फुटुङ–९ की रेखा रम्तेल गोलभेडाको टनेल वरिपरि केही दिनदेखि बेरिराखेको प्लाष्टिक अझै निकाल्ने कि ननिकाल्ने अन्यौलमा छिन् । यो वर्षको अहिलेसम्ममा ३० हजार रुपैयाँ आम्दानी दिइसकेको गोलभेँडाको बोट प्लाष्टिक छानो नभए चिसोले कठ्याङ्ग्रिएर मर्ने पो हो कि भन्ने उनलाई डर छ । करीब १० वर्षअघि रोटरी क्लब अफ बालाजुमार्फत महिला सहयोगी सहकारी लिमिटेडले दिएको तालीमपछि उनले प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने उपाय जानेकी हुन् ।
रेखा तथा उनका छिमेकीद्वय तारा रम्तेल र जुठी मालबुल मात्रै होइन गाउँका थुप्रै महिलाले सोही संस्थाले दिएको तालीम र प्राविधिक सहयोगबाट आलु, बोडी, सिमी, सागलगायत तरकारी खेतीबाट राम्रो आय आर्जन गर्ने भएका छन् । पुस्तौंदेखि घरायसी प्रयोजनका लागि विभिन्न किसिमका तरकारी उत्पादन गर्दै आए पनि यही पेशाले पैसा कमाउन पनि सकिन्छ भन्नेचाहिँ उनीहरूले सोही सहकारीले एक दशकअघि शुरू गरेको महिलालक्षित लघुवित्त कार्यक्रममार्फत् नै थाहा पाएका हुन् ।
काठमाडौंको बालाजु चोकबाट तीन किलोमिटरभन्दा बढी खाल्डाखुल्डी परेको बाटो पार गरेपछि आउने फुटुङ गाउँका धेरैजसो महिला रोटरीको नेतृत्वमा अघि बढेको उक्त सहकारीमा आबद्ध भएर अचेल आफै कमाइ गर्ने धुनमा जुटेका छन् । फुटुङका मात्रै नभएर गोलढुङ्गा, मनमैंजुलगायत काठमाडौं जिल्लाका २१ गाविस, कीर्तिपुर नगरपालिका र महानगरपालिका भित्रैका विपन्न वर्गका करीब ८ हजार महिला अहिले आरसी बालाजु र उक्त सहकारीको नेतृत्वमा आत्मनिर्भरताको बाटोमा अघि बढेका छन् ।
आत्मनिर्भरताका लागि महिलालाई लघुवित्त कार्यक्रममा समेट्न जरुरी छ भन्ने निक्र्यौल गरेर सहकारी जन्माउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा आरसी बालाजुकी सदस्य चमेली शाक्य भन्छिन्, ‘जतिसुकै राम्रा नारा र योजना ल्याएपनि आर्थिक रूपमा बलियो नहुँदासम्म महिला आत्मनिर्भर हुन सक्दैनन् । आर्थिक आत्मनिर्भरताविनाको महिला सशक्तीकरण र स्वतन्त्रताको कुनै अर्थ छैन ।
यो विश्वव्यापी अभ्यासले प्रमाणित गरिसकेको कुरा हो । त्यसैले जतिसक्दो धेरै महिलाका लागि सानो मात्रामा भए पनि उपार्जन गर्ने आधार बनाइदिन हाम्रो क्लब र सहकारी लागि परेको छ ।’ उनका अनुसार सहकारीमार्फत खुद्रा पसल, कुखुरा, गाई, भैंसी, सुँगुर, बङ्गुरलगायत पशुपालन र तरकारी तथा फूललगायत खेतीको व्यावसायिक उद्यमशीलताका लागि लगानी भएको छ ।
सन् २००१ मा कलकत्ता डिष्ट्रिक्ट ३२९० अन्तर्गत चार्टर्ड भएको आरसी बालाजु ‘महिला लघुवित्त कार्यक्रम’का लागि अग्रणी रोटरी क्लब भएको सभापति सुमन शाक्य बताउँछन् । उनका अनुसार एक दशकअघि १० हजार अमेरिकी डलरबराबरको म्याचिङ ग्राण्ट कोषबाट सहकारीलाई अघि बढाइएको थियो । सहकारीमा प्राण भर्न क्लबका सदस्यहरूले रू. ५ हजारदेखि २५ हजार रुपैयाँसम्म निब्र्याजी लगानी गरिदिएको उनले बताए ।
हाल १५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरिरहेको सहकारीमा रू. ७ करोड बचत भइसकेको छ । ‘सहकारीमा आबद्ध महिला स्वरोजगार हुँदै गएका छन् । थोरै थोरै सबैले गरेको बचतले उनीहरू गारोसारो टार्न, सानोतिनो व्यवसाय गर्न, व्यावसायिक खेतीपाती गर्न सहज रूपमा ऋण लिन सक्ने भएका छन् । केही वर्षअघिसम्म ५ रुपैयाँका लागि पनि अरूको मुख ताक्नुपर्ने महिलाले अब घरपरिवार नै पाल्ने हैसियत बनाइसकेका छन् । उनीहरू अरूका लागि पनि प्रेरणाको स्रोत बनेका छन्,’ शाक्यले भने ।
