काठमाडौं । अघिल्लो साता १ प्रतिशतभन्दा बढीले माथी उक्लिएको धितोपत्र दोस्रो बजार गत साता लगातार घटेको छ । गत साता चार कारोबार दिन खुलेको बजार २ दशमलव ६२ प्रतिशत अर्थात ५३ दशमलव १६ अंकले घटेको हो ।
पहिलो कारोबार दिन २ दशमलव ३५ अंक, दोस्रो दिन १६ दशमलव ८२ अंक, तेस्रो दिन १४ दशमलव ८१ अंक र चौथो दिन १९ दशमलव ५६ अंक घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार २५ दशमलव ३० विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९७२ दशमलव १४ विन्दुमा बन्द भएको हो ।
यतिबेला धितोपत्र बजारका लगानीकर्ता अन्योलको अवस्थामा रहेको देखिन्छ । ब्रोकरहरू बजारप्रति सरकारको पछिल्लो क्रियाकलापले लगानीकर्तामा एक प्रकारको अन्योलता देखिएको बताउँछन् । बजारलाई प्रत्यक्ष नियमन गर्ने नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड करिब ४ महीनादेखि नेतृत्व विहीन अवस्थामा रहनु र धितोपत्र ऐन संशोधन गर्दै सरकारले अर्थमन्त्रालयको बोर्ड सञ्चालक प्रतिनिधिलाईनै बोर्ड अध्यक्षको जिम्मेवारी हुने गरी व्यवस्था गर्नुले यतिबेला लगानीकर्ता बजारको भविश्य के होला ? भन्नेमा पनि अन्योल रहेको ब्रोकरहरूले बुझेका छन् ।
वैशाख १ गतेदेखिनै लागू हुने गरी संशोधित धितोपत्र ऐनको व्यवस्था बमोजिम अर्थमन्त्रालयका प्रतिनिधि बोर्ड सञ्चालक सदस्य रितेश कुमार शाक्यले बोर्ड अध्यक्षको जिम्मेवारी पाएका छन् । यतिबेला सार्वजनिक निष्कासन प्रक्रियाको स्वीकृतिदेखि लिएर मर्जरपछिको एकिकृत शेयर सूचीकरणका लागि कम्पनीहरू स्वीकृतिको पर्खाइमा रहेका छन् ।
शाक्यले यी कार्यलाई अघि बढाउने अधिकार पाएपनि हालसम्म कुनै निर्णय भएको छैन् । बोर्डका उच्च अधिकारीहरू अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिदा बोर्डका काम कारवाही अस्तव्यस्त अवस्थामा रहेको बताउँछन् । यसको निकासका लागि सरकारले जतिसक्दो चाडो निकास निकाल्नुपर्ने भनाई बोर्डका उच्च अधिकारीहरूको समेत रहेको छ ।
गत साता चार कारोबार दिनमा १० अर्ब ५ करोड ७९ लाख रूपैयाँभन्दा बढीको २ करोड ५८ लाख ३४ हजारभन्दा बढीको धितोपत्र कारोबार भएको छ । अघिल्लो साता तीन कारोबार दिन मात्र खुलेको बजारमा ११ अर्ब ८८ करोड ६१ लाख रूपैयाँभन्दा बढीको २ करोड ९६ लाख ९६ हजारभन्दा बढीको धितोपत्र कारोबार भएको थियो ।
अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम १ अर्ब ८२ करोड ८१ लाख रूपैयाँभन्दा बढीले र कारोबार कित्ता ३८ लाख ६१ हजारभन्दा बढीले घटेको हो । औसत कारोबार रकम पनि अघिल्लो साताभन्दा गत साता १ अर्ब ४४ करोड ७५ लाख रूपैयाँभन्दा बढीले घट्दा औसत कारोबार कित्ता ३४ लाख ४० हजारभन्दा बढीले घटेको छ ।
घटेको बजारमा लगानीकर्ताले ८४ अर्ब ९३ करोड २२ लाख रूपैयाँभन्दा बढीको सम्पत्ति गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन ३२ खर्ब १२ अर्ब ८० लाख रूपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब २७ अर्ब ७ करोड ५८ लाख रूपैयाँभन्दा बढी कायम भएको हो ।
गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक घट्यो
गत साता निरन्तर चार कारोबार दिननै घटेको बजारबाट उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । समूहगत परिसूचकमा आएको घटबढको आधारमा यो समूहले सर्वाधिक गुमाएको देखिएको हो । गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ११ प्रतिशत घटेको हो । त्यस्तै अन्यको ३ दशमलव ८९ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव १३ प्रतिशत, जलविद्युत्को ३ दशमलव शून्य ३ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७६ प्रतिशत, विकास बैंकको २ दशमलव ६२ प्रतिशत, लगानीको २ दशमलव ५६ प्रतिशत, जीवन बीमाको २ दशमलव शून्य ८ प्रतिशत, बैंकिङ्को २ दशमलव शून्य ३ प्रतिशत, वित्तको १ दशमलव ९५ प्रतिशत, व्यापारिकको १ दशमलव ९० प्रतिशत, लघुवित्तको १ दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव शून्य ४ प्रतिशत परिसूचक घटेको छ । गत साता सबै समूहगत परिसूचकहरू घटेका हुन ।