मुग्लिन–नारायणघाट सडक खण्डको विस्तारपछि यहाँ पहिरो जाने क्रम निकै बढेको छ । शुक्रवार बिहान करीब ३ बजेको समयमा दुईओटा बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएकोमा अहिलेसम्म बसको अत्तोपत्तो पाउन सकिएको छैन । अहिले मुलुकभर नै सडकको अवस्था करीब करीब उस्तै छ । बाढीपहिरोले सडक पूर्वाधारमा पुर्याएको क्षतिबारे सरकारले अध्ययन थालेको देखिँदैन । यद्यपि वर्षायाम भर्खरै शुरू भएकाले कति क्षति हुने हो अझै भन्न सकिँदैन । अन्य देशमा पनि बाढीपहिरो आउँछ, क्षति पनि पुर्याउँछ तर सडकको अनुपातमा हेर्दा नेपालमा निकै बढी क्षति हुने गरेको छ । किन नेपालमा बढी क्षति भइरहेको छ त ?
पहिलो त नेपालको भौगोलिक बनोट नै निकै कमजोर रहेको मानिन्छ । यस्तो कमजोर भौगोलिक बनोट भएका ठाउँमा कस्तो निर्माण प्रविधि अपनाउने भन्नेमा नेपालले अध्ययन गरेको छैन । खासमा नेपालका मुख्य सडकहरू विदेशी सहयोगमा निर्माण गरिएका छन् । उनीहरूले आवश्यकता र औचित्यका आधारमा सडक निर्माणमा सहयोग गरेका हुन् । त्यससम्बन्धी अध्ययन भने नेपाल सरकारले नै गरेको हो । यस्तो अध्ययन गर्दा भौगोलिक बनोटको पर्याप्त अध्ययन नै नभएको देखिन्छ । सडक रुटका बारेमा मात्रै हेरिएको छ । जहाँनेर सडक बन्ने हो त्यो ठाउँको अध्ययन त भएको छ तर पहिरो र बाढीबाट आउन सक्ने जोखिमका लागि भने त्यस वरपरको पूरै पहाडी
क्षेत्रको अध्ययन हुन आवश्यक छ । कुनै बेला दैनिक पहिरो गएर हैरान पारेको पृथ्वीराजमार्गको कृष्णभीर पहिरोमा नेपाली वैज्ञानिकहरूले पर्याप्त अध्ययन अनुसन्धान गरेर त्यसलाई रोक्न सकेका थिए ।
नेपालमा पूर्वाधारसम्बन्धी अनुसन्धान गर्ने कुनै थिन्कट्यांक पनि देखिँदैन । सरकारले पनि यसको अनुसन्धानका लागि कुनै निकायको व्यवस्था गर्न सकेको छैन । त्यसो हुँदा जथाभावी सडक खन्ने प्रवृत्ति निकै बढेको छ । खासगरी पछिल्लो समय डोजरवालाहरूले नै रेखांकन गरेर सडक खन्ने प्रवृत्ति निकै बढेको पाइन्छ जसका कारण पहाडहरू वर्षाका बेला निकै ठूलो धराप बनेका छन् । नारायणघाट–मुग्लिन सडक खण्डमा पनि सडकभन्दा माथि यस्तै सडक खनिएको छ जसका कारण लेदो बगेर पहिरो जाने समस्या बढाएको छ भन्ने विज्ञहरूको भनाइ छ । यस खण्डमा सबैभन्दा जोखिमयुक्त क्षेत्रको अध्ययन भई धेरै जोखिमयुक्त क्षेत्रको पनि पहिचान भइसकेको छ । ती क्षेत्रमा पहिरो रोक्न विशेष तयारी आवश्यक भइसकेको छ ।
सडक पूर्वाधारको कमजोरीका कारण भइरहेको धनजनको क्षति रोक्न सरकारले यसबारे पर्याप्त अध्ययन गरी त्यसअनुसार सडक निर्माण नीति लिनु आवश्यक छ ।
नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा ब्लास्टिङ गरेर बनाइएका सडक असुरक्षित हुन सक्छन् । कमजोर बनोट भएकाले यसले पहाडलाई कमजोर बनाउने र वर्षा याममा बढीपहिरो जाने हुन्छ । यसै पनि नेपाल बाढीपहिराको बढी नै जोखिम रहेको मुलुक हो । त्यसैले यस्तो मुलुकमा शुरूङ र पिलरहरू उठाएर सडक बनाउने प्रविधि बढी उपयुक्त हुन सक्छ । यद्यपि यस्तो प्रविधि महँगो हुन्छ । सडकको लेन विस्तार गर्नुभन्दा नदीको पारिपट्टिबाट समानान्तर अर्को सडक बनाएको भए यस्तो समस्या कम हुने थियो भन्ने पनि एकथरीको मत रहेको छ ।
त्यसो त विश्वभरि नै सडक दुर्घटनामा परी मृत्यु हुने तथा घाइते हुनेको संख्या डरलाग्दो रहेको पाइन्छ । तर, नेपालमा सडक र सवारी संख्याको अनुपातमा यो संख्या निकै बढी हो भन्ने देखिन्छ । नेपालमा सडक सुरक्षाको अडिट पनि ज्यादै कम छ । ३ प्रतिशत सडकको पनि सुरक्षा अडिट भएको छैन भन्ने विज्ञको भनाइ छ । त्यसले पनि सडक दुर्घटना बढाउँछ ।
सडक पूर्वाधारलाई निकै महत्त्वपूर्ण मानिन्छ । तर, यसको सही व्यवस्थापन भएन भने त्यसले ल्याउने जनधनको क्षति निकै भयावह हुन्छ । त्यसैले सडक पूर्वाधारको कमजोरीका कारण भइरहेको धनजनको क्षति रोक्न सरकारले यसबारे पर्याप्त अध्ययन गरी त्यसअनुसार सडक निर्माण नीति लिनु आवश्यक छ । यो समस्या कुनै एक सडक खण्डमा नभई मुलुकभरिका सडकमा देखिएकाले यसमा गम्भीर अध्ययन गर्नैपर्छ ।