काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न ‘प्रोजेक्ट केयर अभियान’ अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बिहीवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबलका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सोअवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबलका निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रूपमा रहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पा उपस्थित थिए । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियानमा सहभागी भएको बताइएको छ । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको औंल्याए ।
राउन्ड टेबलका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको बताए । साथै उनले संस्थाले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं समेत ल्याइने बताइएको छ ।