काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधवार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।
प्रमुख तथ्यांक अधिकारी मधुसुधन बुर्लाकोटीले अर्थतन्त्र चलायमान भइरहेको र अर्थतन्त्रका सुचकहरू क्रमश: राम्रो हुँदै गएका कारण आर्थिक वृद्धिदर पछिल्लो वर्षहरूमा बढ्न थालेको बताए । उनका अनुसार कोभिड, भूकम्पका बेला सूचकहरू खस्किएका थिए ।
कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो भने आव २०७९/८० मा १.९८ प्रतिशत थियो ।
कृषि क्षेत्रको वृद्धिदर भने पछिल्लो समय खस्किएको कार्यालयको अनुमान छ । चालू वर्षमा त्यस्तो वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रको वृद्धिदर गत आवको तुलनामा केही कम भए पनि गैरकृषि क्षेत्रको वृद्धिदरमा भने उल्लेख्य सुधार भएको छ ।
गत आवको संशोधित आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । यस्तै, कृषि क्षेत्रको वृद्धिदर ३.३५ र गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षमा गैरकृषि क्षेत्रको वृद्धिदर भने ४.२८ प्रतिशत रहने अनुमान गरेको छ । चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ ।
अर्थतन्त्रको आकार समेत चालू आवको अन्त्यसम्म ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।