मुलुक बेरोजगारीले आक्रान्त रहेको र दिनका दिन लाखौं युवा पलायन भएका दृश्यहरू हाम्रा आँखा अगाडि नै रहेको सन्दर्भमा मुलुकमा साँच्चै नै औद्योगिक विकासको बिगुल फुक्न, रोजगारीका अवसर सृजना गर्न, आम जनतामा यसप्रति जागरुकता ल्याउन र आशा जगाउन चाल्नुपर्ने कदममध्ये ज्यादै महत्त्वपूर्ण कदम हो : साना व्यवसाय प्रवर्द्धनका लागि सामूहिक चिह्न र भौगोलिक संकेतको व्यापक प्रयोग । उक्त दुवै चिह्नले निश्चय पनि व्यापार चिह्नले गर्ने काम त गर्छन् नै । त्यसको अलावा यस्ता चिह्नबाट धेरै व्यावसायिक तथा आर्थिक लाभहरू प्राप्त हुने देखिन्छ । सामूहिक चिह्न र भौगोलिक संकेतको व्यवस्थापन गर्ने तरीका र प्राप्त लाभमा पनि धेरै हदसम्म समानता छ । तर, भौगोलिक चिह्न बौद्धिक सम्पत्तिको अर्को विधा भएकाले पछि चर्चा गरिने छ । अत: आजको छलफल भने सामूहिक चिह्नको परिचय, महत्त्व र व्यवस्थापनमा मात्र केन्द्रित रहने छ ।
सामूहिक चिह्नको मूलभूत कानूनी स्रोत पेरिस महासन्धिको दफा ७ ख हो । उक्त दफाले यस्ता चिह्नको वैदेशिक दर्ता वा संरक्षणको कुरा पनि प्रत्याभूत गरेको छ । त्यसमा भनिएको छ : आवेदन गर्ने पछिल्ला राष्ट्रले शुरू राष्ट्रको जस्तो संघ वा संगठनको उपस्थिति नरहेको कारणले मात्र दर्ता इन्कार गर्ने छैनन् । पेरिस महासन्धिको प्रावधान ट्रिप्स सम्झौतामा पनि आकर्षित हुन्छ । यसरी उक्त महासन्धिले सामूहिक चिह्न दर्ताको कानूनी आधार र प्रारम्भिक खाका प्रदान गरेको छ । सदस्य राष्ट्रले यसैलाई आधार मानेर आफ्नो मुलुकको खाँचो अनुसार परिभाषित गर्न कानून निर्माण गर्न सक्छन् ।
उद्योग विभागले जारी गरेको सामूहिक चिह्न दर्ता निर्देशिका, २०६७ मा यस चिह्नलाई कुनै छाता सङ्गठनको स्वामित्व तथा नियन्त्रणमा रहेको र त्यससँग आबद्ध भएर एउटै समुदायमा रहेका वा एउटै भौगोलिक एकाइभित्र रहेका तथा समान उद्देश्य वा पेशा व्यवसाय भएका व्यवसायीले त्यस संगठनसँग आबद्ध सबै सदस्यहरूले निश्चित शर्त पालना गरी प्रयोग गर्न सक्ने व्यापार चिह्न नै हो भनी परिभाषित गर्न खोजेको देखिन्छ ।
यसलाई अझ परिमार्जित गरी भन्न सकिन्छ– सामूहिक चिह्न भनेको समान उद्देश्य भएका एकै प्रकारका वस्तु वा सेवा उत्पादन गर्न प्रचलित कानूनबमोजिम स्थापना भएको वा क्रियाशील रहेको छाता संगठन जस्तै व्यवसायीहरूको संघ, महासंघ वा सहकारी संस्था वा अद्र्धसरकारी निकायसँग आबद्ध सदस्यले मात्र प्रयोग गर्न पाउने गरी बौद्धिक सम्पत्ति संरक्षण कार्यालयमा वा तोकिएको सरकारी निकायमा दर्ता गराएको व्यापारचिह्न नै हो ।