सहकारीले विभिन्न समूह र केन्द्रहरू बनाएर महिलालाई लघुवित्त अभियानमा समेटेको छ । ७ वर्षसम्म सहकारीको अध्यक्ष रहेकी शाक्यका अनुसार संस्थाले पाँच जनाको एक समूह र ५ देखि १० ओटा समूह मिलाएर एउटा केन्द्र निर्धारण गरेको छ । सहकारीमा हाल करीब ३ सय ८० केन्द्र छन् । हरेक केन्द्रमा १५ दिनमा हुने बैठकमा समूहमा आबद्ध महिलाले सहकारीमा बचत गर्न र सस्तो ब्याजमा बिनाधितो ऋण लिन सक्छन् । एक महिलाले ग्रामिण क्षेत्रमा भए रू. १ लाखसम्म र शहरी क्षेत्रमा रू. ४० हजार मात्रै ऋण लिन पाउने व्यवस्था छ । शहरी क्षेत्रमा व्यवसाय वा बसोबास स्थानान्तरण भइरहने कारण ऋणको जोखिमलाई हेरेर ग्रामीण क्षेत्रमा भन्दा कम दिने व्यवस्था गरिएको पनि शाक्यले बताइन् ।
आरसी बालाजु र सहकारीले समूहमा आबद्ध गर्नुपूर्व महिलालाई एक हप्ता लामो तालीम दिने तथा सामूहिक भावना भए नभएको परीक्षण गर्ने गरेको छ । तालीममा सम्बन्धित व्यवसायको प्राविधिक ज्ञान, बजार व्यवस्थापन, बचत परिपाटी, लिएको ऋणको सदुपयोग र परिचालन गर्नेलगायत विषयमा जानकारी दिने गरिएको छ ।
अनुशासन र उद्यमशीलताप्रति प्रतिबद्ध बालाजु बसपार्क क्षेत्रमा पर्ने केन्द्र नं.४३ को बैठकका सहभागी १६ महिलाको सामूहिक भावभङ्गिमा हेर्दा यस्तो लाग्छ त्यहाँ कुनै धार्मिक भेला भएको छ । तर, पङ्क्तिबद्ध उभिएर हात जोडेर केही गुन्गुनाइरहेका उनीहरूले कुनै भजनकिर्तन गरेको नभएर सामूहिक एकता, सृजनशील र उत्पादनमूलक जीवन, सामाजिक कुसंस्कारविरुद्ध एकताको गीत गाइरहेका थिए ।
एक–एक सदस्य गर्दै समाजलाई अनुशासित, सृजनशील बनाउन सकिन्छ भन्ने आरसी बालाजुको आदर्शबाट प्रेरित भएर सहकारीमा आबद्ध महिलाले उक्त सामूहिक गान गाउने गरेको सहकारीका कार्यक्रम प्रबन्धक कमलकुमार काफ्ले बताउँछन् । महिला यसरी सङ्गठित भएका अधिकांश क्षेत्र चुरोटबिडी, जाँड रक्सी, जुवातासलगायत कुलतबाट मुक्त हुँदै गएको संस्थाकी संस्थापक अध्यक्ष तथा लेखा समिति संयोजक शाक्यले बताइन् ।
यसबाहेक काठमाडौं उपत्यकाको सीमान्त गाउँहरू लक्षित विभिन्न कार्यक्रम आरसी बालाजुले आफू चार्टर्ड भएदेखि नै गर्दै आएको छ । स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम आयोजना गर्ने, स्वच्छ खानेपानी प्लाण्ट तथा फिल्टर, जाडोका लुगा, अपाङ्गता भएकाहरूका लागि व्हिलचेयर, विद्यालयमा पाठ्य तथा स्टेशनरी सामग्री वितरण गर्नेलगायत कार्य पनि क्लबले गर्दै आएको सभापति शाक्यले बताए ।
कोलकातास्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत चन्द्र घिमिरे, अर्थविद् डा. डिल्लीराज खनाल, योजना आयोगका पूर्वसदस्य डा. प्रेम कुँवर, पूर्वसचिव डा. भोला चालिसे, यूरोपियन युनियनका राजदूत राममणि पोखरेललगायत विशिष्ट व्यक्तित्व संलग्न क्लबमा ५५ जना सदस्य छन् । क्लबमा एक रोटर्याक्ट, एक इण्टरर्याक्ट, एक इनरव्हिल र एक रोटरी कम्युनिटी कोर छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.