काठमाडौं । बजेट सार्वजनिक भएपछि घटेको बजार सम्हालिने प्रयासमा छ । सोमवार ३ दशमलव ९७ अंक घटेर बन्द भएको नेप्से परिसूचक मंगलवार ६ दशलमव २२ अंक बढेर बन्द भएको छ ।
यससँगै परिसूचक २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको हो । कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । कारोबार रकम धेरै हुँदा बजारमा क्रेता–विक्रेताको सहभागिता बढेको अनुमान गर्न सकिन्छ ।
अहिलेको अवस्थामा दैनिक औसतमा रू. ४ देखि ५ अर्बको कारोबार भए बजार सुधारबारे आशावादी बन्न सकिने जानकार बताउँछन् । यद्यपि बजेटअघि आकर्षक बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गरेको र अब पुनः बजार प्रवेशका लागि लगानीकर्ताले ‘पर्ख र हेर’ को रणनीति बनाउँदा नेप्से सुस्त भएको उनीहरूको भनाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३५ प्रतिशत वृद्धि भएको छ ।
मंगलवार ३१५ धितोपत्रको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ५३ हजार ९९९ पटकमा रू. ४ अर्ब ८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये एक धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४४६ दशमलव ५० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक छ । बैंकको शेयर मूल्य ८ दशमलव २४ प्रतिशत बढेर रू. ६१५ पुगेको हो ।
मंगलवार सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ५१ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा इर्ष्टन हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ६८ प्रतिशत घटेर रू. ५०९ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २० करोड ९२ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९१९ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्स छ । कम्पनीको रू. १२ करोड ९३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशमलव ७० प्रतिशत वृद्धि भएको छ भने हाइड्रोपावर समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।