष (सन् २०१०/११ देखि २०२०/२१ सम्म) अवधिको अनौपचारिक अर्थतन्त्रसम्बन्धी तथ्यांकले पनि यसको आकार विस्तार हुँदै गएको देखाएको छ । अर्थतन्त्रको आकार बढ्दै जाँदा अनौपचारिक अर्थतन्त्रको आकार पनि थप बढ्दै गएको प्रवृत्तिलाई प्रतिवेदनले पनि पुष्टि गरेको छ । प्रतिवेदनअनुसार राष्ट्रिय लेखा विधिका आधारमा आव सन् २०१८/१९ मा ३७ दशमलव ६० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्र आव २०२०/२१ मा ४१ दशमलव ३१ प्रतिशत पुगेको छ । अनौपचारिक अर्थतन्त्रको आकार ४० प्रतिशत नाघ्नु गम्भीर विषय भएकाले यसलाई घटाउँदै लैजानुपर्ने अध्ययनको निष्कर्ष छ ।