काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि आजबाट सकिँदैछ ।
‘लक इन’ अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
साविकका ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार हुँदै आएको छ ।
साविकको ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेपछि संस्थापक र कर्मचारीको शेयर ‘लक इन’मा रहेको छ । अब आजबाट भने यो ‘लक इन’ अवधि समाप्त हुनेछ ।
हाल यसको कुल १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयर ‘लक इन’मा छ । जसमध्ये संस्थापक शेयरधनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता र कर्मचारीको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयर छ ।
यस्तै, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता शेयर पनि ‘लक इन’मा छ । यी शेयर अब नियमबमोजिम कारोबारयोग्य हुनेछन् ।