भद्रपुर । “जब महिलाले कुनै शीप सिक्छिन्, उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,” गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण बनेकी छन् ।
झापाको दमक नगरपालिका–२ हिमालीटोलस्थित गरिमा सिलाइकटाई तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी उनले आफूसँगै अरु ५ जना महिलालाई रोजगारी दिएकी छन् । सामान्यतया महिलाले लगाउने सबै किसिमका कपडा सिलाइ हुने उक्त केन्द्रमा विद्यालयका झोला, पर्सलगायत सामान उत्पादन हुने गर्छ । दमक बजार, इलाम, पाँचथरलगायत स्थानमा ती सामग्रीको उच्च माग रहेको गोमा बताउँछिन् ।
आफ्नै घरमा सटर निकालेर उद्यम गरेकी गोमाले ढाकाका उत्पादन रु ५० देखि १ हजार ५०० सम्ममा विक्री गर्दै आएकी छन् । बजारमा माग उच्च रहेकाले कहिलेकाहीँ मागअनुसार उत्पादन दिन नसकेको गोमा बताउँछिन् । सिलाइसम्बन्धी शीप सिकेपछि बेरोजगार बस्नुपरेको छैन ।
“घरको सबै काम गरेर आफ्नै घरसमेतमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यो उद्यममा लागिरहेको उनी बताउँछिन् । जसबाट खर्च कटाएर दैनिक रु १ हजारदेखि १ हजार ५०० सम्म बचत हुने गरेको छ,” उनले भनिन् ।
झण्डै १० वर्ष पहिले इलाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सिलाइसम्बन्धी आधारभूत तालीम लिएकी गोमाले इलाममै चिनजानकै सिलाइ पसलमा काम गरी अनुभव सँगालिन् । काम गर्दै जाँदा घरेलुबाट उद्यमशीलतासम्बन्धी तालीम लिएपछि आफैँ उद्यम गर्नुपर्छ भन्ने उत्प्रेरणा जाग्यो र ५ हजारमा पुरानो सिलाइ मेसिन खरिद गरी व्यवसाय शुरू गरिन् । छरछिमेकका महिला दिदीबहिनीका कपडा सिलाइकटाइ गरी घरबाटै व्यवसाय शुरू गरेकी गोमाले ४ वर्ष इलाममै बिताएकी थिइन् ।
विसं २०७६ सालतिर गोमा परिवारसहित इलामबाट झापाको दमक बसाइ सरिन् । बसाइ सरेसँगै आफूले सिकेको शीप र व्यवसायसमेत निरन्तरता दिएकी गोमाले ढाकाका झोला तथा पर्सको राम्रो सम्भावना देखेपछि वडा कार्यालयबाट सञ्चालित १५ दिने ढाकासम्बन्धी तालीम लिइन् । साथै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट दोस्रो तहको तालीमसमेत लिइन् ।
यो तालीमपश्चात् उनको परिचय सिलाइसम्बन्धी प्रशिक्षकको रूपमा स्थापित भयो । अब उनले परिषद् तथा अन्य संस्थाका आधारभूत तह–१ का तालीममा प्रशिक्षण गर्न योग्य भइन् । तालीम दिन जिल्लाका विभिन्न ठाउँमा जानुपर्ने तथा केन्द्रसमेतमा उत्पादनको उच्च माग रहेकोले दुवैतिर समय मिलाउन मुश्किल हुने गरेको गोमा बताउँछिन् ।
व्यवसाय उकास्न समय–समयमा घरेलुले गरेको प्रविधिमा अनुदान सहयोगले काम गर्न थप ऊर्जा प्राप्त हुँदै गएको गोमा सुनाउँछिन् । विभिन्न सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाबाट हुने यस्ता अनुदान सहयोगको उचित सदुपयोग गर्ने हो भने गाउँमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्ना उत्पादनलाई स्थानीय मेला, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्दै आएकी छन् ।
आफूले सञ्चालन गरेको केन्द्रले महिलालाई शीप सिकाउने, आम्दानीको स्रोत प्रदान गर्ने र आत्मबल बढाउने काम गरेकोमा सन्तुष्टी मिल्ने गरेको गोमा बताउँछिन् । सिलाइ कटाइसँगै गार्मेन्टसमेतको उद्योग दर्ता गरिसकेकाले विस्तारै विस्तारै व्यवसाय बढाउँदै लैजाने उनको योजना छ । रासस