अत: सामूहिक चिह्नलाई यसरी व्याख्या गर्दा बुझ्न सजिलो हुन्छ – (क) यो चिह्न एकभन्दा बढी समान उद्देश्य भएका व्यवसायीले प्रयोग गर्नुपर्छ । (ख) चिह्न प्रयोग गर्ने व्यवसायी छाता संगठनसँग आबद्ध हुनुपर्छ । (ग) व्यवसायीले चिह्न प्रयोग गर्नु अघि छाता संगठनसँग सम्झौता गरी चिह्न प्रयोग गर्ने स्वीकृति लिनुपर्छ । (घ) छाता संगठनले जारी गरेको चिह्न प्रयोगसम्बन्धी निर्देशिका र मापदण्डको पालना गर्नुपर्छ । (ङ) यो चिह्नको स्वामित्व भने प्रयोगकर्तामा हैन छाता संगठनसँग रहन्छ ।
नेपालमा परम्परादेखि कृषि, जडीबुटी, हस्तकला र पर्यटनजस्ता व्यावसायिक क्रियाकलापहरू सबल रहँदै आएको र यहाँका सामाजिक आर्थिक तथा सांस्कृतिक क्रियाकलापहरूसमेत तिनबाट प्रभावित रहँदै आएको हुँदा साना व्यवसाय प्रवर्द्धनका लागि सामूहिक चिह्नको महत्त्वपूर्ण भूमिका रहन्छ । आउँदा दिनहरूमा पनि मुलुकको आर्थिक समृद्धि र प्रगति तीनै क्षेत्रको पर्याप्त अध्ययन, अनुसन्धान, सबलीकरण, प्रवर्द्धन, आधुनिकीकरण र व्यापारीकरणबाट मात्र सम्भव हुने देखिन्छ । साना व्यवसायहरूको प्रवर्द्धनका लागि सामूहिक चिह्नले देहायअनुसार धेरै प्रकारले महत्त्व राख्छ ।
प्रथमत:, यो चिह्न साना व्यवसायीहरूको पहुँचभित्र हुन्छ । उनीहरूका लागि व्यक्तिगत रूपमा चिह्न दर्ता गराउनु र संरक्षणका लागि पैरवी गर्नु खर्चिलो र झन्झटिया काम हो । त्यसैले उनीहरूले यो दायित्व निर्वाह गरेर चिह्न प्रयोग गर्न नसक्ने भएकाले सामूहिक चिह्न दर्ता र संरक्षण गर्ने काम समूहमा आबद्ध भएका सदस्यको मद्दतले छाता संगठनबाट वहन हुने भएकाले सदस्य व्यवसायीमा आर्थिक भार पर्दैन । दोस्रो, उत्पादित वस्तुको गुणस्तर, जात, प्रकारमा एकरूपता आउँछ किनभने एउटै मापदण्ड र साझा ब्रान्डको अवधारणाबाट सञ्चालन हुने भएकाले चिह्न व्यवस्थित गर्ने छाता संगठनले सबै सदस्यहरूलाई निश्चित आचारसंहिता, विधि, प्रक्रिया, मापदण्ड र प्रविधिबाट वस्तु उत्पादन वा सेवासञ्चालन गराउँछ । यसबाट समुदायका सबै सदस्यहरूले उत्पादन गरेका वस्तु वा सेवाको गुणस्तरमा एकरूपता आउँछ र एउटै ब्रान्डबाट बजारमा विक्रीवितरण गरिन्छ । यसबाट वस्तुको बजार प्रवर्द्धन गर्न सजिलो पर्छ ।
नेपालमा परम्परादेखि कृषि, जडीबुटी, हस्तकला र पर्यटनजस्ता व्यावसायिक क्रियाकलापहरू सबल रहँदै आएको र यहाँका सामाजिक आर्थिक तथा सांस्कृतिक क्रियाकलापहरूसमेत तिनबाट प्रभावित रहँदै आएको हुँदा साना व्यवसाय प्रवर्द्धनका लागि सामूहिक चिह्नको महत्त्वपूर्ण भूमिका रहन्छ ।
