काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपक्र बोर्ड सेबोनमा निवेदन दिइसकेको छ । वित्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा रू. ६४ लाख ६२ हजार नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ लाख ६२ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत विक्री बापत रू.९ करोड १ लाख भन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासमा भने रू. ८ करोड २७ लाख थियो । चुक्ता पूँजी रू. ४० करोड रहेको छ भने दोस्रो त्रैमाससम्ममा रिर्जभ कोष भने रू. १३ करोड ८९ लाख ऋणात्मक रहेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ६५ रुपैयाँ २५ पैसा रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको अल्पकालिन ऋण रू. १ करोड रहेको छ । कम्पनीको शेयर मूल्य आइतवार प्रतिकित्ता रू.५२९ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ८२ प्रतिशत वृद्धि भएको हो । कम्पनीको कुल ४० लाख कित्ता शेयर सूचीकृत रहेको छ । जसमध्ये २८ लाख कित्ता संस्थापक र १२ लाख कित्ता सर्वसाधारणको रहेको छ ।
कम्पनीले २०७८ साल भदौ ९ गते देखि १३ गते सम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।