शेयर लगानीबाट मूलत: लाभांश प्राप्त हुन्छ । शेयर तरल विक्रीयोग्य सम्पत्ति हो । कुनै पनि कम्पनीमा शेयरधनी आउनेजाने क्रम चलिरहन्छ । आउनेजाने क्रममा एकजनाले विक्री गर्छ र अर्कोले किन्छ । स्टक एक्सचेन्जमा पब्लिक कम्पनीको शेयर सूचीकरण हुन्छ । एक्सचेन्जमार्फत सहज आगमन र बहिर्गमन गर्न सकिन्छ । कम्पनीको वित्तीय अवस्था र शेयरको उपलब्धताको आधारमा बजारले शेयर मूल्य निर्धारण गर्छ । धारण गरेको मूल्यभन्दा बढी मूल्यमा शेयर विक्री गर्दा नाफा वा फाइदा हुन्छ । यस्तो फाइदालाई सामान्यतया: पूँजीगत लाभ भनिन्छ । तर, यस्तो नाफालाई कर प्रयोजनका लागि कहिलेकाहीँ पूँजीगत लाभको सट्टा व्यापारिक लाभका रूपमा गणना गरिन्छ । सामान्य बुझाइअनुसार संस्थाले शेयर विक्री गर्दा प्राप्त भएको लाभलाई व्यापारिक लाभ र व्यक्तिको लागि पूँजीगत लाभ भन्ने छ । तर, यो बुझाइ सधँै सही नहुन सक्छ । यस्तो कुरा पढेपछि पाठकको मनमा स्वाभाविक रूपमा किन र कसरी सही हुन्न प्रश्न उठ्न सक्छ । यही प्रश्नको जवाफ यस आलेखमा खोज्ने प्रयास गरिएको छ ।
धनको वैदिक चर्चा
व्यापारिक लाभ र पूँजीगत लाभबारे चर्चा गर्नुअघि धनको प्राप्तिका सम्बन्धमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ । धनको उत्पत्ति वैदिककालदेखि नै हुँदै आएको देख्न सकिन्छ । ऋग्वेदमा ‘उत्तिष्ठ जाग्रत प्राप्य वरान्निबोधत’ अर्थात् उठ, जाग, परिश्रम गर र उत्तम ज्ञान तथा सम्पत्ति (धन) प्राप्त गर भनिएको छ । ऋग्वेदमै ‘अधर्मेण हि य: वित्तं संजिघृक्षति दुष्कृत: । सन्तापं प्राप्नुयात्पापं वित्तं तस्य विनश्यति ।।‘ अर्थात अधर्मबाट कमाएको धन नष्ट हुन्छ भनिएको छ । मनुस्मृतिअनुसार ‘सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो जय: । प्रयोग: कर्मयोगश्च सत् प्रतिग्रह एव च ।। ‘दाय (उत्तराधिकार वा अंश), लाभ (व्यावसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदि सेवाबाट प्राप्त पारिश्रमिक), सतप्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ । व्यापारबाट धनार्जन गर्ने कुरा देवर्षि नारदले पनि उल्लेख गरेका छन् । नारदले ‘वणिकप्रभृतयो यत्र कर्म सम्भूय कुर्वते’ अर्थात् व्यक्ति–व्यक्ति मिलेर व्यवसाय गर्छन् भनेका छन् । यसको उद्देश्य ‘फलाहेतोरूपायन कर्म सम्भूय कुर्वताम्’ अर्थात् लाभ आर्जन हो । यस्तै किसिमको उल्लेख याज्ञवल्क्यले पनि गरेका छन् ।
धनको महिमा र कर