तेस्रो, सामूहिक चिह्नको प्रयोगबाट ‘एउटा गाउँ, एउटै वस्तु बनाऊँ’ को कार्यक्रमलाई सार्थक बनाउन सकिन्छ । दक्षिणपूर्वी एशियाली राष्ट्रहरू जस्तो जापान, फिलिपिन्स, थाइल्यान्ड, मलेशिया कम्बोडिया, लाओस आदि मुलुकले यही कार्यक्रम अपनाएर अलगअलग समुदायहरूको अलगअलग बालीनालीमा कार्य विशिष्टीकरण गरी निर्यात बजारका लागि समेत स्तरीय वस्तुहरू प्रचुर मात्रामा साना व्यवसायीहरूबाट नै उत्पादन गराएका छन् । त्यही सफलताको सिको गरी जाइकाको सहयोगमा नेपाल उद्योग वाणिज्य संघले पनि नेपालका केही जिल्लामा नमूनाका रूपमा यो कार्यक्रम सञ्चालन गरेको छ ।
यस कार्यक्रमलाई सफल तुल्याउन सामूहिक चिह्नको अवधारणा अचूक रामवाण हुन सक्छ । चौथो, बजारको मागअनुसारको परिमाणमा वस्तु उत्पादन गर्न सम्भव हुन्छ । साना व्यवसायीहरू थोरै उत्पादन गरेर वस्तुले बजार पाएन भनी धेरै हल्ला गर्छन् । तर, ढुवानीका साधन प्रयोग गर्ने व्यापारीलाई टनका टन सामान चाहिन्छ अनि थोरै कसरी बिक्छ ? तर, एकजना हैन, धेरै व्यवसायी मिलेर उत्पादन गर्दा दिनमा टनका टन पनि एउटा समुदायमा उत्पादन हुन सक्छ ।
पाँचौ, सामूहिक चिह्नको प्रयोगको क्रममा प्राप्त हुने ज्ञान र अनुभवले गर्दा लघुस्तरका उद्योगी व्यवसायीहरू मूल्य तथा बजार गतिविधि, चिह्न, समूह चिह्न, ब्रान्ड, आदि पदसँग सुपरिचित हुनछन् र तिनको प्रभाव व्यावहारिक रूपले अनुभव गर्ने अवसर पाउँछन् । फलस्वरूप मुलुकमा आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण हुन्छ ।
छैटौं, व्यवसायीकरण र कार्य विशिष्टीकरणमा सहयोग पुग्छ । कुनै वस्तुमा सामूहिक चिह्न प्रयोग गर्दै जाँदा व्यवसायीहरूमा उत्पादनसम्बन्धी शीप, ज्ञान, कार्य विशिष्टीकरण, गुणस्तर तथा उत्पादकत्व समेत वृद्धि हुँदै जान्छ । सातौं, बर्मजियाको बुढाबाजेको पेडा, भक्तपुरको जुजु धौ, टोखाको चाकु, तेह्रथुम र तानसेनको ढाका, सल्यानको खुकुरी, प्युठानी चुलेसी र मार्फा ब्रान्ड भने जस्तै सामूहिक चिह्नको प्रयोगले गर्दा सम्बद्ध ठाउँको उत्पादनको ब्रान्ड मूल्य निर्माण हुन्छ र झनै फाइदा हुन्छ । फलत: लघु उद्यममा आधारित जडीबुटी, कृषि, हस्तकला र पर्यटनजस्ता क्षेत्रको प्रवर्द्धन गर्न र बजारीकरण गर्न सजिलो पर्छ ।
आठौं, सामूहिक चिह्नलाई परम्परागत ज्ञान संरक्षणको उपकरणका रूपमा पनि प्रयोग गर्न सकिन्छ । जस्तो जुजु धौ हाम्रो परम्परागत ज्ञान पनि हो । यसलाई संरक्षण गर्न भक्तपुरे नेवारी समाजको नामको सामूहिक चिह्नबाट उक्त समुदायलाई विशेष लाभ पुर्याउन सकिन्छ । नवौं, माथिका सबै कारणले गर्दा साना व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढ्छ र ठूला प्रतिस्पर्धीले सानालाई सेप पुर्याउन सक्दैनन् । गरीब समुदायले उत्पादन गरेका सामानका क्रेता गरीब समुदाय नै हुनु पर्ने अवस्था पनि रहँदैन । गुणस्तरयुक्त र ब्रान्ड लेबलसहितका वस्तु उपत्पादनले मुलुकको निर्यात व्यापारसमेत वृद्धि हुन्छ । अत: सामूहिक चिह्न साना व्यवसायीका लागि विशेष अवसर र वरदान हो ।
