संसारको सबै धन सबै मानिसलाई बराबर बाँडिदिने हो भने पनि २ महीनाभित्र अवस्था त्यस्तो आउनेछ कि सबै धन १ प्रतिशत धनीको वरिपरि केन्द्रित हुनेछ । किनकि धनको थुप्रो हुनु र कमाउनु अलग विषय हो । कमाइ माइन्डसेटले निर्धारण गर्छ । धन जुन स्रोतबाट पनि आउन सक्छ तर धनी बन्न व्यवसाय नै गर्नुपर्छ । जसको दिमाग वा ज्ञानले छिटो सोच्न सक्छ उसैले छिटो कमाउँछ । यो संसारमा सबै मानिस कमाउन र धनी बन्न सक्दैनन् ।
धन कमाउने भनेको सोच र कामको मिश्रणबाट नै हो । यो मिश्रणमा सबै सफल हुँदैनन् । त्यसैले धेरै मानिस गरीबीमै मर्न बाध्य हुन्छन् ।
अमेरिका, नेपाल, भारत र चीनमा धनी बन्न एकै प्रकारको दिमागले काम गर्दैन । नेपालमा प्राय: धनी हुने मानिसले केही नेता त्यो भन्दा केही विभागका कर्मचारी र सम्बद्ध क्षेत्रका प्रहरीलाई कुनै कारणविना अग्रिम रूपमा नगद दिन्छन् । त्यसैले ठूला व्यापारीलाई जति गल्ती भए पनि प्राय: पक्राउ पर्दैनन् ।
यस्तो रणनीति नेपाल, भारत, बंगलादेशमा सजिलो भए पनि चीन र अमेरिकामा शायद काम लाग्दैन होला । एउटा व्यावसायिक सोचको मानिसले कहिल्यै अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिवको आलोचना गर्दैन । पहिलो कुरा ठूला व्यापारीले आर्थिक नीतिमा आफ्नो अनुकूलताको प्रयास गर्छन् । त्यो भएन भने नीतिअनुकूल आफूलाई ढाल्छ, कमाउँछ । उद्योग गर्ने प्राय: गरीब हुँदैनन्, धनी नै हुन्छन् ।
घूस ख्वाएको भरमा कोही पनि धनी हुँदैन । हरेक कुरा मिलाउन सक्नुपर्छ, मिलाउनु भनेको आफ्नो सोचको स्तरलाई माथि उठाउनु हो । जिन्दगीमा धेरै पैसा सरल बाटोबाट आउँदैन । त्यसैले तालमेल मिलाउनुपर्छ । समझदारी राख्न सक्नुपर्छ । पैसा कमाउने फरक व्यक्तिका फरक तरीका देखिएका छन् । जस्तै विराट कोहली, धोनी, सचिन एउटा काठको ठेट्नाले एउटा बललाई हान्ने नियमबद्ध कलाका कारण विश्व प्रसिद्ध र धनी भए । विल गेट्सले हाम्रो अगाडि त्यस्तो सफ्टवेयर पस्किए जसले हाम्रो लेखन, गणना र फाइलिङको दैनिकी नै परिवर्तन गरिदिए र धनी भए ।
म्याराडोना, पेले, मेस्सी एउटा छालाको वयस्क टाउको जत्रो भकुन्डो पोस्टमा छिराएबापत विश्वमा ख्याति र धनीको सूचीमा छन् । नेपालकै उदितनारायण झा, विनोद चौधरी, भारतका गौतम अदानी किन र कसरी धनी भए भनी गहिरिएर हेर्ने हो भने सबैमा एउटा कुरा समान छ । त्यो हो : उनीहरू जुन काममा छन् त्यसमा पोख्त छन् र सचेत छन् । प्रत्येकले नियम अनुशासनको भरमग्दुर पालना गरेका छन् । खेलमा होस् वा व्यवसायमा त्यससम्बन्धी प्राविधिक ज्ञान पूर्णरूपमा हुनुपर्छ ।
