उद्योगी व्यवसायीहरूले विशेष आर्थिक क्षेत्र (सेज)लाई वर्तमान औद्योगिक क्षेत्रजस्तो अव्यवस्थित र विवादित नबनाउन आग्रह गरेका छन् । सेज गठन आदेश स्वागतयोग्य भए पनि यसको सञ्चालन र कार्यविधि उद्योगमैत्री तथा दूरगामी नभएसम्म त्यसको औचित्य नरहने नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिका सभापति दिनेश श्रेष्ठले बताए । ‘वर्तमान औद्योगिक क्षेत्रमा सडक, ढल निकास, पानी, विद्युत्लगायत पूर्वाधारको अभाव खट्कँदै गएको छ भने भाडाका विषयमा उद्योगी र व्यवस्थापनबीच पटकपटक विवाद पनि हुने गरेको छ,’ उनले भने, ‘यस्ता समस्या उत्पन्न हुनै नदिने गरी सेज कार्यसञ्चालनको कार्यविधि दूरगामी तथा उद्योगमैत्री बनाउनुपर्छ ।’
त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले सेजको गठन आदेश जारी हुनु सकारात्मक भए पनि यससम्बन्धी ऐन ल्याउनमै जोड दिनुपर्ने बताए । सरकारले उद्योगमैत्री नीति बनाए पनि ऐन नहुँदा त्यसको कार्यान्वयन हुन नसकेकाले सेजको वास्तविक अवधारणालाई कार्यान्वयनमा ल्याउन ऐन निर्माणमै जोड दिनुपर्ने उनले बताए ।
वर्ष ८, अंक १२६, बुधवार, १० माघ, २०६९