धनको महत्त्वका बारेमा देवनागरी लिपिको ‘त’ वर्णको अन्तिम दुईओटा वर्णलाई एक डिकोमा राखी पढ्नुपर्छ भन्ने लोकोक्ति छ । ‘त’ वर्णका अन्तिम दुई वर्ण भनेको ‘ध’ र ‘न’ हो । यसलाई एक डिकोमा लेख्दा ‘धन’ हुन्छ । यसलाई अनुप्रास मिलाएर ‘त’ वर्णका अन्तिम दुईओटा वर्ण खाली, पढी दुई बन भाग्यशाली’ भन्ने गरिन्छ । धनसम्बन्धी अर्को लोकोक्ति ‘कि धन ससुराली पाटोबाट, कि धन लामो बाटोबाट, कि धन बाख्रापाठोबाट’ भन्ने पनि छ । जापानी भाषामा ‘काने गा नाइ तो, आतामा मो मावारानु’ अर्थात् ‘धन नभएपछि दिमागले पनि काम गर्दैन’ भन्ने उक्ति छ । मानिसको एउटा अभीष्ट नै धन आर्जन गर्नु हुन्छ । धन प्राप्तिका बाटो अनेकौं छन् । धन व्यापारिक गतिविधि, कृषि, पशुपालनबाहेक पूँजीगत आयको रूपमा पनि प्राप्त हुन्छ ।
- धन प्राप्त गरेपछि प्राप्तकर्ताले राज्यलाई केही अंश तिर्नुपर्छ । यसलाई कर भनिन्छ ।
- पूँजीगत लाभ भनेको कुनै सम्पत्ति विक्री गर्दा प्राप्त हुने फाइदा हो ।
- कुनै संस्थाले नियमित वा उच्च आवृत्तिमा नाफा कमाउने उद्देश्यले शेयर, बोन्ड वा अन्य सम्पत्ति विक्री गर्छ भने यसरी प्राप्त हुने आय व्यापारिक लाभ हुन्छ ।
- सम्पत्ति विक्री गर्दा प्राप्त हुने पूँजीगत लाभमा कर लाग्छ । तर, यो कर व्यावसायिक कारोबारमा लाग्ने करको दरभन्दा फरक हुन्छ ।
- शेयर पनि धनको एउटा स्वरूप हो । शेयरबाट लाभांश प्राप्त हुन्छ । यही शेयर विक्री गर्दा पूँजीगत लाभ हुन्छ ।
धन प्राप्त गरेपछि प्राप्तकर्ताले राज्यलाई केही अंश तिर्नुपर्छ । यसलाई कर भनिछ । राज्यले कर लिने कुरा वैदिककालदेखि नै थियो । त्यतिबेला अहिले जस्तो बाध्यकारी भने थिएन, स्वैच्छिक रूपमा दिन सकिन्थ्यो । ऋग्वेदमा ‘बलिं हरन्ति सत्पते:’ अर्थात् राजा वा सभाका लागि जनताले बलि (स्वैच्छिक कर) दिनुपर्छ भनिएको छ । शतपथ ब्राह्मणले ‘राजा प्रजाया: पालक:, बलिं गृह्णाति धर्मेण’ अर्थात् राजा प्रजाको पालनकर्ता हो, त्यसैले उनले धर्मपूर्वक कर उठाउँछ भनेका छन् । वैदिककालदेखि नै अस्तित्वमा रहेको करप्रणाली आधुनिककालमा आइपुग्दा अनिवार्य योगदान बनेको छ । धन प्राप्त हुने अनेकौं विधिमध्ये व्यापारिक लाभ र पूँजीगत लाभ दुवैमा कर लाग्छ । शेयर पनि धनको एउटा स्वरूप हो । शेयरबाट लाभांश प्राप्त हुन्छ । यही शेयर विक्री गर्दा पूँजीगत लाभ हुन्छ । शेयर विक्रीबाट हुने लाभ पूँजीगत हो कि व्यापारिक भन्ने विषय बेलाबेलामा देखापर्ने गर्छ । त्यस्तै, शेयर सम्पत्ति हो कि व्यापारिक वस्तु यसमा पनि बेलाबेलामा चर्चा चल्ने गर्छ ।
व्यापारिक लाभ र पूँजीगत लाभ
