काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब ६२ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १४ करोड ८५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी करिब १२ प्रतिशत घटेको छ ।
गत वर्ष ३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ३ अर्ब १० करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ छ । जगेडा कोष रकम ४ अर्ब १० करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको चुक्तापूँजी ८ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ भने जगेडा कोष रकम करिब ७ प्रतिशत घटेको छ । कम्पनीले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएको हो ।
दोस्रो त्रैमाससम्म कुल सम्पत्ति ११ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व २ अर्ब ३७ करोड ९४ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७५ रुपैयाँ ३१ पैसा छ ।