असार १३, काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)को सेवा केन्द्र, दमकले साेमवार आफ्ना शेयर सदस्यहरूलाई क्षतिपूर्ति रकम वितरण गरेको छ ।
सेवा केन्द्रले कार्यालयमा कार्यक्रम गरी आफ्ना शेयर सदस्यहरूलाई कर्जा सुरक्षण, परिवार राहत र दशकर्म खर्चबापत रू १४ लाख २० हजार वितरण गरेको हो । सेवा केन्द्रले झापा कमल–५, की विन्दु चौधरीलाई कर्जा सुरक्षण क्षतिपूर्तिबापत रू. ६ लाख, परिवार राहतबापत रू. २ लाख र काजकिरीया खर्चबापत रू. ६० हजार गरी रू. ८ लाख ६० हजार रूपैयाँ वितरण गरेको थियो । उनका पति बाल्मीकि चौधरीको २०७८ चैतमा निधन भएको थियो ।
यस्तै, चुलाचुली–४, की सुनिता सम्बाहाम्फेलाई रू. ३ लाख ७० हजार र दमक–९, का जुनियर तिर्की उराउलाई रू. १ लाख ९० हजार कर्जा सुरक्षणबापत नगद र चेक संयुक्तरूपमा हस्तान्तरण गरीएको थियो । सम्बाहाम्फेका पति तिलविक्रम र उराउकी पत्नी सुक्रो तिर्कीको २०७८ चैतमा मृत्यु भएको थियो ।
उनीहरूलाई जिल्ला बचत तथा ऋण सहकारी संघ, झापाका अध्यक्ष तुलाराम न्यौपाने, दमक सेवा केन्द्र सहयोग समिति पूर्वसंयोजक ताराप्रसाद बराल, सहारा नेपाल साकोस केन्द्रीय कार्यालयका उपप्रबन्धक भूमिप्रसाद खतिवडा, वरिष्ठ अधिकृत दुर्गादेवी खड्काले रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले वित्तीय कारोबारसँगै सहाराले शेयर सदस्य र समुदायको हितका लागि काम गरिरहेको बताए । यस्तै, सहारा नेपाल साकोस केन्द्रीय कार्यालयका उपप्रबन्धक भूमिप्रसाद खतिवडाले संस्थाले आफ्ना शेयर सदस्यहरूलाई वित्तीय सेवासँग आर्थिक भार कम गर्न स्वास्थ्य उपचार, मरीमराउ खर्च, ज्येष्ठ सदस्य, एकल महिला तथा एकल पुरुष भत्ता, मृत्युमा ऋण मिनाहा लगायत कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
सहारा नेपाल साकोस अनुगमन कार्यालय, दूधेका प्रमुख चुँडामणि कटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बिर्तामोड–२, चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल साकोसले प्रदेश १ का ६ जिल्लामा १ लाख ६० हजार शेयर सदस्यहरूलाई ८० वटा सेवा केन्द्र र २ वटा एटिएम काउन्टरबाट सेवा दिइरहेको कार्यक्रम सञ्चालकसमेत रहेका संस्थाका वरिष्ठ सहायक प्रबन्धक डम्बरबहादुर प्रधानले जानकारी दिए ।