व्यापारिक लाभ भन्नाले उपभोक्तालाई कुनै पनि उत्पादन वा सेवा उपलब्ध गराएबापत नियमित रूपमा प्राप्त हुने नाफा हो । व्यवसाय सेवामूलक र उत्पादनमूलक जुनसुकै प्रकारको हुनसक्छ । सेवामूलक व्यवसायमा कुनै पनि प्रकारको सेवा उपलब्ध गराएबापत नगद प्राप्त हुन्छ । जस्तो होटेल सेवामूलक व्यवसाय हो । यसले सेवाग्राहीलाई आतिथ्य सेवा उपलब्ध गराउँछ । सेवाग्राहीले सेवा उपभोग गरेबापत मूल्य तिर्छ । उत्पादनमूलक व्यवसायमा वस्तु वा सामान उपलब्ध गराइन्छ । जस्तो दाल, चामल, तेललगायत वस्तु उत्पादनमूलक व्यवसाय हो । यसलाई उपभोक्ताले आवश्यकताअनुसार उपभोग गर्ने गर्छन । कुनै उत्पादन वा सेवा बेचेर भएको आम्दानीबाट करलगायत सम्पूर्ण खर्च कटाएपछि बाँकी रहने रकम व्यापारिक लाभ हो । व्यापारिक लाभ नियमित आय मानिन्छ र त्यसअनुसार कर लाग्छ ।
व्यक्ति वा संस्था जोसुकैले गरेको शेयर कारोबारबाट प्राप्त नाफालाई आवृत्तिको आधारमा व्यापारिक वा पूँजीगत लाभका रूपमा पहिचान गरिन्छ । सामान्य बुझाइअनुसारको संस्थाका लागि व्यापारिक र व्यक्तिको लागि पूँजीगत लाभ हो ।
पूँजीगत लाभ भनेको कुनै सम्पत्ति (जस्तै : शेयर, अग्राधिकार शेयर, डिबेन्चर, बोन्ड, जग्गा, म्युचुअल फन्डका एकाइ) विक्री गर्दा प्राप्त हुने फाइदा हो । खरीद मूल्य र विक्री मूल्यबीचको अन्तर नै यसमा हुने लाभ वा फाइदा हो । यस्तो लाभ नियमित हुँदैन । यो सम्पत्तिमाथि गरिने अल्पकालीन वा दीर्घकालीन लगानीबाट प्राप्त हुने लाभ हो । सामान्यतया सम्पत्ति खरीदविक्रीलाई व्यापारका रूपमा लिइँदैन । यस्ता सम्पत्ति विक्री गर्दा प्राप्त हुने पूँजीगत लाभमा कर लाग्छ तर, यो कर व्यावसायिक कारोबारमा लाग्ने करको दरभन्दा फरक हुन्छ । यसमा धारण अवधि पनि महत्त्वपूर्ण हुन्छ । धारण अवधि बढी (दीर्घकालीन) छ भने कम कर लाग्छ र धारण अवधि कम (अल्पकालीन) छ भने बढी कर लाग्छ । पूँजीगत सम्पत्ति (शेयर वा जग्गा) किन्दै बेच्दै गरिन्छ भने यसलाई व्यापारिक गतिविधि मानिन्छ र करको दर पनि फरक हुनसक्छ । व्यापारिक लाभ र पूँजीगत लाभको बीचमा मूलभूत भिन्नता केकस्ता छन् तालिकामा पेश गरिएको छ ।
पूँजीगत लाभ कि व्यापारिक लाभ
माथिका विभिन्न अनुच्छेदमा धन, धन प्राप्ति, कर, व्यापारिक लाभ र पूँजीगत लाभका विविध पक्षमा चर्चा गरियो । यस अनुच्छेदमा सम्पत्ति विक्रीबाट प्राप्त हुने लाभ व्यापारिक हो कि पूँजीगत हो भन्ने प्रश्नमा केन्द्रित रहेर चर्चा गरिन्छ । सामान्यता आम बुझाइअनुसार शेयर विक्रीबाट हुने नाफा पूँजीगत लाभ हो । तर, शेयर विक्रीबाट हुने लाभलाई सधँै पूँजीगत लाभको रूपमा गणना गरिँदैन । यस विषयमा भएका न्यायिक (अदालती) व्याख्याले पनि यही कुरालाई स्थापित