१७ ओटा ठूला बस सञ्चालनका लागि सम्झौता तयारी
काठमाडौं । काठमाडौं उपत्यकाको यातायात प्रणालीलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले सरकारले साउन १ गतेदेखि ६६ ओटा नयाँ रूट सञ्चालनमा ल्याउने भएको छ । काठमाडौं दिगो शहरी यातायात आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन एकाइले पहिचान गरी सिफारिश गरेका ती रूट सञ्चालनका लागि यातायात व्यवस्था विभागले स्वीकृति दिने भएको हो । हाल उपत्यकामा २ सयभन्दा बढी रूट सञ्चालनमा छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको सवारीसाधनको चापलाई व्यवस्थित बनाउन आयोजनाले ती रूट कार्यान्वयनका लागि विभागमा सिफारिश गरेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले ती रूटलाई तीन भागमा विभाजन गरी कार्यान्वयनमा ल्याइने जानकारी दिए । सवारीसाधनको क्षमताअनुसार सञ्चालन हुने रूटलाई प्राइमरी (प्रथम), सेकेण्डरी (दोस्रो) र टर्सियरी (तेस्रो) वर्गीकरण गरिएको उनले बताए ।
ठूला सवारी तथा सार्वजनिक यातायात सञ्चालनका लागि प्राइमरी रूट, मझौला प्रकारका सवारी सञ्चालनका लागि सेकेण्डरी र ठूला र साना सवारी सञ्चालनका लागि टर्सियरी रूटको विकास गरिने भएको छ । आयोजनाले एशियाली विकास बैङ्क (एडीबी)को सहकार्यमा ती रूट पहिचाहन गरिसकेको छ ।
आयोजना कार्यान्वयन एकाइका प्रमुख खड्गलाल श्रेष्ठले परीक्षणका रूपमा पहिलो चरणमा सिनामङ्गल–रत्नपार्क–लैनचौर–सामाखुशी–गोङ्गबु हुँदै नयाँ बसपार्कसम्म कुल १० किमीको रूट सञ्चालनको तयारी भएको जानकारी दिए । उक्त रूटमा ठूला बसहरू सञ्चालनका लागि दिगो यातायात प्रालिसँग सम्झौताको तयारी भएको उनले बताए । उनले भने, ‘१० किमी रूटका लागि करार सम्झौता गर्दै छौं, १७ ओटा ठूला बस सञ्चालन हुनेछन् ।’
उक्त रूटमा सञ्चालन हुने सवारीसाधन पुनः नयाँ बसपार्कबाट गोङ्गबु–गल्कोपाखा–लैनचौर–जमल–तीनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर हुँदै सिनामङ्गल पुग्ने उनले बताए । यस्तै, उनले उक्त योजना कार्यान्वयनका लागि करीब ८० प्रतिशत ऋण एडीबीले सहयोग गर्ने जानकारी पनि दिए । उनका अनुसार आयोजनाका लागि आउने ऋण तथा अनुदान नगर विकास कोषमार्फत उपलब्ध हुनेछन् ।
दिगो यातायात प्रालिमार्फत सञ्चालनमा आउने ती बसको खरीदमा करीब रू. ८ करोड ५० लाख पर्ने बताइएको छ । यस हिसाबले प्रतिबसको मूल्य रू. ४० लाखदेखि रू. ५० लाखसम्म पर्ने अनुमान गरिएको उनले बताए । पछिल्लो समय सार्वजनिक यातायातलाई भरपर्दाे, यात्रुमैत्री तथा सुविधायुक्त बनाउने भन्दै विभिन्न कम्पनीले ठूला सार्वजनिक बस सञ्चालनमा ल्याउन थालेका छन् ।
साझा, महानगर, मेट्रो सिटीलगायत बस हाल काठमाडौं उपत्यकामा सञ्चालनमा छन् । बढ्दो शहरी जनसङ्ख्याका कारण यातायातका साधन पर्याप्त नहुनु र भएका सार्वजनिक यातायात पनि पुराना, सीट क्षमता कम र यात्रुमैत्री नहुँदा सर्वसाधारणले भने सास्ती खेप्दै आएका छन् ।