काठमाडौं । धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३२ खर्ब नजिक पुगेको छ । फागुन २४ गते बिहीवारसम्म दोस्रो बजारको कुल पूँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी कायम भएको बजार सञ्चालकले जानकारी दिएको छ । गत साता मात्र कुल पूँजीकरण ९१ अर्ब ८९ करोड रूपैयाँभन्दा बढीले बृद्धि भएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी कायम रहेको थियो ।
दोस्रो बजार १ हजार ९७२ दशमलव शून्य ९ विन्दुदेखि बढेर गत साता २ हजार ३० दशमलव ५५ विन्दुमा बन्द भएकाले कुल बजार पूँजीकरणमा समेत सकारात्मक प्रभाव परेको हो । अघिल्लो साताको तुलनामा गत साता समग्र दोस्रो बजारको कारोबार मापक नेप्से परिसूचक २ दशमलव ९६ प्रतिशत अर्थात ५८ दशमलव ४६ अंक बढेको हो । सूचनाका आधारमा उचारचढाब आउने नेपालको धितोपत्र दोस्रो बजार गत साता राजनितिक गतिविधिका समाचारबाट प्रभावित बनेको देखिन्छ । अर्थमन्त्री परिवर्तनदेखि नयाँ गठबन्धकको सरकारकाले बजारमा निकै उचारचढाब ल्यायो । साताको दोस्रो कारोबार दिन सोमवार नयाँ गठबन्धनको सरकार बन्ने भएको समाचार वाहिरिएसँगै नेप्से ६ प्रतिशत बढेर एक घण्टा ४ मिनेटको अवधिमै पुरै कारोबार दिनको लागि बन्द भएको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ । साताको पहिलो कारोबार दिन ११ दशमलव ७८ अंकले घटेको बजार दोस्रो दिन सकारात्मक सर्किट लागेसँगै मङ्गलवार भने ७० दशमलव ३१ अंकले घटेको थियो । त्यसपछिको दुई कारोबार दिन बुधवार ९ दशमलव ३३ अंक र बिहीवार १३ दशमलव ५१ अंक बजार बढेको छ ।
गत साता बजारका महत्त्वपूर्ण सबै सूचकहरू सकारात्मक बनेका छन् । कारोबार रकम १३ दशमलव ८७ प्रतिशत र कारोबार कित्ता ११ दशमलव ४६ प्रतिशत बढेको छ । त्यस्तै औसत कारोबार रकम ११ दशमलव ८७ प्रतिशत र औसत कारोबार कित्ता ११ दशमलव ४६ प्रतिशत बढेको छ । अघिल्लो साता ११ अर्ब ६१ करोड १३ लाख रूपैयाँभन्दा बढीको ३ करोड २३ लाख ३७ हजारभन्दा कित्ता धितोपत्र कारोबार भएकोमा गत साता १३ अर्ब २२ करोड १७ लाख रूपैयाँभन्दा बढीको ३ करोड ६० लाख ४४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । औसत कारोबार भने अघिल्लो साता २ अर्ब ३२ करोड २२ लाख रूपैयाँभन्दा बढीको ६४ लाख ६७ हजारभन्दा बढी कित्ता भएकोमा गत साता २ अर्ब ६४ करोड ४३ लाख रूपैयाभन्दा बढीको ७२ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
गत साता व्यापारिक र म्यचुअल फण्ड बाहेकका सबै समूहगत परिसूचक बढे
गत साता करिब ३ प्रतिशत बढेको बजारमा व्यापारिक र म्युचुअल फण्ड वाहेकका सबै समूहगत परिसूचक बढेका छन् । म्युचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत र व्यापारिकको शून्य दशमलव १२ प्रतिशत परिसूचक घटेको हो । गत साता जलविद्युत समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५१ प्रतिशत बढेको छ । त्यस्तै वित्तको ४ दशमलव ३९ प्रतिशत, लगानीको ३ दशमलव शून्य ४ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ९८ प्रतिशत, विकास बैंकको २ दशमलव ९८ प्रतिशतनै , अन्यको २ दशमलव ९० प्रतिशत, लघुवित्तको २ दशमलव ८२ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७५ प्रतिशत, बैंकिङको २ दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३८ प्रतिशत र जीवन बीमाको २ दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको हो । परिसूचकमा देखिएको घटबढलाई आधार मान्दा गत साताको कारोबारमा जलविद्युत समूहले सर्वाधिक कमाएका छन् भने म्युचुअल फण्डले सर्वाधिक गुमाएका छन् ।
स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)