काठमाडौं। साशा इन्जिनियरिङ हाइड्रोपावरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ । हाइड्रोपावरले जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासनमार्फत धितोपत्र निष्कासनका लागि क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको हो ।
सन् २००७ मा स्थापना भएको हाइड्रोपावरले दोलखामा ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरीद विक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौतासमेत गरिसकेको बताइएको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका अध्यक्ष पवित्रकुमार कार्की र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा हाइड्रोपावरका कम्पनी सचिव दिलिपकुमार चौधरी र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाको उपस्थिति थियो ।