काठमाडौं। गत साउन ९ गते काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनी दुवैको कमजोरी भएको भेटिएको छ । उक्त दुर्घटनामा विमानमा सवार १९ जनामध्ये क्याप्टेनबाहेक १८ जनाको ज्यान गएको थियो ।
बारम्बार हुने जहाज दुर्घटनाका कारण नेपालको हवाई सुरक्षाको स्थितिबारे प्रश्न उठ्दै आएको छ । उक्त दुर्घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा प्राधिकरण र सौर्य एयरलाइन्स दुवैले आ–आफ्नो कर्तव्य पूरा नगर्दा दुर्घटना निम्तिएको निष्कर्ष छ । प्रतिवेदनअनुसार सौर्यले भारसम्बन्धी मापदण्ड पालना नगरेको देखिएको छ । प्राधिकरणले मर्मतसम्भारका लागि जहाज उडाउन अनुमति दिँदा अपनाउनुपर्ने प्रक्रिया पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त जहाज सी–चेकको लागि पोखरा उड्ने क्रममा दुर्घटनामा परेको थियो । वायुसेवा कम्पनीका प्राविधिक कर्मचारीहरूले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए । प्रतिवेदनअनुसार उडान योजनामा उल्लेख गरिएको भी स्पिड अर्थात उडानको बेला रहेको हावाको बहाव र फ्लाइट डाटा रेकर्डरमा उल्लेख गरिएको हावाको बहाव क्विक रिफरेन्स ह्यान्डबुकसँग मेल खाँदैन ।
क्विक रिफरेन्स ह्यान्डबुकमा आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्रक्रिया उल्लेख गरिएको हुन्छ । जहाजको इन्जिनमा भने कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख छ । इन्जिन राम्ररी चलेको देखिएको छ । दुर्घटनापछि मन्त्रालयले प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको अध्यक्षतामा ५ सदस्यीय छानबिन आयोग गठन गरेको थियो । जहाज दुर्घटनाको विस्तृत प्रतिवेदन भने आउन बाँकी छ । आयोगले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको कारण औंल्याउँदै बिहीवार मन्त्रालयमा प्रारम्भिक प्रतिवेदन बुझाएको प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।