काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार अहिलेसम्मकै सर्वाधिक रकमको कारोबार भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार बनेदेखि उकालो लागेको शेयरबजार राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिएपछि थप बौरिएको छ । बुधवार २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएर ३ वर्षअघि कायम भएको कारोबार रकमको कीर्तिमान तोडिएको हो ।
यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भई कीर्तिमान बनेको थियो । त्यस दिन धितोपत्र बजारको तथ्यांकीय सूचक (नेप्से) ३ हजार १५४ दशमलव शून्य ३ बिन्दुमा थियो । त्यसपछि नेप्से ओरालो लाग्न थालेको थियो । नयाँ सरकार आएदेखि उकालो लाग्न थालेको धितोपत्र बजार बुधवार पनि ६४ दशमलव २६ अंक बढेर २ हजार ७६० दशमलव ९१ बिन्दुमा पुगेको नेप्सेले बताएको छ । बुधवार ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता धितोपत्रको कारोबार भएको छ । पछिल्लो करीब १ महीनायता लगातार बजार बढ्न थालेपछि एकपटक विक्री गरेर बसेकाहरूले समेत पुन: खरीद गर्न थालेका ब्रोकर बताउँछन् । यसअघि बैंककर्जाको ब्याजदर घटेको महीनौंसम्म पनि बजार बढ्न सकेको थिएन । वित्तीय प्रणालीमा तरलता प्रशस्त थियो । तर, पनि नेप्से अघि बढ्नै सकेको थिएन ।
‘लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन । अहिले नयाँ सरकार गठन भएर उसले पूँजी बजार सुधारप्रति प्रतिबद्धता जनाएपछि लगानीकर्ताको मनोबल बढेको हो,’ नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन् ।
त्यसपछि चालू आवको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले संस्थागत लगानीकर्तामाथि लाग्दै आएको कर्जामा २० करोड रुपैयाँको सीमा हटाएको छ । यसले संस्थागत लगानीकर्ताले थप कर्जा लिई धितोपत्रमा लगानी गर्ने बाटो खुलेको छ । यसकारण पनि शेयरबजारमा सकारात्मक प्रभाव परेको पोखरेलको भनाइ छ । अकोतर्फ मौद्रिक नीतिले वाणिज्य बैंकहरूको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १ दशमलव १ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको छ भने निष्क्रिय वर्गमा वर्गीकृत कर्जा नियमित भइसकेको अवस्थामा ६ महीनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था परिमार्जन गरी ६ महीनासम्म सूक्ष्म निगरानी वर्गमा राख्ने व्यवस्था गरेको छ । यसले गर्दा बैंकले सम्भावित जोखिमबापत छुट्ट्याउनुपर्ने रकममा कमी आई नाफामा सकारात्मक प्रभाव पर्ने स्थिति आयो । त्यसैगरी मौद्रिक नीतिले गत आर्थिक वर्ष (आव) को आम्दानी साउन मसान्तसम्म प्राप्त भएमा नाफामा जोड्न पाउने व्यवस्था गरेको छ । यी व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको शेयरप्रति लगानीकर्ताको आकर्षण बढाउन र समग्र बजारलाई माथि उठाउन भूमिका खेलेको लगानीकर्ताको भनाइ छ ।
‘राष्ट्र बैंकले धितोपत्र बजारमा लगानी बढ्न सहज हुने गरी खुकुलो नीति ल्याएकाले बजारमा सकारात्मक प्रभाव परेको हो,’ अर्का लगानीकर्ता एसपी चौलागाईंले भने ।