सामूहिक चिह्न एउटै व्यवसायी वा व्यावसायिक प्रतिष्ठानले मात्र नभएर धेरै व्यवसायीहरूले प्रयोग गर्ने ट्रेडमार्क नै हो । त्यसैले यसको दर्ता र व्यवस्थापनजस्तै चिह्न निरूपण, आवेदन विधि, परीक्षण, दाबी विरोध, दर्ता, नवीकरण आदि कार्यविधि व्यापार चिह्नको जस्तै हो तर आवेदन गर्दा केही थप कागजातहरू पेश गर्नुपर्छ । अरू यसमा व्यवस्थापन गर्दा विशेष ध्यान पुर्याउनुपर्ने थप पक्षहरूमा छाता वा नियामक संगठनको भूमिका, व्यवसायीको समूह निर्माण, सामूहिक चिह्न नियमन तथा सञ्चालन निर्देशिका, वस्तु उत्पादन वा सेवा सञ्चालनका मापदण्डहरू, उद्यमी व्यवसायी र छाता संगठनबीच सम्झौता, सामूहिक चिह्न प्रयोगकर्ताहरूको भूमिका, कर्तव्य र दायित्वजस्ता विषय पर्छन् । यी विषय संक्षेपमा देहायका अनुच्छेदमा उल्लेख गरिएको छ ।
चिह्न व्यवस्थापन गर्दा प्रथम ध्यान दिनुपर्ने विषय हो– नियामक छाता संगठनको निरूपण । यस्तो संगठन प्रचलित कानूनबमोजिम गठन र स्थापना भएको कानूनी व्यक्तिजस्तो उद्देश्यअनुकूल रहेका व्यावसायिक वा पेशागत समूहको प्रतिनिधित्व गर्न संघ संगठन, सहकारी अथवा स्थानीय निकायको एजेन्सी पनि हुन सक्छ । सामूहिक चिह्न व्यवसायी व्यक्तिको नाममा होइन, तिनै संगठनको नाममा दर्ता गरी समान उद्देश्यका लागि आबद्ध भएका इच्छुक वा सरोकार राख्ने सबै व्यवसायीले अवसर पाउन सक्ने गरी व्यवस्थित गर्नुपर्ने हुन्छ । छाता संगठन सामूहिक चिह्नको नियन्ता नै भए पनि यसको भूमिका बढी सहजकर्ता, मार्गदर्शक र सेवाप्रदायकको रूपमा रहनुपर्छ । यस्तो चिह्न दर्ताका निम्ति विभागमा आवेदन गर्दा सामूहिक चिह्न भनी किटान गरिएको हुनुपर्छ । छाता संगठनको भूमिका नियामक हुने भएकाले यस्ता संगठनले चिह्नको व्यवस्थापन र नियन्त्रण गर्न पाउँछन् तर आफैले प्रयोग गर्न भने पउँदैैनन् । किनकि, छाता संगठनको भूमिका प्रतिस्पर्धात्मक हैन प्रवर्द्धनात्मक हुनुपर्छ । यसमा आबद्ध सदस्यहरू सामूहिक चिह्नको प्रयोग गर्न सक्षम हुन्छन् ।
छाता संगठनले सामूहिक चिह्न दर्ता गराउने सम्बन्धमा भएको निर्णय सम्बद्ध संस्थाको हकमा त्यस्तो संस्थाको साधारणसभा वा भेलाको कम्तीमा सामान्य बहुमतबाट भएको निर्णयसहित र सरकारी वा अर्धसरकारी निकाय भए अधिकार प्राप्त अधिकारीबाट भएको निर्णयसहित दर्ताका लागि विभागमा आवेदन गर्दा आवेदनमा सामूहिक चिह्न भनी स्पष्ट उल्लेख गरिएको हुनुपर्छ । पेश गर्ने थप कागजातमा सामूहिक चिह्न दर्ता गराउने सम्बन्धमा भएको निर्णय, चिह्न प्रयोगसम्बन्धी कार्यविधि, सदस्यहरूसँग भएको सम्झौताको प्रतिलिपि, संगठनको विधान, चिह्नको प्रयोगसम्बन्धी नियम र मापदण्ड वा आचारसंहिता आवेदनको साथमा पेश गर्नुपर्छ ।
