असार १२ काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्न लागेको हो ।
आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि उक्त आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।
उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक स्थानीयले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त मितिसम्म माग अनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ ।
यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।
उक्त आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।