काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक र वित्तीय प्रतिवेदन पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुने रकम रू. ३९ करोड ६२ लाख ४५ हजार २१८ बराबरको नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने करसहित) र १ दशमलव २४८९ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर तथा नगद लाभांश वितरणपश्चात् जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गरी रू. ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ पुर्याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गरेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको मूल्यमान्यता एवं अवलम्बन गरिएको कुशल व्यावसायिक नीति, संस्थागत सुशासनको सफल कार्यान्वयन र कम्पनीमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सेवाग्राहीबीच आफ्नो पृथक् पहिचान स्थापित गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसूचकमा निरन्तर वृद्धि गर्दै आएको बताए । मर्जरमा आएका चुनौतीलाई धैर्यपूर्वक व्यवस्थापन गर्दै सबल, सक्षम कम्पनीको रूपमा सञ्चालन गरिँदै आएको उनको भनाइ छ ।