व्यापार व्यवसायमा लगानी आवश्यक हुन्छ । धैर्य चाहिन्छ, आफ्नो आपूर्तिकर्ता, बैंकर, सरकारी नीति र कर्मचारी, एजेन्ट, डिलर, थोक व्यापारी कार्गो आदिसँग सम्बन्ध हुन आवश्यक छ । खेलको नियममा प्राविधिक ज्ञानपछि परिस्थिति नियन्त्रण गर्न सक्ने क्षमता र त्यसैको निरन्तर अभ्यास भए पुग्छ । व्यवसायमा प्राविधिक ज्ञानपछि उत्प्रेरणा, नेतृत्व क्षमता र निरन्तर नियन्त्रण क्षमताको साथै सृजनशीलता, अनुसन्धान र अन्वेषण पनि आवश्यक पर्छ जुन सीमाहीन ज्ञानको सिलसिला हो ।
भारतका अनिल अम्बानीले जियो शुरू नगरेको भए शायद भारत आज जुन अवस्थामा छ त्यो भन्दा धेरै पछाडि हुन्थ्यो भनिन्छ ।
मुम्बईमा अनिल अम्बानीको विश्वको सबैभन्दा महँगोमध्येको एक घर छ । उनकी छोरीले अनलाइन पढ्ने । होमवर्क बुझाउँदा नेट नचलेर अति समस्या भएपछि बाबासँग नेटको शिकायत गरिन् रे । विश्वको महँगोमध्ये एक घरमा जब नेट आउँदैन भने अरू आम व्यक्तिको के हालत होला । उनले तत्कालै आफ्ना नजिकका तथ्याङ्क विभागका कर्मचारीसँग फोन लगाए । भारतमा नेटको माग कति छ र आपूर्ति कति छ भनेर बुझे । माग ७० प्रतिशत र आपूर्ति १५ प्रतिशत रहेछ । उनले २/४ दिनमा ३६ पेजको सोचपत्र बनाए । सरकारबाट अनुमतिको प्रक्रिया चलाए र जियो जन्माए जुन कम्पनीले शुरूमा अर्बांै सिम नि:शुल्क बाँडेको थियो । अम्बानी ग्रूपको सबैभन्दा राम्रो रिलायन्स कम्पनी भाइ अनिल अम्बानीको भागमा परेका बेलामा जियो जन्माए र रातारात विश्वका धनी बने ।
धन कमाउने सोच र कामको मिश्रणबाट नै हो । यो मिश्रणमा सबै सफल हुँदैनन् । त्यसैले धेरै मानिस गरीबीमै मर्न बाध्य हुन्छन् । जीवनमा केही गर्नुपर्छ जुन अरू कसैले नगरेको होस् । प्रधानमन्त्री बन्नुभन्दा एउटा महान् पुस्तक लेख्नु ठूलो कुरा हो ।
व्यवसाय भनेको महान् परिकल्पना हो । आज मोबाइलमा जेजति सुधार र समाहीकरणको प्रयोग भएको छ यसको विकास १ दिनमा भएको होइन ।
व्यवसायलाई दिगो राख्न निरन्तर नयाँ तरीका र प्रविधिको खोजमा रहन जरुरी छ । हरेक सृजना गर्नासाथ कलाकार रचयिता वा लेखक मर्छ तर एउटा व्यवसायी व्यवसाय बाँचेसम्म कहिल्यै मर्दैन । नेपालमा सबैभन्दा बढी बिकेको पुस्तकका लेखकको मृत्यु किताब छाप्ने दिनमै भएको थियो । तर, त्यो छाप्ने व्यवसाय वर्षौंसम्म रहिरहन सक्छ । मानिसको बदलिँदो रुचि र जिज्ञासाका कारण व्यवसाय र सेवालाई सधैं जीवित राख्न चनाखो बन्न र समयको मागलाई आकलन गर्न जरुरी छ ।
आज लगभग हरकोही मालिक बन्न चाहन्छ तर यो नोकरी गर्न जस्तो सजिलो छैन । कुनै मालिक वा एक व्यक्तिबाट व्यवसायीको परीक्षा हुन सक्दैन ऊ त प्रत्येक पल आफ्ना ग्राहक वा उपभोक्ताबाट लिइने परीक्षामा निरन्तर सफल भइरहनुपर्छ । त्यसैले धेरै व्यक्तिले पैसा त लटरी वा नोकरीबाट पनि कमाउन सक्लान् तर धनी बन्न सक्दैनन् किनकि धनी उही बन्छ जो मालिक बन्न सक्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।