चिह्न प्रयोगसम्बन्धी कार्यविधिमा अन्य सान्दर्भिक विषयहरूका अतिरिक्त सदस्य व्यवसायीहरूको सदस्यताको शर्त, सामूहिक चिह्न प्रयोग गर्ने शर्त, वस्तु वा सेवाको उत्पादन प्रक्रिया र गुणस्तरसम्बन्धी मापदण्ड, सदस्य व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता, नियामक संस्था र सदस्य व्यवसायीबीच सामूहिक चिह्न प्रयोगका लागि हुने सम्झौता र दुवै पक्षले पालना गर्नुपर्ने शर्त, निर्धारित मापदण्ड, आचरण र शर्त पालना नगरेमा वा चिह्नको दुरुपयोग गरेमा हुने कारबाहीको बेहोरा पनि समावेश भएको हुनु पर्नेछ । कार्यालयले छानबिन र परीक्षण गरी पेश भएका कागजातमा संशोधन गर्नुपर्ने भए १५ दिनभित्र आवेदकलाई जानकारी गराउन नपर्ने भए सबै प्रक्रिया पूरा गरी चिह्न दर्ता गरी प्रमाणपत्र जारी गर्छ ।
सदस्यता लिएका व्यवसायीहरूले आचारसंहिताको विपरीत हुने गरी वा उद्योग व्यापारको क्षेत्रमा वा सर्वसाधारण जनतामा भ्रम सृजना हुने गरी वा सार्वजनिक सरोकारको विपरीत हुने गरी चिह्न प्रयोग गरेको कुरा प्रमाणित हुन आएमा नियामक छाता संगठनले नसिहत दिन सक्छ । कुनै सदस्यले अन्य सदस्यलाई विमुख गरी त्यस्तो सामूहिक चिह्न प्रयोग गरेको वा सम्झौताविपरीत हुने गरी चिह्न प्रयोग गरेको वा सम्बद्ध वस्तु वा सेवामा भ्रम सृजना हुने गरी वा सार्वजनिक सरोकारको हितविपरीत हुने गरी सामूहिक चिह्न प्रयोग गरेमा कुनै सरोकारवालाले कार्यालयसमक्ष कारबाहीका लागि आवेदन गर्न सक्छ ।
एकै प्रकारका वस्तु वा सेवा उत्पादन गर्ने अन्य व्यवसायीलाई शर्तहरू पूरा गरेमा त्यस्तो संस्थाको पूर्वनिर्धारित नियम र शर्तहरू पालना गर्ने गरी सदस्यता दिनुपर्छ । संस्थाको सदस्य नभएको व्यक्ति वा व्यवसायले चिह्न प्रयोग गर्न पाउँदैन । सामूहिक चिह्नको अधिकार उल्लंघन गरेमा ट्रेडमार्क उल्लंघनमा हुने सजायभन्दा बढी सजाय हुन सक्छ ।
नेपालमा हालसम्म सामूहिक चिह्न संरक्षणको कानूनी व्यवस्था नगरिएको भए तापनि उद्योग विभागले पेरिस महासन्धिको प्रावधानमा टेकेर एउटा सानो निर्देशिका २०६७ सालमा जारी गरेको थियो । नेपाल टी, च्याङ्ग्रा पश्मिनाजस्ता सामूहिक चिह्नहरू थोरै भए पनि दर्ता भएकाले यसलाई बौद्धिक सम्पत्तिको क्षितिजमा उज्यालो भविष्यको संकेतको रूपमा बुझ्न सकिन्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज, नेपालका अध्यक्ष हुन् ।