गरेको छ । सामान्य बुझाइअनुसार संस्थाले शेयर विक्री गरेर पाएको लाभ व्यापारिक र व्यक्तिले पाएको लाभ पूँजीगत भन्ने पनि छ । यसैको सेरोफेरोमा विभिन्न न्यायिक व्याख्याको सन्दर्भलाई लिएर पूँजीगत लाभ र व्यापारिक लाभको अन्तरवस्तु केलाइन्छ । शेयरलाई वस्तुसरह कारोबार गरेमा व्यक्ति र संस्था दुवैले आर्जन गरेको नाफालाई व्यापारिक लाभ मानिन्छ । तर, दुवैले आक्कलझुक्कल किनबेच गरेको छ भने दुवैलाई पूँजीगत लाभ मानिन्छ ।
भारतको सर्वोच्च अदालतले कमिशनर अफ इनकम ट्याक्सविरुद्ध एसोसियटेड इन्डस्ट्रियल डेभलपमेन्ट प्रालिको मुद्दा (१९७१) मा दैनिक शेयर कारोबार वा बारम्बार खरीद/विक्रीलाई व्यापारिक कारोबार मानेको थियो । यस्तो मानिनुको कारण कारोबारको आवृत्ति, नियमितता, व्यावसायिकता हो । उच्च आवृत्तिमा शेयर विक्री गरी हुने नाफालाई व्यापारिक लाभको रूपमा व्याख्या गरेको थियो । एशोसिएटेड इन्डस्ट्रियल डेभलपमेन्ट कम्पनी (प्रा) लिमिटेड सन् १९५७/५८ आफ्नो लगानी रहेका तीनओटा कम्पनीको शेयर विक्री गर्दा उल्लेखनीय नाफा कमाएको थियो । कम्पनीले उक्त नाफालाई पूँजीगत लाभका रूपमा दाबी गर्यो । तर, आयकर विभागले यसलाई व्यापारिक लाभका रूपमा ग्रहण गर्यो । आयकर अपील न्यायाधिकरणले शेयर कारोबारको व्यापकता र आवृत्तिको आधारमा उक्त कम्पनीलाई शेयर कारोबारीको रूपमा वर्गीकृत गर्यो र उक्त नाफा व्यापारिक आम्दानी भएको ठहर गर्यो । तर, हाईकोर्टले होल्डिङ कम्पनीले धारण गरेको शेयरलाई लगानी भन्दै यस्तो शेयर बेचेर प्राप्त भएको नाफालाई पूँजीगत लाभका रूपमा लिनुपर्ने निर्णय दियो । सर्वोच्च अदालतले हाइकोर्टको निर्णय उल्ट्याएर आयकर अपील न्यायाधिकरणले व्यापारिक आय भनेर गरेको निर्णयलाई सदर गरेको थियो ।
अन्त्यमा, कुनै संस्थाले नियमित वा उच्च आवृत्तिमा नाफा कमाउने उद्देश्यले शेयर, बोन्ड वा अन्य सम्पत्ति विक्री गर्छ भने यसरी प्राप्त हुने आय व्यापारिक लाभ हुन्छ । व्यापारिक वा पूँजीगत लाभ निर्धारणका लागि आवृत्ति, उद्देश्य र लगानीको प्रकार हेरिन्छ । उच्च आवृत्तिमा शेयर कारोबार गरेर लाभ लिन्छ भने यसलाई व्यापारिक लाभ मानिन्छ । त्यसैले, व्यक्ति वा संस्था जोसुकैले गरेको शेयर कारोबारबाट प्राप्त नाफालाई आवृत्तिको आधारमा व्यापारिक वा पूँजीगत लाभको रूपमा पहिचान गरिन्छ । सामान्य बुझाइअनुसारको संस्थाका लागि व्यापारिक र व्यक्तिका लागि पूँजीगत लाभ हो भन्ने तथ्य यी माथि विभिन्न अनुच्छेदमा गरिएको चर्चाबाट खण्डित हुन्छ ।
लेखक धितोपत्रसम्बन्धी अध्येता कर्पोरेट अधिवक्ता हुन् ।